एनएस मोडलका बजाज पल्सर बाइकमा आगो लाग्ने समस्या बढ्दै

२२ बैशाख २०८२, सोमबार १०:४०

काठमाडौँ । जब कुनै बाइक स्टार्ट गर्नु अगाडि मनमा प्रश्न आउँछ-‘आज त आगो लाग्दैन होला, है?’-त्यो ब्रान्डको अवस्था कति भयावह छ भन्ने प्रमाणित हुन्छ । पछिल्लो समय बजाज मोटरसाइकल चलाउने धेरै चालकको दैनिक सोच यही बन्न थालेको छ । मोटरसाइकल भनेको यात्रा सजिलो बनाउने साधन हो डर बोकाउने होइन । तर बजाजका केही मोडेलहरू यति जोखिमपूर्ण बन्दै गएका छन् कि तिनीहरू चलाउने मात्र होइन, पार्किङमा राख्न पनि साहस चाहिन्छ । किनकि कहिले, कहाँ, कसरी आगो लाग्छ—भन्न सकिन्न । अब प्रश्न उठेको छ—बजाज बाइक किन्नु यात्राको सुरुवात हो कि जोखिमको ?

पछिल्लो समय बजारमा लोकप्रिय देखिएको बजाज ब्रान्डका मोटरसाइकलमा एकपछि अर्को समस्या देखिन थालेका छन् । ग्राहकले सुरुमा लुक्स र पर्फमेन्सको प्रचारले लोभिएर सवारी किन्ने भए पनि लामो समयको प्रयोगमा गम्भीर किसिमका त्रुटिहरू देखिन थालेका छन् । विशेषतः सुरक्षा पक्षमा गम्भीर प्रश्न उठ्ने खालका घटनाहरू सार्वजनिक हुँदै गएका छन् । मोटरसाइकल गुड्दा गुड्दै वा पार्किङमै आगलागी हुने, इन्धन चुहावट हुने, वायरिङ सर्ट हुने, अत्यधिक तात्ने जस्ता समस्या व्यापक देखिन थालेका छन्, जसका कारण यो ब्रान्डप्रति विश्वास घट्दो क्रममा छ ।

बजाजको नाममा सबैभन्दा धेरै आलोचना कमाउने मोडेलहरूमा पल्सर एनएस २०० र पल्सर १५० रहेका छन् । यी मोडेलहरूमा विशेषगरी आगलागीको समस्या तीव्र रूपमा देखिएको छ । गर्मी मौसम सुरु भएसँगै इन्धन ट्याङ्की नजिकबाट धुवाँ निस्कन थालेको, इन्जिनको आसपास भागबाट गन्ध आउने र पेट्रोल चुहिने समस्या नियमित रूपमा उजागर हुन थालेको छ । यसका थुप्रै प्रमाण काठमाडौँ, चितवन, बुटवल, पोखरा, धनगढी लगायतका सहरहरूमा सार्वजनिक भएका छन् । कतिपय अवस्थामा प्रयोगकर्ताहरूको झिनो भाग्यले मात्र ठूला दुर्घटनाबाट ज्यान जोगिएको उदाहरण समेत छन् ।

अझ चासोको विषय के छ भने यस्ता घटनाहरू कम्पनीका आधिकारिक सर्भिस सेन्टरमा दैनिक रूपमा आउने गरेका छन् । प्रयोगकर्ताहरूले सेवा केन्द्रमा बाइक लगेपछि थाहा पाउँछन–सस्तोमा किनिएको बाइकको मर्मत खर्च नै यति महँगो पर्ने रहेछ कि नयाँ बाइक किन्नु नै सहज ! बजाजका मोटरसाइकलको स्पेयर पार्ट अत्यधिक महँगो हुनु र सजिलै उपलब्ध नहुनु अर्को समस्या हो । जसले प्रयोगकर्तालाई निकै ठूलो आर्थिक भार थप्ने गरेको छ ।

नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलासचन्द एन्ड कम्पनी लामो समयदेखि सञ्चालनमा रहे पनि यी समस्याप्रति जवाफदेही बन्नेभन्दा पनि घटनाहरू लुकाउने प्रवृत्तिमा लागेको आरोप छ । कम्पनीले कार्बुरेटरमा देखिएको पेट्रोल चुहावट जस्ता गम्भीर त्रुटिहरूलाई सामान्य ‘माइनर इश्यू’ भनेर पन्छ्याउने, सर्भिसको नाममा अनावश्यक पाटर््स फेरिदिने वा पुराना गाडी फेर्न लगाएर नयाँ बेच्ने रणनीति अपनाउँदै आएको उजागर हुँदै आएको छ । यही कारणले बजाजका प्रयोगकर्ता कम्पनीप्रति नै निराश र आक्रोशित हुँदै गएका छन् ।

सामाजिक सञ्जालहरूमा बजाज बाइक जलिरहेको भिडियो तथा फोटोले भाइरल बनेको दृश्य कसैले नदेखेको होइन । बाइक गुड्दै गर्दा अगाडि भागबाट आगो लाग्ने, बाइक थन्क्याएर पाँच मिनेट नबित्दै आगोको लप्का देखिने, इन्धन चुहिएर फुटपाथमै आगो सल्किने जस्ता घटना अब सामान्य हुन थालेका छन् । यस्तो संवेदनशील सुरक्षाका विषयमा कम्पनी गम्भीर नभएर बिक्री प्रवद्र्धन र मार्केटिङमा मात्रै केन्द्रित देखिनु उपभोक्ताप्रति बेइमानीको प्रमाण हो ।

हंशराज हुलासचन्दले हाल काठमाडौँको भृकुटीमण्डपमा नियमित रूपमा ‘बाइक मेला’ आयोजना गर्ने गरेको छ । त्यहाँ ग्राहक तान्नका लागि नगद छुट, एक्सचेन्ज अफर, निःशुल्क बीमा, निःशुल्क सर्भिसिङ जस्ता लुभाउने योजना प्रस्तुत गरिन्छ । बजार घट्दो क्रममा देखिएपछि कम्पनीले चिल्ला अफर ल्याउने गरेको छ ।

एक पटक बजाज बाइक किनेपछि, त्यसको मर्मत सम्भार खर्च मात्र होइन, सुरक्षा चिन्ताले प्रयोगकर्ता निरन्तर तनावमा रहने गरेका छन् । एउटै बाइकमा बारम्बार आगो लाग्ने घटना दोहोरिँदा सुरक्षामाथि विश्वास गर्नै नसकिने अवस्था सिर्जना भएको छ । बाइकको वायरिङ सिस्टम, इन्धन आपूर्ति प्रणाली, कूलिङ सिस्टम र ब्रेकिङ प्रणालीमा गम्भीर कमजोरी देखिएको प्रयोगकर्ताहरूले बताएका छन् । सस्तो मूल्य र आकर्षक डिजाइनका नाममा यस्तो ‘क्वालिटी कम्प्रोमाइज’ गर्नु भनेको ज्यान नै जोखिममा राख्नु हो भन्ने बुझाइ विस्तारै आम प्रयोगकर्तामा फैलन थालेको छ ।

यसै सन्दर्भमा काठमाडौँको रवि भट्टराईले बताए–‘मैले केहि समय अगाडि बजाज एनएस २०० किनेको थिएँ । पहिलो सुरुमा त सब ठिकै लाग्यो, तर गर्मी सुरु भएसँगै बाइक अत्यधिक तात्न थाल्यो । एकदिन भने त पार्किङमै राख्दा ट्याङ्की नजिकबाट धुवाँ निस्केको देखेँ । तुरुन्तै सर्भिस सेन्टर लगेँ तर उनीहरूले सामान्य भनेर पन्छ्याए । के यो सामान्य हो त ?’

रवि मात्र होइन सामाजिक सञ्जालमा बजाज बाइकको विषयमा नियमित गुनासो राख्ने दर्जनौँ ग्राहक छन् । युट्युब, फेसबुक, टिकटकजस्ता माध्यममा ‘बजाज बाइकमा आगो’ शीर्षक राखेर भिडियो बनाउने प्रवृत्ति बढ्दो छ । यो आफैँमा ब्रान्डको लागि ठूलो क्षति हो ।

बजाज ब्रान्ड भारतको सबैभन्दा ठूलो मोटरसाइकल उत्पादक कम्पनीहरूमध्ये एक हो । पछिल्लो समय भारतमा समेत यी सवारीमा आगलागीको घटना धेरै रहेको देखिएको छ ।

नेपालमा यसका उत्पादहरूमा देखिएको लापरवाही र प्रयोगकर्ताको आवाजप्रति बेवास्ता गर्नु चिन्ताको विषय बनेको छ । नेपालजस्तो देशमा जसको सडक संरचना, इन्धनको गुणस्तर र सेवा पहुँच सीमित छ, त्यहाँ अझ सुरक्षित र भरपर्दो सवारीको आवश्यकता पर्छ । तर बजाजको अवस्थामा हेर्दा उपभोक्ताले आफ्नो बचतको रकम लगाएर किनिएको सवारी साधनले ज्यान नै जोखिममा पार्ने देखिएको छ ।

बजाज पल्सरमा आगलागी घटना बढ्दै, जोखिम उच्च

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*