नेपाल माइक्रोद्वारा करीब साढे ५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म करीब साढे ५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।
गत वर्षको यसै अवधिसम्म साढे ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीको यस वर्ष ६ सय प्रतिशतभन्दा बढी खुद बीमाशुल्क कमाएको हो।
यद्यपि यस वर्ष कम्पनीको खुद नाफा भने २४ लाख रुपैयाँबाट ८० प्रतिशतले घटेर करीब ८ लाख रुपैयाँमा झरेको छ भने प्रतिशेयर आम्दानी पनि ५२ पैसाले घटेर ९ पैसामा झरेको छ।

यता कम्पनीको कुल आम्दानी भने ५ करोड रुपैयाँबाट बढेर साढे ११ करोड रुपैयाँ नाघेको छ भने कुल खर्च पनि करीब सोही बराबर रहेको छ।
चुक्ता पूँजी ७५ करोड रुपैयाँ रहेको यस कम्पनीको स्पेशल रिजर्भमा पौने २७ लाख रुपैयाँ, महाविपत्ति कोषमा साढे २ लाख रुपैयाँ बढी र जगेडा कोषमा २२ लाख रुपैयाँ रहेको छ।
कम्पनीको निर्जीवन बीमाकोषको आकार ८ करोड रुपैयाँबाट बढेर १८ करोड २७ लाख रुपैयाँ नाघेको छ भने प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ रहेको छ।













