चैतमा जीवन बीमकको साढे १७ अर्ब व्यवसायः अग्रस्थान र बृद्धिदरमा राष्ट्रिय जीवन बीमा कम्पनी

काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनामा सञ्चालित जीवन बीमा कम्पनीहरुले कुल १७ अर्ब ४६ करोड ९८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ कम्पनीको बीमा शुल्क आर्जन गत आवको सोही अवधिको तुलनामा ५१.२४ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आर्थिक वर्षको चैत महिनामा ११ अर्ब ५५ करोड १० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
समीक्षा अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले चैत महिनामा सबैभन्दा बढी बीमा व्यवसाय गरेको छ । कम्पनीले यस महिनामा तीन अर्ब ६८ करोड ४२ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १४४१ प्रतिशतले बढी हो ।
व्यवसायका आधारमा दोस्रो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको चैत महिनाको व्यवसाय १४ प्रतिशतले बढेर तीन अर्ब ६१ करोड रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्षको चैत महिनामा तीन अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।
साथै, नेशनल लाइफ इन्स्योरेन्सले चैत महिनामा दुई अर्ब एक करोड २७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको चैैत महिनाको व्यवसा गत आर्थिक वर्षको तुलनामा ५० प्रतिशतले बृद्धि भएको हो ।
चैत महिनामा एलआइसी नेपालले एक अर्ब ४७ करोड रुपैयाँ, हिमालयन लाइफले एक अर्ब ३७ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ९६ करोड २९ लाख रुपैयाँ, एशियन लाइफले ७६ करोड ६० लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सले ५९ करोड ७१ लख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
मेट लाइफ नेपालले चैत महिनामा ५६ करोड ३१ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ५५ करोड ३९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ५१ करोड ५२ लाख रुपैयाँ, आइएमई लाइफले ४८ करोड ५२ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४७ करोड ७६ लाख रुपैयाँ र सन नेपाल लाइफले ३८ करोड २५ लाख रुपैयाँ बराबरको व्यवसाय चैत महिनामा गर्न सफल भएका छन् ।













