५० करोडको लगानीमा एसटीसी इनर्जी: स्वचालित प्लान्टबाट गुणस्तरीय र प्रतिस्पर्धी ब्याट्री

दिपक विष्ट
२८ बैशाख २०८२, आईतवार १४:१५

हेटौंडा । हेटौंडाबाट ब्याट्री उत्पादन सुरु गरेर एसटीसी इनर्जीले नेपालको सवारी साधन उद्योगमा आत्मनिर्भरता ल्याउने सम्भावनाको ढोका खोलेको छ। एसटीसी ग्रुपअन्तर्गत सञ्चालनमा आएको यस कम्पनीले ५० करोड रुपैयाँभन्दा बढीको लगानीमा स्थापना गरेर एसटीसी, राइड र इनर्जी ब्रान्डमा टु–ह्विलर, अटोमोटिभ र इनभर्टर प्रयोजनका ब्याट्रीहरू स्वदेशमै उत्पादन गर्न थालेको हो। गुणस्तरीय उत्पादनलाई प्राथमिकता दिँदै कम्पनीले आयातित ब्याट्रीको विकल्पका रूपमा आफूलाई स्थापित गर्दै नेपालमै ब्याट्री उत्पादनको नयाँ युग सुरु गरेको छ।

हेटौंडाको औद्योगिक क्षेत्रभित्र २१ रोपनी क्षेत्रफलमा फैलिएको आधुनिक प्रविधियुक्त यस प्लान्टबाट हाल मासिक २५ हजार युनिटका दरले ब्याट्री उत्पादन भइरहेको छ । कम्पनीका प्रबन्ध निर्देशक सुरेशकुमार उप्रेतीका अनुसार कम्पनीको वार्षिक बिक्री लक्ष्य ४ देखि ५ लाख युनिटसम्मको रहेको छ ।

नेपालमा यतिबेला पनि सवारीसाधनमा प्रयोग हुने ब्याट्रीको ठूलो हिस्सा भारत, चीन, कोरिया, अमेरिका, जर्मनी, जापान, फ्रान्स, अष्ट्रेलिया, मेक्सिको, थाइल्यान्डलगायत २० भन्दा बढी देशबाट आयात भइरहेको अवस्था छ । यो परनिर्भरताको सन्दर्भलाई अन्त्य गर्दै एसटीसी इनर्जीले ब्याट्रीको उत्पादन नेपालमै थालेको हो । नेपालमा खासगरी लिड एसिड, निकेल क्याडमियम, निकेल आइरन, निकेल मेटल हाईड्राइड, लिथियम आयन, पावर बैंक ब्याट्री लगायतका ब्याट्रीहरु आयात हुने गर्दछन् । यी सबैमा आत्मनिर्भरता हासिल गर्ने दीर्घकालीन लक्ष्यका साथ एसटीसी इनर्जी अघि बढिरहेको छ ।

उद्योगको उत्पादन प्रक्रिया अत्याधुनिक प्रविधिमा आधारित छ । चीन, भारत र जापानबाट ल्याइएका मेशिनमार्फत पूर्ण स्वचालित प्रणालीमा ब्याट्री उत्पादन भइरहेको प्लान्ट हेड सुन्दर मूर्ती बताउँछन् । उनले भारतका विभिन्न प्रतिष्ठित ब्याट्री कम्पनीहरूमा लामो समय काम गरेर अनुभवी विशेषज्ञका रूपमा आफूले जिम्मेवारी सम्हालिरहेको जानकारी दिए ।

मूर्तीका अनुसार, ‘हामीकहाँ प्रयोग भएका उपकरणहरू पूर्ण स्वचालित छन्, जसले उत्पादनमा त्रुटि हुन दिंदैन । गुणस्तरमा कुनै सम्झौता गरिएको छैन । ग्राहकलाई दीर्घकालसम्म प्रयोग गर्न मिल्ने, टिकाउ ब्याट्री प्रदान गर्नु हाम्रो मूल उद्देश्य हो ।’

उद्योगमा ’भीआरएलए’ प्रविधिको प्रयोग भइरहेको छ, जुन चीनबाट आयात गरिएको हो । यस प्रविधिले ब्याट्रीलाई मर्मतसम्भारबिना लामो समय टिकाउन सक्षम बनाउने कम्पनीको दाबी छ । कम्पनीले ब्याट्री प्याक गर्ने कन्टेनर भने हालसम्म बाहिरबाट नै ल्याउँदै आएको छ । यसबारे प्रबन्ध निर्देशक उप्रेती भन्छन्, ‘नेपालमा कन्टेनर बनाउन सम्भव भए पनि लागत अत्यधिक हुन्छ। त्यसैले विदेशी स्रोतबाट ल्याउँदा झन् सस्तो पर्छ ।’

उद्योग हाल मोटरसाइकल, स्कुटर, कार, जीप, भ्यान, ठूला गाडी, ई–रिक्सा, इनभर्टर आदिमा प्रयोग हुने ब्याट्री उत्पादन गर्दै आएको छ । उद्योगको कुल वार्षिक उत्पादन क्षमता १८ लाख युनिट रहेको छ, जुन निकट भविष्यमा थप विस्तार गरिने योजना रहेको कम्पनीले बताएको छ ।

गुणस्तरमा सम्झौता छैन, प्रतिस्पर्धी मूल्य

कम्पनीले उत्पादन गर्ने ब्याट्रीको गुणस्तर कायम राख्न सबै अन्तर्राष्ट्रिय मापदण्ड पालना गरेको छ । भारतको ब्यूरो अफ इण्डियन स्ट्यान्डर्ड र अटोमोटिभ रिसर्च एसोसिएसन अफ इण्डियाबाट गुणस्तर प्रमाणीकरण प्राप्त गरिसकेको छ । यो प्रमाणीकरणले कम्पनीलाई भारत निर्यातको बाटो खोलिदिएको छ ।

वारेन्टीको सन्दर्भमा कम्पनीले दुईपांग्रे सवारीका ब्याट्रीमा ३६ महिना, कारमा ३६ महिना, इनभर्टरमा ६० महिना र ई–रिक्साका ब्याट्रीमा १२ महिना वारेन्टी दिएको छ । यो अवधिमा कुनै गम्भीर समस्या आएमा ब्याट्री पूर्णरूपमा प्रतिस्थापन गरिदिने नीति कम्पनीले ल्याएको छ ।

उपभोक्तालाई प्रत्यक्ष राहत दिने गरी कम्पनीले मूल्य पनि प्रतिस्पर्धात्मक बनाएको छ । उप्रेती भने, ‘एसटीसी इनर्जीका ब्याट्रीहरू बजारमा उपलब्ध अन्य ब्याट्रीहरूभन्दा ४० देखि ६० प्रतिशतसम्म सस्ता छन् । गुणस्तरमा सम्झौता नगरी, मूल्य सस्तो राख्नु नै हाम्रो रणनीति हो ।’

हाल उद्योग दैनिक १० घण्टा सञ्चालनमा छ । कम्पनीले आगामी साउनदेखि सञ्चालन समयलाई १६ घण्टा पु-याउने योजना बनाएको छ । तर, विद्युत आपूर्तिमा समस्या भएका कारण उत्पादनमा असर परेको कम्पनीको गुनासो छ । कम्पनीले विजुलीको मात्रै मासिक ८ देखि १० लाख रुपैयाँसम्मको बिल तिर्ने गरेको छ ।

उद्योगमा ७० जना भन्दा बढी नेपालीले प्रत्यक्ष रोजगारी पाएका छन् । दक्ष जनशक्ति भारतबाट ल्याइएको भए पनि चाँडै नेपाली जनशक्ति तयार पार्ने कम्पनीको लक्ष्य छ । यसका लागि तालिम, सिप विकास कार्यक्रमहरू सञ्चालन गरिने योजना कम्पनीको छ ।

विदेशी ब्याट्रीको प्रतिस्थापन, आत्मनिर्भरताको बाटो

नेपालमा खपत हुने अधिकांश ब्याट्री हाल भारत र चीनबाट आयात हुने गर्दछन् । भारतबाट आयात हुने ब्याट्रीहरूले अटोमोटिभ, ट्युबलर र ई–रिक्साका क्षेत्रमा प्रभुत्व जमाएका छन् भने चीनबाट विशेषगरी टु–ह्विलरका लागि ब्याट्री आयात भइरहेको छ । यस्तो परिदृश्यमा, एसटीसी इनर्जीले स्वदेशमै उत्पादन गरी आयात प्रतिस्थापनको लक्ष्य लिएको छ ।

उप्रेती भन्छन्, ‘सवारीसाधनको चाप दिनप्रतिदिन बढ्दैछ, त्यसअनुसार ब्याट्रीको माग पनि आकस्मिक रूपमा बढेको छ । हामीले बजारको माग, गुणस्तर र मूल्यलाई ध्यानमा राख्दै नेपालमै प्लान्ट स्थापना गरेका हौं । हामीसँग अहिले मोटरसाइकल, स्कुटर, कार, कमर्सियल भेहिकल र ई–रिक्साका लागि आवश्यक पर्ने प्रायः सबै रेञ्जका ब्याट्री उत्पादन भइरहेको छ।’

उद्योगले शुरुवातमा केवल टु–ह्विलर ब्याट्री उत्पादन गर्दै आएको भए पनि अहिले भने अटोमोटिभ, ई–रिक्सा र इनभर्टर ब्याट्री समेत बजारमा ल्याइसकेको छ । यो क्रमसंगै आगामी वर्षभित्र लिथियम आयन ब्याट्री उत्पादन थाल्ने योजना रहेको कम्पनीले जनाएको छ ।

बजार विस्तार र निर्यातको तयारीमा एसटीसी इनर्जी

एसटीसी इनर्जीले उत्पादन थालेको छोटो समयमै नेपालभर राम्रो बजार पकड बनाएको छ। कम्पनीका अनुसार देशका सबै प्रदेशमा राइड र इनर्जी ब्रान्डका ब्याट्रीहरू सहज रूपमा उपलब्ध छन्। गुणस्तर, सेवा र मूल्यमा प्रतिस्पर्धात्मक बनेको कारण कम्पनीको उत्पादन उपभोक्ताबीच लोकप्रिय बन्दै गएको छ। प्रबन्ध निर्देशक सुरेशकुमार उप्रेतीका अनुसार, ‘अहिलेको उत्पादनले देशभरको माग पूरा गर्न सक्ने स्थितिमा कम्पनी पुगेको छ।’

कम्पनीले आगामी दिनमा भारत, बंगलादेश, भुटानलगायत छिमेकी मुलुकहरूमा ब्याट्री निर्यात गर्ने लक्ष्य राखेको छ। भारतमा केहि मात्रामा पठाउन समेत सुरु भइसकेको उप्रेतिको भनाइछ । त्यसका लागि आवश्यक अन्तर्राष्ट्रिय प्रमाणपत्रहरू प्राप्त भइसकेका छन्। भारतको ब्यूरो अफ इण्डियन स्ट्यान्डर्ड र अटोमोटिभ रिसर्च एसोसिएसन अफ इण्डियाबाट प्रमाणीकरण पाइसकेकाले निर्यातका लागि बाटो खुलेको कम्पनीको भनाइ छ। गुणस्तरमा कुनै सम्झौता नगरेका कारण निर्यातका क्रममा समस्या नआउने कम्पनीको दाबी छ।

एसटीसी इनर्जीले केवल परम्परागत ब्याट्री उत्पादनमा सीमित नरही प्रविधिमा समेत निरन्तर नवीनता ल्याउने योजना अघि सारेको छ। कम्पनीले निकट भविष्यमा विद्युतीय सवारीसाधनका लागि अत्याधुनिक र उच्च क्षमताका लिथियम आयन ब्याट्री उत्पादन गर्ने तयारी गरिरहेको छ। बजारको माग, प्रतिस्पर्धी मूल्य, निर्यात सम्भावना र प्रविधिमा नवप्रयोगको संयोजनमार्फत एसटीसी इनर्जीले नेपालमा ब्याट्री उद्योगको नयाँ अध्याय सुरु गरेको देखिन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*