नेको इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन १४ प्रतिशत बढ्यो, अन्य सूचक कस्तो?

३० बैशाख २०८२, मंगलवार ०७:३०

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरणअनुसार कम्पनीले यस अवधिसम्म १ अर्ब २२ करोड रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।

गत आवको यसै अवधिसम्म १ अर्ब ७ करोड रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले त्यसको तुलनामा यस वर्ष १४.३९ प्रतिशत बढी खुद बीमा शुल्क आर्जन गरेको हो।

गत वर्ष ३७ करोड ७४ लाख रूपैयाँ खुद नाफा कमाएको कम्पनीको चालू आवमा भने सामान्य २.१६ प्रतिशतले खुद नाफा घटेर ३६ करोड ९३ लाख रूपैयाँमा झरेको छ।

गत वर्षको तुलनामा यस वर्ष कम्पनीको कुल आम्दानी ७.०९ प्रतिशतले वृद्धि हुँदा कुल खर्च १२.२९ प्रतिशतले बढेको छ। कुल आम्दानी १ अर्ब ६४ करोड रूपैयाँबाट बढेर १ अर्ब ७६ करोड रूपैयाँ पुग्दा कुल खर्च १ अर्ब ९ करोडबाट बढेर १ अर्ब २३ करोड नाघेको छ।

चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख रूपैयाँ रहेको कम्पनीको स्पेशल रिजर्भमा करीब २ अर्ब २१ करोड रूपैयाँ, महाविपत्ति कोषमा १५ करोड ६७ लाख रूपैयाँ र जगेडा कोषमा ६७ करोड ६१ लाख रूपैयाँ सञ्चिति रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) २५.०१ रूपैयाँबाट ५४ पैसाले घटेर २४.४७ रूपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ २६७.४० रूपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*