नेशनल लाइफको सिईओमा सुरेश प्रसाद खत्रीलाई पुनः नियुक्त गर्ने सञ्चालक समितिको निर्णय

काठमाडौं । विगतको चार बर्षे कार्यकालमा उत्कृष्ट नतिजा दिन सफल भएपछि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिृकत (सिईओ) मा सुरेश प्रसाद खत्रीलाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सिईओमा खत्रीलाई पुनःनियुक्त गर्ने निर्णय गरेको हो । नव नियुक्त सिईओ खत्रीले आजदेखि पदभार ग्रहण गर्नेछन् ।
२०७८ साल जेठ ३ गतेदेखि लागू हुने गरी पहिलो पटक सिईओको जिम्मेवारी सम्हालेका खत्रीले यस अवधीमा कम्पनीमा उत्कृष्ट नतिजा दिन सफल भएका छन् । जीवन बीमा कम्पनीहरु मध्ये आफूलाई दोस्रो स्थानमा पुर्याएर केही सूचांकहरुमा उत्कृष्ट समेत बनाउन सफल भएका छन् ।
खत्रीले कार्यभार सम्हाल्दा नेशलन लाइफको जीवन बीमा कोषमा ४९ अर्ब चार करोड रुपैयाँ रहेको थियो । हाल नेशनल लाइफको जीवन बीमा कोषको आकार ८१ अर्ब ३२ करोडभन्दा माथि छ । त्यस्तै, कूल बीमा व्यवसायको आकार बार्षिक १२ अर्बबाट बृद्धि गर्न बार्षिक १७ अर्ब भन्दा माथि पुर्याउन सफल भएका छन् । हाल जीवन बीमा कोषको आधारमा नेपालकै तेस्रो ठूलो कम्पनी बनेको नेशनल लाइफ कूल बीमा व्यवसायको आधारमा नेपालकै दोस्रो स्थानमा रहेको छ ।
सिईओ खत्रीकै कार्यकालमा नेपालगञ्जमा नेशनल लाइफको भव्य अत्याधुनिक भवन निर्माण गरी कार्यालय समेत सञ्चालनमा आइसकेको छ ।
२०५१ सालमा एक्जुकेटिभ सहायकबाट नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा प्रवेश गरेका सुरेश खत्री सेवा सुरु गरेका खत्री अन्ततः २६ वर्षपछि सोही कम्पनीको कार्यकारी पद सिईओमा नियुक्त भई कार्य प्रारम्भ गरेको थिए । यस पटक ३० औं वर्षमा दोस्रो पटक सिईओमा नियुक्त भएका छन् ।













