सुधारिँदै हाइड्रोको ब्यालेन्स सिटः ८९ वटा मध्ये कसको नाफा, ईपीएस र नेटवर्थ कति ? (सूचीसहित)

काठमाडौँ । आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमाससम्म हाइड्रोपावर कम्पनीहरूको वित्तीय अवस्था उल्लेख्य रूपमा सुदृढ बनेको छ । लामो समयदेखि घाटामा रहेको भनेर चिनिने हाइड्रोपावर क्षेत्र पछिल्लो समय नाफातर्फ उन्मुख भइरहेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ९१ वटा (दुईवटाले वित्तीय रिपोर्ट सार्वजनिक गर्ने बाँकी) जलविद्युत कम्पनीहरूले चालु आवको ९ महिनामा १ अर्ब ४४ करोड १६ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्ष २०८०/०८१ को सोही अवधिमा यी कम्पनीहरूको सामूहिक नाफा ऋणात्मक रूपमा १ अर्ब ५ करोड रुपैयाँ रहेको थियो ।
यस अवधिमा ५८ वटा कम्पनी नाफामा उक्लिएका छन् भने तीमध्ये ३१ कम्पनीको नाफा गत वर्षको तुलनामा बढेको देखिएको छ । घाटामा रहेका कम्पनीको संख्या पनि घटेर ४३ बाट ३१ मा झरेको छ ।
जलविद्युत कम्पनीहरूको आम्दानीमा देखिएको सुधारको मुख्य कारण भनेको विद्युत बिक्रीमा आएको वृद्धि हो । चालु आवको ९ महिनामा हाइड्रोपावर कम्पनीहरूले विद्युत बिक्रीबाट २८ अर्ब ८१ करोड २६ लाख रुपैयाँ आम्दानी गरेका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ११.९९ प्रतिशतले बढी हो । गत आवको तेस्रो त्रैमाससम्म विद्युत बिक्रीबाट २५ अर्ब ७२ करोड रुपैयाँ आम्दानी भएको थियो ।
ब्याजदरमा आएको गिरावटले पनि हाइड्रोपावर कम्पनीहरूलाई राहत दिएको देखिएको छ । विगतमा उच्च ब्याजदरका कारण वित्तीय दायित्व बोकेको हाइड्रोपावर क्षेत्र, अहिले बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर घटेपछि लागत कम गरी नाफा बढाउन सफल भएको हो । वित्तीय सूचकहरूमा आएको सुधारसँगै हाइड्रोपावर कम्पनीहरूको शेयर बजारमा पनि प्रदर्शन उल्लेख्य बनेको छ । धेरै कम्पनीहरूको मूल्यमा वृद्धि हुनुका साथै लाभांशको आशामा लगानीकर्ताको आकर्षण पनि तीव्र भएको छ ।
विगतमा जोखिमपूर्ण र घाटामा रहेको क्षेत्रका रूपमा हेरिँदै आएको जलविद्युत क्षेत्र, हाल भने सकारात्मक फड्को मार्दै अगाडि बढिरहेको हो । तेस्रो त्रैमाससम्म सबैभन्दा बढी नाफा आर्जन गर्ने पहिलो नम्बरमा साहज उर्जा रहेको छ । यसअवधिमा कम्पनीले ८३ करोड ४१ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको हो । जुन गत आवको तुलनामा ७४.४५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ४७ करोड ८१ लाख ८९ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
सर्वाधिक नाफा आर्जन गर्ने दोस्रो नम्बरमा रहेको चिलिमे हाइड्रोपावरको ८.९४ प्रतिशतले बढेर ५० करोड ७८ लाख, तेस्रो नम्बरमा रहेको माउन्टेन इनर्जीको ५०.४५ प्रतिशतले बढेर ४६ करोड ५० लाख, चौथौ नम्बरमा रहेको ग्रिन भेन्चर्सको ४३.४३ प्रतिशतले बढेर ३७ करोड ३५ लाख र अपि पावरको ६८९ प्रतिशतले बढेर ३५ करोड ३४ लाख रुपैयाँ रहेको छ ।
सर्वाधिक नाफा वृद्धि गर्नेमा अरुण भ्याली हाइड्रोपावर पहिलो नम्बरमा रहेको छ । तेस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको नाफा ५७९९ प्रतिशतले बढेर ३४ करोड १८ लाख रुपैयाँ रहेको छ ।
यता, आँखुखोला जलविद्युतको नाफा १२०९ प्रतिशतले बढेर ३ करोड ३६ लाख र हिमालयन हाइड्रोपावरको १०६० प्रतिशतले बढेर ६ करोड ४१ लाख रुपैयाँ पुगेको छ।
समिक्षा अवधिमा सबैभन्दा बढी घाटामा भने अप्पर तामाकोशी हाइड्रोपावर रहेको छ । कम्पनीले यस अवधिसम्म २ अर्ब ६ करोड ७४ लाख रुपैयाँ घाटा ब्यहोेरेको छ । गत आवमा पनि कम्पनी १ अर्ब ३९ करोड घाटामा रहेको थियो ।
साथै, माउन्टेन हाइड्रोपावर ३९ करोड २७ लाख, बलेफी हाइड्रोपावर ३२ करोड ६६ लाख, सान्जेन जलविद्युत २४ करोड २८ लाख, मेन्छियाम हाइड्रोपावर १८ करोड ३२ लाख, रसुवागढी हाइड्रोले १४ करोड ६० लाख, पिपुल्स हाइड्रोपावर १३ करोड ५२ लाख र मोदी इनर्जी ७ करोड ४५ लाख रुपैयाँ ऋणात्मक रहेका छन् ।
इपीएस कुनको कति ?
नाफाका अग्र स्थानमा रहेको साहज उर्जा प्रतिशेयर आम्दानी (ईपीएस) मा समेत अघि रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको ईपीएस २९.४२ रुपैयाँ रहेको छ ।
यसअवधिमा ५८ हाइड्रोपावरको ईपीएस धनात्मक रहेको छ भने ३१ कम्पनीको इपीएस ऋणात्मक देखिएको छ ।
सर्वाधिक ईपीएस हुने दोस्रो नम्बरमा रहेको माउन्टेन इनर्जीको १७.८७ रुपैयाँ, नेपाल हाइड्रो डेभलोपर्सको १७.११ रुपैयाँ, रुरु जलविद्युतको १६.५० रुपैयाँ, मिड सोलु हाइड्रोको १५.५२ रुपैयाँ, माउन्टेन हाइड्रोपावरको १४.६९ रुपैयाँ, माण्डू हाइड्रोपावरको १४.६९ रुपैयाँ र युनाइटेड इदि मार्दीको १४.१३ रुपैयाँ रहेको छ ।
ईपीएस सबैभन्दा धेरै ऋणात्मक हुने कम्पनीमा मेन्छियाम हाइड्रोपावर रहेको छ । कम्पनीको ईपीएस ४५.०३ रुपैयाँ ऋणात्मक रहेको छ ।
त्यस्तै, ईपीएस माउन्टेन हाइड्रोपावरको ३१.४२ रुपैयाँ, बलेफी हाइड्रोपावरको १५.९८ रुपैयाँ र खानीखोला हाइड्रोपावरको १०.५७ रुपैयाँ ऋणात्मक रहेको छ ।
तेस्रो त्रैमाससम्ममा बुटवल पावरको प्रतिशेयर नेटवर्थ सबैभन्दा बढी रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २०७.६० रुपैयाँ रहेको छ । त्यस्तै, ४० कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँभन्दा माथि रहेको छ भने ४८ कम्पनीको सो भन्दा मुनी रहेको छ ।
हेर्नुहोस् कस्को अवस्था कस्तो ?














