बैंकभन्दा बीमालेख धितोमा कर्जाको ब्याजदर सस्तो, ९५ अर्ब कर्जा

काठमाडौं । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रोे त्रैमासमा ९५ अर्ब २ करोड ५९ लाख १६ हजार रुपैयाँ बीमा लेखको धितोमा कर्जा दिएका छन् ।
यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७।३२ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासमा बीमा कम्पनीहरुले ८८ अर्ब ५४ करोड ९ लाख ४४ हजार रुपैयाँको धितोमा कर्जा दिएका थिए ।
गत आवको सोही अवधिमा १४ बीमा कम्पनीमध्ये १३ वटा जीवन बीमा कम्पनीले कर्जा दिएका थिए । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले भने बीमालेख धितोकर्जा वापतको रकम दिएको छैन ।
बीमा लेखको धितोमा कर्जा ३ प्रतिशत देखि ४१ प्रतिशतसम्म बढेको छ । यसर्थ पनि जीवन बीमा कम्पनीले बीमालेख धितोमा दिने कर्जालाई प्राथमिकतामा राखेको देखिएको छ ।

चालु आवको तेस्रोे त्रैमाससम्मको तथ्यांकलाई हेर्दा सबैभन्दा बढी कर्जा लगानी नेपाल लाइफ इन्स्योरेन्सको छ । नेपाल लाइफले ३६ अर्ब २२ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
जुन गत आवको सोही अवधिको तुलनामा ८।८० प्रतिशतले बढी हो ।
दोस्रोमा एलआईसी नेपाल रहेको छ। कम्पनीले गत बर्षको तुलनामा बीमालेख धितोकर्जा घटाएपनि कर्जा लगानीमा तेस्रो त्रैमासको रिर्पोट अनुसार दोस्रो स्थानमा रहेको छ। यस अवधिसम्ममा कम्पनीले २१ अर्ब ८१ करोड ७३ लाख रुपैयाा कर्जा लगानी गरेको छ।
तेस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा १२ अर्ब १७ करोड ४२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
त्यस्तै, हिमालयन लाइफले ७ अर्ब ७४ करोड रुपैयाँ, एशियन लाइफले ५ अर्ब ८ करोड रुपैयाँ, सूर्य ज्योति लाइफले ४ अर्ब ३९ करोड रुपैयाँ, मेट लाइफको १ अर्ब ८४ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफको १ अर्ब ४५ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको १ अर्ब २२ करोड रुपैयाँ, सिटिजन लाइफको ९५ करोड रुपैयाँ, आइएमई लाइफको ९० करोड ८२ लाख रुपैयाँ, सन नेपालको ७० करोड ४३ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफको ५० करोड १० लाख रुपैयाँ रहेको छ।
पछिल्लो समयमा बीमालेखको धितोमा कर्जा लिनेको संख्या बढ्दै गएको छ । बीमा विज्ञ भोजराज शर्माले बैंकबाट कर्जा लिँदा सेवा शुल्क तिर्नुपर्ने, ब्याजदर पनि फरक फरक हुने भएकोले बीमालेख धितोमा कर्जा लिनेको आकर्षण बढेको बताउँछन् ।
ऋण दिँदा ब्याजदर भने बीमा कम्पनी अनुसार फरक हुने उनको भनाई छ ।













