खल्ती र कनेक्ट आइपिएसको नाममा करोडौंको ठगीः ग्राहकको पैसा दाउमा, गहिरो निन्द्रामा नियामक

दिपक विष्ट
१६ जेष्ठ २०८२, शुक्रबार १६:५४

काठमाडौँ । डिजिटल प्रविधिको प्रयोगले जीवन सहज बनाउँदै लगिरहेको वर्तमानमा नेपाली नागरिकले बिश्वास गरेका डिजिटल वालेट प्रणालीहरू खल्ती र कनेक्ट आइपिएस नै अहिले ठगीको नयाँ हतियार बनेका छन् । वालेट सेवाको नाम दुरुपयोग गर्दै अनधिकृत व्यक्तिहरूले लाखौं प्रयोगकर्ताको खातामा पहुँच बनाई करोडौं रकम ठगी गरिरहेको पाइएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्यूरोका अनुसार ठगहरूको एउटा संगठित समूहले वालेव प्रणालीमा पहुँच बनाई ठगी गर्ने कार्य तीव्र बनाएको छ । उनीहरू बल्क एसएमएस सेवा प्रदायक कम्पनीहरूको माध्यमबाट खल्ती र कनेक्ट आइपिएस प्रयोगकर्ताहरूलाई त्रास उत्पन्न गर्ने खालका एसएमएसहरू पठाउने गरेको पाइएको हो । एसएमएसमा ‘तपाईंको खाता ६ घण्टामा बन्द हुनेछ, तुरुन्तै प्रमाणित गर्नुहोस्’ वा ‘तपाईंको खाता निलम्बन गरिएको छ, पहुँच पुनः प्राप्त गर्न आत्म–प्रमाणन प्रक्रिया पूरा गर्नुहोस्’ भन्ने जस्ता सन्देशहरू पठाउने गरेका हुन् ।

ठग समूहका एसएमएसहरूले प्रयोगकर्ताहरूलाई तत्काल क्लिक गर्न बाध्य पार्ने र उनीहरूलाई खल्ती वा कनेक्ट आइपिएस जस्तै देखिने नक्कली वेबपृष्ठमा लग्ने गरेका छन् । त्यहाँ प्रयोगकर्ताले आफ्नो प्रयोगकर्ता नाम, पासवर्ड, ओटीपी लगायतका गोप्य जानकारी प्रविष्ट गरेपछि ठगहरूले ती जानकारी प्रयोग गरी बैंक खाता र डिजिटल वालेटमा रहेको रकम अन्यत्र सारि लाखौं रुपैयाँ सजिलै लुट्ने गरेका हुन् ।

प्रहरी उपरीक्षक दीपक राज अवस्थीका अनुसार यस्ता ठगीका घटनाहरू हाल आएर दिनहुँ ब्यूरोमा उजुरी परिरहेका छन् । उनका अनुसार बल्क एसएमएस सेवा प्रदायक कम्पनीहरू जस्तै ‘दी अलर्ट’ र ‘एटी अलर्ट’ मार्फत यस किसिमको सन्देश पठाइएको पुष्टि भइसकेको छ । तर, ती कम्पनीहरूमाथि पनि कुनै कारबाही भएको छैन । उल्टै साइबर अपराधमा संलग्न व्यक्तिहरूको नियन्त्रणमा न आउनुको प्रमुख कारण नै सम्बन्धित वालेट कम्पनीहरूको मौन समर्थन रहेको प्रहरी स्रोतहरू बताउँछन् ।

खल्ती र कनेक्ट आइपिएस जस्ता संस्थाहरूले आफ्ना प्रयोगकर्ताको खातामा भएको ठगीप्रति न त क्षमायाचना जनाएका छन्, न त सावधानी अपनाएका छन् । कम्पनीहरूको लोगो ब्राण्ड र प्रयोगकर्ता इन्टरफेस नक्कली वेबपृष्ठमा दुरुपयोग हुँदा समेत कम्पनीहरूले प्रहरीलाई सहयोग गर्न वा स्वतन्त्र अनुसन्धानमा चासो देखाएका छैनन् ।

यस्ता कार्यबाट कम्पनीहरू नै कमीशनको लोभमा यस्ता गतिविधिमा प्रत्यक्ष वा परोक्ष संलग्न छन् कि भन्ने प्रश्न उठ्न थालेको छ । प्रहरीले पनि अनलाइन ठगीको उजुरी आएपछि मात्रै अनुसन्धान थाल्ने चलन बनाएको छ । अपराध घट्नुको सट्टा बढ्दै गइरहेको अवस्थाले प्रहरीको पनि भूमिका गम्भीर प्रश्नचिन्हमा परेको छ । प्रहरी स्रोत भन्छ, ‘साइबर ब्यूरोमा यस्ता उजुरीका चाङ लागिसकेको छ । तर, सम्बन्धित कम्पनीले कुनै पनि प्रतिवेदन पेश गर्दैनन्, स्पष्टीकरण दिन चासो देखाउँदैनन् । यसले गर्दा ठगलाई कानुनी दायरामा ल्याउन निकै कठिन भइरहेको छ ।’

डिजिटल सेवा प्रदायक कम्पनीहरू विशेषतः खल्ती र कनेक्ट आइपिएसले प्रयोगकर्ताको डाटा सुरक्षा सुनिश्चित गर्न सकेका छैनन् । उनीहरूले दावी गर्ने साइबर सुरक्षा, इनक्रिप्सन, टू–फ्याक्टर अथेण्टिकेसन प्रणालीहरू व्यवहारमा कमजोर देखिएका छन् । यति ठूलो संख्यामा प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरी हुनु, ठगी हुनु र त्यसमा कम्पनीहरूकै प्लेटफर्मको दुरुपयोग हुनुले सेवाको गुणस्तरमा गम्भीर प्रश्न उठेको छ ।

नियामक संस्था नेपाल राष्ट्र बैंक यस्ता गम्भीर घटनाप्रति बेखबर देखिएको छ । खल्ती र कनेक्ट आइपिएस दुबै नेपाल राष्ट्र बैंकको अनुमतिप्राप्त संस्था हुन् जसको अनुगमन गर्ने जिम्मा राष्ट्र बैंकको हो । तर, न राष्ट्र बैंकले सार्वजनिक चेतावनी दिएको छ, न कुनै कम्पनीमाथि कारबाही गरेको छ । यसबाट नागरिकको जिउधन सुरक्षित राख्ने जिम्मेवारीबाट राष्ट्र बैंक पन्छिएको स्पष्ट देखिएको छ ।
यो लापरवाहीबाट लाखौं प्रयोगकर्ताको खातामा रहेको रकम जोखिममा परेको छ । अनलाइन ठगीको पछिल्लो लहरले अझै देखाएको छ कि डिजिटल प्रणाली कति असुरक्षित अवस्थामा छन् । प्रयोगकर्ताहरूका लागि त प्रत्येक एसएमएस, इमेल वा लिंक नै त्रासको विषय बन्न थालेको छ । यस्ता घटनामा प्रयोगकर्ताले आफू ठगिएको प्रमाण दिँदा पनि कम्पनीहरूले सहयोग नगर्नु, प्रहरी सक्रिय नहुनु र नियामक संस्था चुप लाग्नुले नागरिकको सुरक्षा गम्भीर संकटमा पारेको छ ।

सामान्य नागरिकका लागि डिजिटल वालेट सेवा भनेको आफ्नो रकम सुरक्षित राख्ने सहज माध्यम हो । तर, यस्ता घटनाको जिम्मेवारी न  कम्पनीले लिन्छन्, न त नियामक निकाय सक्रिय हुन्छन् । प्रयोगकर्ताको खाताबाट रकम गायब भएपछि उनीहरूलाई हरेक निकायमा धाउनुपर्ने बाध्यता छ । कम्पनीको हेल्पलाइन फोन नगर्ने, इमेलको जवाफ नपठाउने प्रवृत्तिले झनै प्रयोगकर्तालाई अप्ठेरो पारिरहेको छ ।

सरकारले डिजिटल नेपाल बनाउने नारा दिँदै गर्दा यस्ता डिजिटल सेवा प्रदायकको गैरजिम्मेवारीपूर्ण कार्यशैलीले सम्पूर्ण प्रणालीमाथि अविश्वासको वातावरण बनाइरहेको छ । आम नागरिक डिजिटल वालेट प्रयोग गर्ने होइन त्यसबाट डराउने अवस्थामा पुगेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*