लाभांश पारित गर्न हिमालयन लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

२० जेष्ठ २०८२, मंगलवार ०६:५३

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आउँदो असार १० गते अठारौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजे सभा बोलाएको हो।

सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीको चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रूपैयाँको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ।

यसका साथै गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र गत आवमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले यही जेठ २८ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ जेठ २७ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*