बैशाखमा जीवन बीमाको व्यवसाय १३ अर्ब, अग्रस्थानमा राष्ट्रिय जीवन बीमा र सिटिजन लाइफ

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनामा १३ अर्ब रुपैयाँबढीको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार हाल सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले बैशाख महिनामा उक्त व्यवसाय गरेका हुन् ।
बैशाख महिनामा जीवन बीमा कम्पनीहरुले १३ अर्ब १८ करोड ६४ लाख रुपैयाँ बराबर बीमा शुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको व्यवसाय १६.९३ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आवको बैशाख महिनामा ११ अर्ब २७ करोड ६७ लाख रुपैयाँ आर्जन गरेका थिए ।
बैशाख महिनाको व्यवसाय आर्जनको रुपमा नेपाल लाइफ, नेशनल लाइफ र व्यवसाय बृद्धिदरको आधारमा राष्ट्रिय जीवन बीमा कम्पनी तथा सिटिजन लाइफ अग्रस्थानमा रहेका छन् ।

समीक्षा अवधिमा नेपाल लाइफको व्यवसाय २२ प्रतिशतले बृद्धि भएर तीन अर्ब ५७ करोड २४ लाख रुपैयाँ रहेको छ । दोस्रो नम्बरमा रहेको नेशनल लाइफले एक अर्ब ५६ करोड दुई लाख रुपैयाँ र एलआइसी नेपालले बैशाख महिनामा एक अर्ब ५३ करोड ८३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
बैशाख महिनामा हिमालयन लाइफले एक अर्ब १९ करोड ६९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ८७ करोड २३ लाख रुपैयाँ, एशियन लाइफले ६७ करोड ६३ लाख रुपैयाँ, सिटिजन लाइफले ५९ करोड ३३ लाख रुपैयाँ, मेट लाइफले ५४ करोड २९ लाख रुपैयाँको व्यवसाय गरेका छन् ।
सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले ५० करोड ८० लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ४९ करोड १२ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ४५ करोड ६७ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् ।












