इजलासभित्रै छिरेर न्यायाधीशमाथि कालोमोसो दलियो, न्यायाधीश बमको हत्यापछिको अर्को घटना

काठमाडौं । बीरगन्जस्थित उच्च अदालतका एक न्यायाधीशलाई इजलासभित्रै छिरेर कालोमोसो दलिएको छ । नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई मोसो दल्दै भ्रष्टाचारी न्यायाधीशलाई बाँकी नराख्ने चेतावनी दिएको छ ।
सुरक्षाघेरा तोडेर छापामार शैलीमा उच्च अदालत बीरगन्जको इजलासमा पुगेका सो पार्टीका कार्यकर्ताहरुले न्यायाधीश थारुमाथि मोसो प्रहार गरेका हुन् । कालोमोसो दल्नेहरुले नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताव आलमलाई घुस खाएर न्यायाधीशले रिहा गरिदिएको भन्दै कालोमोसो दलिएको हो ।
आलममाथि सोझा तराईका जनतालाई इट्टा भट्टमा जीउँदै जलाएको आरोपमा जेलमा थिए । उच्च अदालत बीरगन्जको थारुको इजलासले केही दिनअघि आलम निर्दोष रहेको भन्दै रिहा गर्न आदेश दिएको थियो ।

न्यायाधीश डा. खुसीराम थारु
सोको विरोधमा बहुमत समर्थित कार्यकर्ताहरुले इजलासभित्रै पुगेर कालो मोसो दलेका हुन् । पछिल्लो समय नेपालका न्यायालयहरुबाट स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन प्रभावित हुँदै आएको छ । माफिया, बिचौलियाको पक्षमा मात्रै फैसला हुने र जनताको पक्षमा फैसला हुन छोडेका छन् । केही बर्ष अघि सर्वोच्च अदालतका न्यायाधिश रण बहादुर बमको गोली हानी हत्या गरिएको घटनापछि बीरगन्ज उच्च अदालतको इजलासभित्रै न्यायाधीशमाथि कालोमोसो दलिएको हो ।
न्यायाधीशहरु नै न्याय सम्पादनमा चुक्दा र आर्थिक प्रभावमा पर्दै जाँदा पछिल्लो समय न्यायालय र न्यायाधीशमाथि निरन्तर प्रश्न उठिरहेको छ । सर्वोच्च अदालतकै केही न्यायाधीशमाथि समेत यस्तै प्रश्न उठिरहेका भए पनि न्यायापरिषद र प्रधानन्यायाधीशले केही गर्न सकेका छैनन् । अझ सञ्चार माध्यमहरुमा प्रकाशित समाचार हटाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको बिषयले अहिले प्रेस भर्सेस न्यायालय लफडा परिरहेको छ ।
उता, उच्च अदालतका न्यायाधीश थारु यसअघि पनि विवादमा पर्दै आएको खुलेको छ । उनी बिशेष अदालतमा हुँदा बिजय कुमार गच्छदारलाई सफाई दिएका थिए ।













