हिमालयन बैंकको व्यवस्थापन र सीईओका कारण सशंकित हबिब बैंक, ३ अर्बको शेयर बेचेर देश छोड्दै

१ असार २०८२, आईतवार १२:०२

काठमाडौँ । हिमालयन बैंक लिमिटेडमा व्यवस्थापन संकट र गम्भीर गुटबन्दीका कारण अन्तर्राष्ट्रिय लगानीकर्ता पाकिस्तानको हबिब बैंक लिमिटेड पूर्ण रूपमा बाहिरिन लागेको छ । संस्थापक शेयर लगानीकर्ता रहेको हबिब बैंक अहिले तीन अर्ब १३ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर बिक्री गरेर नेपालको बैंकिङ प्रणालीबाट हात झिक्न लागेको हो ।

हबिब बैंकले शेयर बिक्रीका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको छ । स्वीकृति पाएलगत्तै बैंकले यही जेठ ३० गते सार्वजनिक सूचना प्रकाशित गरी आफ्नो दुई करोड ८० लाख १२ हजार चार सय ४७ कित्ता संस्थापक शेयर बिक्रीको प्रस्ताव सार्वजनिक गरेको हो । सूचनाअनुसार ३५ दिनभित्र इच्छुक शेयरधनीले आवेदन दिन सक्नेछन् । हबिब बैंकले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसा तोकेको छ ।

बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शम्भु राणाको नेतृत्वमा पछिल्ला केही वर्षयता बढ्दै गएको अपारदर्शिता, निर्णय प्रक्रियामा एकल वर्चस्व र संस्थागत स्वेच्छाचारिता मुख्य कारण बन्न पुगेको छ । बैंकभित्रको आन्तरिक राजनीति, गुटगत निर्णय प्रक्रिया र सीईओको ‘अकाउन्टेबल’ कार्यशैलीबारे संस्थापक शेयरधनीहरू लामो समयदेखि असन्तुष्ट रहँदै आएका थिए । सीईओ राणाको कार्यशैली प्रति असहमति राख्दै हबिब बैंकले वि.सं. २०७६ मै शेयर बिक्री गरेर बाहिरिन चाहेको थियो । तर तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले स्वीकृति नदिँदा त्यसबेला उक्त प्रक्रिया रोकिएको थियो । अहिले भने अधिकारीकै कार्यकालको अन्तिम चरणमा राष्ट्र बैंकले बिक्री अनुमति दिएको छ ।

हबिब बैंक मात्र नभई बैंकका अन्य संस्थापक सेयरधनीहरू पनि निराश छन् । पछिल्ला वर्षहरूमा बैंकको रणनीतिक दिशा गुमाएको, निर्णय प्रक्रियामा संस्थापकहरूको सहभागिता घटेको र विशेषतः प्रमुख कार्यकारी अधिकृत र उनको समूहले संस्थागत हितभन्दा व्यक्तिगत लाभलाई प्राथमिकता दिँदै आएको गुनासो रहँदै आएको छ ।

बैंकको आन्तरिक संरचना अहिले गुटबन्दीमा विभाजित भएको आरोप लाग्दै आएको छ । सीईओ राणासँग नजिक रहेका सीमित व्यक्तिहरूको समूहले सबै निर्णय एकलरूपमा गर्दै आएका छन् । यही संरचनाबाट निराश भएका संस्थापक शेयरधनीहरू क्रमशः बाहिरिन थालेका छन् । धेरै संस्थापक सेयरधनीले आफ्ना शेयर अन्य संस्थालाई बिक्री गरेर बाहिरिने निर्णय लिँदै आएका छन् ।

संस्थापकहरूलाई योजनाबद्धरूपमा शंकाको घेरामा पारेर व्यवस्थापनले बैंकबाट टाढा बनाइरहेको छ । यही क्रममा हबिब बैंकलाई समेत क्रमशः अपारदर्शी वातावरणमा काम गर्न असहज भएको र अन्ततः लगानी फिर्ता गर्ने निर्णयमा पुग्नुपरेको बताइएको छ । संस्थापकहरूले गम्भीर रणनीतिक विषयमा समेत सल्लाह नगरी निर्णय लिइएको गुनासो गर्दै आएका छन् ।

बैंकका वरिष्ठ पदाधिकारीहरूले आफ्ना आफन्त र निकटस्थहरूलाई संस्थापक शेयर प्रदान गर्नका लागि संस्थापकहरूलाई बाहिरिन बाध्य पार्ने रणनीति अपनाएका छन् । अहिलेको नेतृत्वले स्वार्थसिद्धिका लागि गम्भीर चलखेल गर्दै संस्थागत पारदर्शिता समाप्त पारेको आरोप समेत संस्थापक पक्षले लगाउँदै आएको छ ।

हाल हिमालयन बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ । सिभिलसँग मर्जरअघि हिमालयनमा हबिबको २० प्रतिशत स्वामित्व थियो । हाल त्यो घटेर १२.९६ प्रतिशत स्वामित्व छ । स्वामित्वमा आएको यो कमजोर उपस्थितिले पनि हबिब बैंकलाई निर्णय प्रक्रियामा प्रभावहीन बनाएको हो । एक समयको सशक्त अन्तर्राष्ट्रिय साझेदार बाहिरिने निर्णयले हिमालयन बैंकको प्रतिष्ठा र दीर्घकालीन लगानी आकर्षणमा नकारात्मक असर पार्न देखिएको छ ।

हिमालयनले सिभिल बैंकसँग मर्जर गरेपछि वित्तीय अवस्था कमजोर देखिएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कुल ५० करोड ५९ लाख रुपैयाँ खुद नाफा गरेको छ । वितरणयोग्य नाफा सात करोड ८० लाख रुपैयाँ मात्र छ ।

हिमालयनमा हिमालयनशमशेर जबरा, भीम पाँडे, पृथ्वी पाँडे, नरसिंहबहादुर श्रेष्ठ र आन्नदभक्त राजभण्डारीको धेरै शेयर छ । यस्तै, एन ट्रेडिङ कम्पनीको १२.७१, खेतान ग्रुपको म्युचुअल ट्रेडिङ कम्पनीको ११.८५, आभा इन्टरनेसनलको ११.३८, छाया इन्टरनेसनलको ८.८९ र उद्योगपति शशिकान्त अग्रवालको २.६५ प्रतिशत स्वामित्व छ ।

एक वर्षमा हिमालयन बैंकका सीईओ राणाको मोबाइल खर्च साढे १३ लाख

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*