ग्राहकको रोजाईमा बजाज बाइक, हंशराज हुलासचन्दले ९ महिनामा गर्‍यो ११ अर्ब २२ करोड व्यापार

१ असार २०८२, आईतवार १५:५७

काठमाडौँ । नेपालमा बजाज ब्रान्डका दुई पांग्रे सवारी साधनहरूको वितरण गर्दै आएको हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि पछिल्लो समय उल्लेखनीय व्यावसायिक सफलतासहित अगाडि बढिरहेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८१।०८२ को पहिलो ९ महिनामै ११ अर्ब २२ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गर्न सफल भएको हो ।

कम्पनीको विगतको वित्तीय अवस्था हेर्दा चालु आर्थिक वर्ष अघिका दुई वर्षहरूमा कारोबार घटेको देखिए पनि हालको तथ्यांकले कम्पनीले पुनः सुधारको संकेत देखाएको हो । आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले २१ अर्ब ३३ करोड रुपैयाँको सञ्चालन आम्दानी आर्जन गरेको भए पनि त्यसपछिका दुई वर्षमा यो क्रमशः घटेर १० अर्ब ७६ करोड र १० अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको थियो । तर चालु आवको पहिलो ९ महिनामै ११ अर्बभन्दा बढीको कारोबार हुनु कम्पनी पुन लयमा आएको देखिएको छ ।

सन् १९५९ मा स्थापना भएको हंशराज हुलासचन्द एण्ड कम्पनी नेपालका निजी क्षेत्रका पुराना तथा प्रतिष्ठित सवारी साधन वितरक कम्पनीमध्ये एक हो । गोल्छा समूहअन्तर्गत सञ्चालन हुँदै आएको कम्पनीले बजाज ब्रान्डका दुई पांग्रे तथा तीन पांग्रे, केटीएम र ट्रायम्फ ब्रान्डका मोटरसाइकल तथा सर्भो ब्रान्डका इन्धनजन्य तेलहरू वितरण गर्दै आएको छ । नेपालका लागि आधिकारिक बिक्री एजेन्टका रूपमा क्रियाशील कम्पनीले मुलुकभर ३०० भन्दा बढी बिक्री केन्द्र तथा सेवा केन्द्रमार्फत ग्राहकहरूसम्म सवारी साधन तथा सेवा पु¥याउँदै आएको छ । यी सञ्जालहरूबाट ग्राहकहरूको सहज पहुँच सुनिश्चित गर्दै कम्पनीले आफ्नो बजार पकड सुदृढ बनाउँदै आएको छ ।

कम्पनीमा हाल १९ जना शेयरधनी रहेका छन् । कार्यकारी अध्यक्ष शेखर गोल्छाको स्वामित्वमा ५३ दशमलव ८ प्रतिशत सेयर रहेको छ भने बाँकी सेयर अन्य सेयरधनीहरूले जनही ३ दशमलव ७५ प्रतिशतभन्दा कम अनुपातमा राखेका छन् ।

वित्तीय सूचकहरूतर्फ हेर्दा कम्पनीको ऋण–शुद्ध सम्पत्ति अनुपात १ गुणामा सीमित रहनु, बाह्य दायित्व–शुद्ध सम्पत्ति अनुपात १.२ देखि १.४ गुणासम्म सीमित हुनु सकारात्मक रुपमा हेरिएको छ । यस्तै, ऋण नाफा अनुपात २०७८/७९ मा २.५ गुणाबाट ५.७ सम्म पुगेको भए पनि हाल ४.३ गुणामा झरेको देखिन्छ । ब्याज भुक्तानी क्षमता अनुपात पनि उल्लेखनीय सुधार हुँदै गएको छ । २०७९/८० मा १.४ मात्र रहेको यो अनुपात २०८०/८१ मा १.८ पुगेको थियो भने चालु वर्षमा ३ गुणासम्म पुगेको उल्लेख गरिएको छ ।

कुल ऋण भुक्तानी क्षमता अनुपात पनि राम्रो छ । २०७८/७९ मा १.६ र २०७९/८० मा २.१ रहेको यो अनुपात चालु आर्थिक वर्षमा ३ गुणासम्म पुगेको छ । यसको मुख्य कारण कम्पनीले ६० दिनभन्दा बढी पुराना ग्राहकहरूलाई ब्याज गणना गर्दा नगद प्रवाहमा पनि लाभ लिएको देखिएको छ । यस्तो सहुलियतले कम्पनीलाई वित्तीय लचकता प्रदान गरेको छ । यद्यपि कार्यशील पूँजी–सञ्चालन आम्दानी अनुपात भने घट्दो क्रममा छ । २०७८/७९ मा २७ प्रतिशत रहेको यो अनुपात २०७९/८० मा ४६ प्रतिशत पुगेको भए पनि २०८०/८१ मा ४१ प्रतिशतमा सीमित भएको र चालु आवमा ३३ प्रतिशतमा झरेको देखिन्छ ।

बजारको प्रतिस्पर्धात्मकतामा कम्पनीले अझै पनि आफ्नो उपस्थिति मजबुत बनाइरहेको देखिएको छ । विशेषगरी युवावर्गमा बजाज ब्रान्डप्रति आकर्षण बढ्दो क्रममा छ । बजाज पल्सर, एनएस सिरिजका मोडलहरू, बजाज डोमिनार तथा अन्य सहर तथा ग्रामीण क्षेत्रमा लोकप्रिय मोडलहरूले बजारमा बलियो उपस्थिति जमाएका छन् । यस्तै, तराई क्षेत्रका लागि उपयुक्त बजाज रि तथा बजाज मेक्सीमा–सी अटो सवारीहरूको बिक्रीमा पनि कम्पनीले राम्रो बजार बनाएको छ । कम्पनीको मुख्य प्रतिस्पर्धामा रहेका होण्डा र यामाहा ब्रान्डका सवारीहरूका बीच पनि बजाज ब्रान्डले मूल्य, माईलेज तथा पहुँचको आधारमा प्रतिस्पर्धात्मक लाभ कायम राख्न सफल भएको देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*