वर्ल्डलिङ्कको चम्किलो यात्रा: इन्टरनेट बजारमा राज, आम्दानी र ग्राहक वृद्धिमा कीर्तिमान

काठमाडौं । नेपालको इन्टरनेट सेवा प्रदायक क्षेत्रको अग्रणी कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले तीन दशक लामो व्यवसायिक यात्राको क्रममा निरन्तर वित्तीय सुदृढता देखाउँदै आएको छ । सन् १९९६ जनवरी २१ मा निजी कम्पनीका रूपमा स्थापना भई २०१९ अप्रिल २४ मा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको वर्ल्डलिङ्कले विगत तीन वर्षयता उत्कृष्ट व्यवसायिक वृद्धि र वित्तीय व्यवस्थापन देखाउँदै आएको केयर रेटिङ नेपालको प्रतिवेदनले उल्लेख गरेको हो ।
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकका रूपमा स्थापित वर्ल्डलिङ्कले पछिल्ला तीन आर्थिक वर्षमा आफ्ना आम्दानी, नाफा, ऋण व्यवस्थापन, ब्याज भुक्तानी क्षमताजस्ता सूचकहरूमा उल्लेखनीय सुधार गरेको देखिएको छ ।
ग्राकहकको पहिलो नजरमा वल्र्डलिङ्क, आम्दानीमा फड्को
नेपाली इन्टरनेट बजारमा वर्ल्डलिङ्कको सेवा प्राप्त गर्ने ग्राहकको संख्या निरन्तर वृद्धि भइरहेको छ । गुणस्तरीय सेवाका कारण ग्राहकहरु वर्ल्डलिङ्क रुचाइरहेका छन् । जसले गर्दा कम्पनीको व्यापारमा समेत निरन्तर सुधार देखिएको छ ।
कम्पनीको सञ्चालन आम्दानी प्रत्येक वर्ष बढिरहेको देखिएको छ । आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ९ अर्ब ३९ करोड १० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो । उक्त आम्दानी अर्को वर्ष २०७९/८० मा बढेर १० अर्ब ३३ करोड २० लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ मा भने कम्पनीले ११ अर्ब ११ करोड २८ लाख रुपैयाँको आम्दानी गर्दै निरन्तर वृद्धिलाई कायम राखेको छ । लगातार तीन वर्षसम्म दोहोरो अंकको वृद्धिदरका साथ आम्दानी बढाउनु कम्पनीको बजार विस्तार, ग्राहक सन्तुष्टि तथा प्रविधिमा लगानीको प्रतिफल हो ।
कम्पनीको पुँजीगत ब्याज, कर, मूल्यह्रास तथा निष्काशनपूर्व नाफाको अनुपात पनि सन्तोषजनक देखिएको छ । आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको सञ्चालन नाफा दर ३१.८८ प्रतिशत थियो । २०७९/८० मा यो दर सुधार भएर ३३.४५ प्रतिशतमा पुग्यो भने २०८०/८१ मा केही घटेर ३१.४५ प्रतिशतमा झरेको छ ।
ऋण व्यवस्थापनमा स्मार्ट रणनीति, कम्पनीको आर्थिक मजबूतीमा झलक
वर्ल्डलिङ्कले आफ्नो कूल ऋण र पुँजीको अनुपात उल्लेखनीय रूपमा सुधार गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको कूल ऋण अनुपात १.६६ गुणा रहेकोमा २०७९/८० मा यो ०.७८ गुणामा झ-यो । पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा पनि यो दर झन्डै स्थिर रहँदै ०.७९ गुणामा कायम रहेको छ । कम्पनीले बाह्य ऋणको सट्टा आन्तरिक स्रोत, सञ्चित नाफा वा पुँजी वृद्धि मार्फत वित्तीय आवश्यकता पूरा गरिरहेको छ ।
कम्पनीको ब्याज भुक्तानी क्षमता पनि उल्लेखनीय छ । आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले आफ्नो नाफाबाट ११.७ गुणा ब्याज तिर्न सक्ने स्थितिमा थियो । २०७९/८० मा यो दर घटेर ६.९२ गुणामा झरे पनि पछिल्लो वर्ष २०८०/८१ मा फेरी वृद्धि भई १०.९६ गुणा पुगेको छ ।
कम्पनीको कूल ऋण र कुल नगद प्रवाह अनुपात भने केही समयसम्म घटेको देखिए पनि पछिल्लो वर्ष फेरि बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा यो अनुपात १.८४ गुणा थियो, जुन २०७९/८० मा झ-दै १.५० गुणामा झरेको थियो । तर, आर्थिक वर्ष २०८०/८१ मा यो अनुपात २.७५ गुणामा पुगेको छ ।

केयर रेटिङ नेपालले कम्पनीको कुल बैंक कर्जा रकम ३ अर्ब ५० करोड ५५ लाख रुपैयाँबाट बढेर ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँ पुगेको छ । यसमध्ये दीर्घकालीन कर्जा रकम घटाएर २ अर्ब १९ करोड ६० लाखमा झारिएको छ भने अल्पकालीन कर्जा बढाएर १ अर्ब ७५ करोड पु-याइएको छ । कम्पनीको वित्तीय अनुशासन र ऋण तिर्ने क्षमताको मूल्यांकन गर्दै केयर रेटिङ्स नेपाल लिमिटेडले वर्ल्डलिङ्कलाई प्रदान गरिएको रेटिङलाई पुनः पुष्टि गरेको छ ।
दीर्घकालीन कर्जाका लागि ‘केयर–एनपी ए’ (एकल ए) र अल्पकालीन कर्जाका लागि ‘केयर–एनपी ए टू प्लस’ (ए दुई प्लस) रेटिङ कायम राखिएको छ । साथै, दुवै रेटिङलाई पहिले राखिएको ‘नकारात्मक प्रभावको आशंकासहितको निगरानी’ सूचीबाट हटाइएको छ ।
कम्पनीको अध्यक्षमा दिलीप अग्रवालले गरिरहेका छन् । मनोज कुमार अग्रवाल (कार्यकारी सञ्चालक) र लक्ष्मण कुमार यादव (सञ्चालक) कम्पनी स्थापना कालदेखि नै कम्पनीसँग आबद्ध छन् ।
विदेशी लगानीले थपियो डिजिटल विस्तारको गति
कम्पनीले संस्थागत स्तरमा बलियो लगानी सहयोग प्राप्त गरेको छ । सन् २०२३ को जनवरीमा ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टबाट १ अर्ब ८ करोड र मार्च २०२३ मा डोल्मा इम्प्याक्ट फण्डबाट ९० करोड बराबरको सिरीज बी लगानी प्राप्त गरेको हो । यी लगानीहरूसँगै कम्पनीमा भएको कुल वैदेशिक लगानी २०८१ सालको मध्य असारसम्म पुग्दा २ अर्ब ९८ करोड पुगेको छ ।
एफडीआई अन्तर्गत प्राप्त रकम कम्पनीको नेटवर्क पूर्वाधार विस्तारमा प्रयोग भइरहेको छ । ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट बेलायत सरकारको पूर्ण स्वामित्वमा रहेको विकास वित्तीय संस्था हो । डोल्मा इम्प्याक्ट फण्ड नेपालको पहिलो व्यावसायिक इम्प्याक्ट फण्ड हो, जसले साना तथा मझौला उद्यममा लगानी गर्दै आएको छ ।
त्यसैगरी, कम्पनीले सन् २०२४ नोभेम्बर २८ मा फिनफण्डसँग १० मिलियन युरो बराबरको वैदेशिक प्रत्यक्ष लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर पनि गरेको छ ।

फिनफण्डद्वारा वर्ल्डलिंकमा साढे १ अर्ब लगानी
१० लाख ग्राहक पार, बजार हिस्सामा वल्र्डलिङ्कको दबदबा कायमै
कम्पनीको सक्रिय ग्राहक संख्या निरन्तर रूपमा बढ्दै गइरहेको छ । २०२५ को मध्य अप्रिलसम्म यो संख्या १० लाख पुगेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको प्रतिवेदनअनुसार २०२५ को मध्य अप्रिलसम्म देशभर कुल इन्टरनेट ग्राहक संख्या ३१,३०,६५५ रहेको छ । २०२५ को मध्य अप्रिलसम्म वर्ल्डलिङ्कले मात्रै खुद्रा इन्टरनेट सेवाको बजार हिस्सामा करिब ३२ प्रतिशत ओगटेको छ ।
कम्पनीले देशको कुल इन्टरनेट ब्यान्डविथको ४० प्रतिशतभन्दा बढी हिस्सा बोकेको छ। कम्पनीको सेवा सञ्जाल ७० भन्दा बढी जिल्लामा फैलिएको छ र १० हजारभन्दा बढी कार्यालय तथा संस्थाहरूसँग जडित इन्टरप्राइज सर्किटहरू रहेका छन्। २०८१ सालको मध्य असारसम्म शाखा संख्या देशभर १४० पुगेको छ ।
वर्ल्डलिङ्कले विगत ३० वर्षको अनुभवबाट नेपालको टेलिकम तथा इन्टरनेट क्षेत्रमा बलियो उपस्थिति बनाएको छ । देशैभर फैलिएको सेवा सञ्जाल, ग्राहक केन्द्रित सेवा, प्राविधिक लगानी र दिगो व्यवसायिक सोचले कम्पनीलाई सशक्त बनाएको छ । पछिल्ला वर्षहरूमा कम्पनीले ग्रामीण क्षेत्रदेखि शहरी केन्द्रसम्म सेवा विस्तार गरेको छ ।
इन्टरनेट सेवा आवश्यकतामा तीव्र बृद्धिसँगै वर्ल्डलिङ्कको सेवा माग पनि उकालो लागेको छ । प्रविधिमा समयमै लगानी गर्ने र नविनतम प्रविधि अपनाउने कम्पनीको नीति त्यसमा निर्णायक बनेको देखिएको छ । ग्राहकहरूको माग अनुसार सेवामा नवीनता ल्याउने, सेवाको गुणस्तरमा सुधार गर्ने र प्रतिस्पर्धी मूल्यमा सेवा उपलब्ध गराउने कम्पनीको कार्यशैलीले यसको ब्राण्ड मूल्य झनै उकासेको छ ।













