रिलायबल नेपाल लाइफको आठौं वार्षिक सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२ असार २०८२, सोमबार १४:२१

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सभा आज काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा सम्पन्न भएको हो ।

उक्त सभाले हाल कायम चुक्ता पूँजी ४ अर्ब ६४ करोड रूपैयाँको १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ।

यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियक्ति गरेर निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याएको छ।

 

बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १९ करोड ६८ लाख पुग्ने भएकाले सोही बमोजिम गर्न र नियमनकारी निकायबाट निर्देशन भएमा वा आवश्यक परेमा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभाले पारित गरेको छ।

सभामा उठेका शेयरधनीहरुका विभिन्न जिज्ञासाहरुको उत्तर दिदै अध्यक्ष श्रेष्ठले कम्पनीका वित्तीय सूचांकहरु अब्बल बन्दै गएको बताएका छन् । उनले आउँदा दिनहरुमा पनि शेयरधनीहरुलाई उचित प्रतिफल दिने प्रतिवद्धता जनाउँदै सम्पुर्ण कर्मचारी, शेयरधनीहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ २६ गते १ दिन बुक क्लोज गरिसकेकोले जेठ २५ गतेसम्म कायम शेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*