फोर्डका गाडीमा गम्भीर समस्या, ३ लाखभन्दा बढी गाडी ‘रिकल’

काठमाडौं । इलेक्ट्रोनिक प्रविधिमा उच्च स्थान राख्ने फोर्ड मस्टाङ म्याच-ई गम्भीर समस्यामा परेको छ। ढोका खोल्ने इ-ल्याच प्रविधि विफल भएपछि अमेरिका लगायत विश्वभर ३ लाखभन्दा बढी म्याच-ई गाडी रिकलमा परेका छन्।
अमेरिकाको राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासनमा दर्ता गरिएका विवरणअनुसार अमेरिकामै १ लाख ९७ हजार ४३२ युनिट र अन्य अन्तर्राष्ट्रिय बजारमा थप १ लाख २० हजार युनिट गाडी प्रभावित भएका छन्।
परम्परागत ह्याण्डलको सट्टा बटन थिचेर ढोका खोल्ने इ-ल्याच प्रणाली म्याच-ईमा जडान गरिएको छ। तर, यस प्रणालीमा प्रयोग भएको सफ्टवेयरमा देखिएको समस्याले यस्तो स्थिति निम्त्याएको हो। पावरट्रेन कन्ट्रोल मोड्युलमा समस्या आउँदा ‘की अफ’ अवस्थामा गाडी बन्द भएपछि डीसी-टु-डीसी पावर कन्वर्टरमार्फत १२ भोल्ट ब्याट्री चार्ज हुन बन्द हुन्छ। जब ब्याट्रीको भोल्टेज ८.४ भोल्टभन्दा तल झर्छ, इ-ल्याच प्रणालीले ढोका लक गरेर बाहिरबाट खोल्न नदिने समस्या देखिन्छ। यद्यपि, गाडी भित्रबाट म्यानुअल ह्याण्डल प्रयोग गरेर ढोका खोल्न सकिन्छ, तर बाहिरबाट खोल्ने कुनै विकल्प रहँदैन।
फोर्डले हालसम्म चार वटा वारेन्टी दाबी, तीन वटा ग्राहक सेवा रिपोर्ट र तीन वटा बालबालिकासहित लकआउटको उजुरी पाएको जनाएको छ। यद्यपि हालसम्म कुनै चोटपटक वा गम्भीर दुर्घटनाको रिपोर्ट भने आएको छैन।
मस्टाङ म्याच-ईमा आकस्मिक अवस्थामा खोल्न मिल्ने भौतिक चाबीको व्यवस्था गरिएको छैन। अन्य धेरै गाडीमा ड्राइभर साइडमा लुकेको चाबी सिलिन्डर जडान गरिन्छ, जस्तै फोर्डकै लिङ्कन डिभिजनको नटिलस मोडेलमा यस्तो सुविधा उपलब्ध छ। म्याच-ईमा यस्तो व्यवस्था नहुँदा आकस्मिक अवस्थामा समस्या झन जटिल हुने देखिएको छ।
फोर्डले समस्याको समाधानका लागि सफ्टवेयर अपडेट गर्ने तयारी गरेको छ।













