रौतहटमा नेपालको पहिलो फाइबर सिमेन्ट बोर्ड उद्योग, आइएमई ग्रुपको डेढ अर्ब लगानी

काठमाडौं । नेपालमा उत्पादनमूलक उद्योगमा नयाँ आयाम थपिएको छ। विगतदेखि विभिन्न क्षेत्रमा लगानी गर्दै आएको आइएमई ग्रुपले देशमै पहिलोपटक फाइबर सिमेन्ट बोर्ड उत्पादन सुरु गरेको हो।
रौतहट जिल्लाको फतुवा विजयपुरमा स्थापना गरिएको उक्त उद्योगमा करिब १ अर्ब ५० करोड रुपैयाँ बराबरको पूँजी विनियोजन गरिएको छ। ‘एभरेष्ट फाइबर सिमेन्ट बोर्ड प्रालि’ नामक यस कम्पनीको उद्घाटन बुधबार विशेष समारोहबीच हुने तय भएको छ।
कार्यक्रममा वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा काठमाडौंबाट भर्चुअल माध्यममार्फत उद्घाटन गर्नेछन्।
आइएमई ग्रुपले विगतमा विप्रेषण सेवा, बैंकिङ, बीमा, पर्यटन, जलविद्युत् र सूचना प्रविधि लगायतका क्षेत्रमा उल्लेखनीय लगानी विस्तार गरिसकेको छ। यसअघि समूहले महोत्तरीको गौशालामा करिब २ अर्ब रुपैयाँ लगानीमा ‘नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रीज’ स्थापनासँगै उत्पादन सुरु गरेको थियो। कागज उद्योग सञ्चालनमा ल्याएको केही महिनामै समूहले दोस्रो उत्पादनमूलक उद्योगको रुपमा एभरेष्ट फाइबर सिमेन्ट बोर्ड सञ्चालनमा ल्याएको हो।
यो नयाँ उद्योगले नेपालको निर्माण सामग्री बजारमा गुणस्तरीय विकल्प थप्ने विश्वास गरिएको छ। यहाँ उत्पादन गरिने फाइबर सिमेन्ट बोर्डहरू पूर्णतया नेपालमै उत्पादन गरिने भएकाले यसले आयात प्रतिस्थापनमा समेत योगदान गर्नेछ।
निर्माण व्यवसायका लागि अत्यन्त उपयोगी मानिने फाइबर सिमेन्ट बोर्डले घर, अफिस र औद्योगिक संरचनामा बहुउपयोगी सामग्रीको रुपमा स्थान बनाउने अपेक्षा गरिएको छ। वातावरणमैत्री प्रविधिको प्रयोग गर्दै सञ्चालन गरिने यो उद्योगले उच्च गुणस्तरका उत्पादनमार्फत प्रतिस्पर्धी बजारमा आफ्ना उत्पादन प्रस्तुत गर्ने योजना बनाएको छ।
आइएमई ग्रुपले उत्पादनमूलक उद्योगको क्षेत्रमा थप सम्भावना पहिचान गर्दै लगानी विस्तारलाई प्राथमिकता दिएको संकेत समेत दिएको छ। नेपालभित्रै उत्पादन प्रवर्द्धन र रोजगारी सिर्जनामा समेत यसले उल्लेखनीय टेवा पुग्ने व्यवसायीहरूको विश्वास छ।













