आइपीओ तयारीमा रहेको प्रभु हेलिकप्टरको व्यापार १५ करोडले खस्कियो, ऋणको बोझ उच्च

काठमाडौँ । सर्वसाधारणका लागि आइपीओ निष्कासनको तयारी गरी रहेको प्रभु हेलिकप्टरको व्यापारमा भारी गिरावट आएको छ । ६१ करोड २५ लाख रुपैयाँको आइपीओ निष्कासन गर्ने लागे कम्पनीको वर्षदिनमा १५ करोड ७० लाख रुपैयाँ व्यापार गायब भएको हो ।
रेटिङ एजेन्सि केयर रेटिङ नेपालका अनुसार सन् २०२४ मा कम्पनीले २६ करोड रुपैयाँको व्यापार गरेको हो । जुन गत आर्थिक वर्षको तुलनामा ३७.६५ प्रतिशतले घटेको हो । सन् २०२३ मा कम्पनीले ४१ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
सन् २०२३ मा कोरोना भाइरस महामारी पछि पर्यटक आगमनमा आएको सुधारको कारण कम्पनीको कुल सञ्चालन आम्दानीमा वृद्धि भएको थियो । तर, सन् २०२४ मा कम्पनीका दुईमध्ये एकवटा हेलिकप्टर पहिलो त्रैमासिकको अन्त्यतिर ग्राउण्ड हुनुका साथै त्यसलाई तेस्रो त्रैमासिकको अन्त्यसम्ममा बेचिनुपरेपछि कम्पनीको सेवा सञ्चालनमा बाधा आएको छ ।
माउन्टेन भ्यू, दर्शन यात्रा र आकस्मिक उद्धार सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा रहेको कम्पनीका अधिकांश आर्थिक सूचकले खस्किँदै गएको छ । विशेष गरी, कम्पनीको आम्दानी, नाफा, ऋणको बोझ र नगद प्रवाहसम्बन्धी सूचकहरूमा नकारात्मक प्रवृत्ति देखिएको छ । २०७२ सालमा मुक्तिनाथ एयरलाइन्सको कारोबार अधिग्रहण गरी स्थापना भएको हेलिकप्टर सन् २०२२ जुलाई १४ मा सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भई हाल प्रभु हेलिकप्टर लिमिटेड नामले परिचालित छ ।
यता, कम्पनीको सञ्चालन नाफा मार्जिनमा पनि कमजोरी देखिएको छ । सन् २०२२ मा यो २७.४८ प्रतिशत मात्र रहेको सूचक सन् २०२३ मा ५४.०८ प्रतिशत पुगेर सुधार भएको देखिए तापनि सन् २०२४ मा पुनः घट्दै ४५.३४ प्रतिशतमा झरेको छ ।
कम्पनीको ओभरअल गियरिङ्ग अर्थात् समग्र ऋण भार सन् २०२२ मा ऋणभन्दा बढी नकारात्मक नेटवर्थका कारण नेगेटि थियो । सन् २०२३ मा यो सूचक ८.४ गुणा पुगेको छ भने सन् २०२४ मा ३.४४ गुणामा झरे तापनि यो अझै पनि उच्च जोखिममा रहेको मानिन्छ । कम्पनीले हालै फेरि नयाँ एयरबस हेलिकप्टर खरिद गरेको छ, जुन ऋणमा आधारित पूँजी संरचनाबाट वित्तपोषण गरिएको छ । यदि यो हेलिकप्टर समयमै सञ्चालनमा नआएमा कम्पनीको ऋण तिर्ने क्षमता थप दबाबमा पर्ने निश्चित देखिन्छ ।
ब्याज तिर्ने क्षमता दर्शाउने इन्टरिस्ट कवरेज रेसियो सन् २०२२ मा ०.७४ मात्र रहेको थियो, जुन निकै कमजोर हो । त्यसपछिका वर्षहरूमा सुधार हुँदै सन् २०२३ मा २.३७ र सन् २०२४ मा १.८७ पुगे तापनि यसले ब्याज तिर्ने पर्याप्त नगद आम्दानी नरहेको देखिएको छ ।

कम्पनीको कुल ऋण / नगद संचित अनुपात पनि चिन्ताजनक छ । सन् २०२२ मा यो नकारात्मक रहेको यो अनुपात सन् २०२३ मा ६.१४ गुणा पुगेको थियो भने सन् २०२४ मा झन् बढ्दै १८.२६ गुणामा पुगेको छ । हालको अनुपात (करन्ट रेसियो) सन् २०२२ मा १.३० रहेकोमा सन् २०२३ मा ३.२१ र सन् २०२४ मा ४.४२ पुगेको छ ।
प्रभु हेलिकप्टर प्रभु समूह अन्तर्गतको कम्पनी हो । कम्पनीसँग हाल दुईवटा एयरबस हेलिकप्टर छन् भने विगतका वर्षहरूमा भएका रॉबिन्सन हेलिकप्टरहरू क्रमशः बिक्री गरिएका छन् । कम्पनीको निर्देशकमा सात सदस्य छन्, जसमा देवीप्रकाश भट्टचन अध्यक्ष छन् भने प्रबन्ध निर्देशक सुभाष अमात्यको नेतृत्वमा कम्पनी सञ्चालित छ ।
कम्पनीले ६४ करोड रुपैयाँ ऋणको लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले अल्पकालीन ऋणका लागि केयर एनपी ए फोर को रेटिङ प्रदान गरेको छ भने दीर्घकालिन ऋणका लागि केयर एनपी बी रेटिङ प्रदान गरेको छ ।














