जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन २३% ले बढ्यो, प्रभु महालक्ष्मीको उच्च बृद्धि

काठमाडौं । जीवन बीमा कम्पनीहरु चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा ३४ अर्ब नौ करोड ८५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले उक्त प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।
विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमकको नयाँ व्यवसाय २३.६९ प्रतिशतले बृद्धि भएको छ । जीवन बीमा कम्पनीहरुले गत आवको सोही अवधिमा २७ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेको छ भने सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी र प्रभु महालक्ष्मी लाइफको नयाँ व्यवसाय उल्लेख्य मात्रामा बृद्धि भएको छ ।
चालु आर्थिक वर्षको ११ महिनामा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी नयाँ व्यवसाय भित्र्याएको छ । कम्पनीको नयाँ व्यवसाय ३१.५९ प्रतिशतले बढेर आठ अर्ब २२ करोड ९० लाख रुपैयाँ पुगेको छ ।
दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको नयाँ व्यवसाय १८.१२ प्रतिशतले बढेर चार अर्ब ९१ करोड ५५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, तेस्रो स्थानमा रहेको सूर्यज्योति लाइफको नयाँ व्यवसाय २९.३६ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले ११ महिनामा दुई अर्ब ६० करोड ३४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

व्यवसाय आर्जनको आधारमा, स्रोतः नेपाल बीमा प्राधिकरण
समीक्षा अवधिमा एलआइसी नेपालको नयाँ व्यवसाय १६.४६ प्रतिशतले बृद्धि भएर दुई अर्ब ४१ करोड ६ लाख रुपैयाँ र हिमालयन लाइफ इन्स्योरेन्सको १३.३२ प्रतिशतले बृद्धि भएर दुई अर्ब ३१ करोड ४३ लाख रुपैयाँ रहेको छ ।
सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन सर्वाधिक प्रतिशतले बृद्धि भएको छ । कम्पनीको नयाँ व्यवसाय १२०.१७ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स नयाँ व्यवसाय आर्जनमा आक्रामक देखिएको छ । कम्पनीको प्रथम बीमा शुल्क आर्जन ६९ प्रतिशतले सर्वाधिक बृद्धि भएका मध्ये दोस्रो स्थानमा रहेको छ ।













