आईएमई डिजिटल र खल्ती गाभिएर ‘आईएमई खल्ती लिमिटेड’ बने, साउन १ देखि एकीकृत कारोबार

१६ असार २०८२, सोमबार १०:५१

काठमाडौँ ।  आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड गाभिएर अब एकीकृत रूपमा ‘आइएमई खल्ती लिमिटेड’ नामबाट कारोबार गर्ने भएका छन्। दुवै कम्पनीबीच मर्जरको प्रारम्भिक समझदारी २०८१ सालको फागुन ४ गते भएको थियो। सोही समझदारीअनुसार नेपाल राष्ट्र बैंकले मर्जरका लागि सैद्धान्तिक सहमति २०८१ फागुन २२ गते दिएको हो।

पछि, २०८२ साल वैशाख २५ गते अन्तिम सम्झौता भएपछि दुवै कम्पनीले नेपाल राष्ट्र बैंकमा मर्जर स्वीकृतिको निवेदन पेश गरेका थिए। सोही आधारमा राष्ट्र बैंकले २०८२ असार ४ गते दुवै कम्पनीलाई गाभिएर ‘आइएमई खल्ती लिमिटेड’ नामबाट एकीकृत कारोबार गर्न स्वीकृति दिएको हो।

यससँगै कम्पनी रजिष्ट्रारको कार्यालयबाट पनि खल्ती प्राइभेट लिमिटेडलाई आई.एम.ई. डिजिटल सोलुसन लिमिटेडमा गाभ्ने तथा गाभिएपछि नयाँ कम्पनीको नाम आइएमई खल्ती लिमिटेड रहने स्वीकृति प्राप्त भएको जानकारी गराइएको छ। कम्पनी रजिष्ट्रार कार्यालयको पत्र नं. ८१/८२ च.नं. कम्पनी प्र./७८३१४ मिति २०८२ असार १२ मा प्राप्त भएको स्वीकृतिपछि अब २०८२ साउन १ गते बिहीबारदेखि एकीकृत कारोबार सुरु गरिनेछ।

मर्जरपछि खल्ती प्राइभेट लिमिटेडको सबै सम्पत्ति र दायित्व आई.एम.ई. डिजिटल सोलुसन लिमिटेडले स्वीकार गर्नेछ। नयाँ एकीकृत कम्पनी ‘आइएमई खल्ती लिमिटेड’को केन्द्रीय कार्यालय बागमती प्रदेश, काठमाडौं महानगरपालिका–३, पानीपोखरीमा रहनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*