विश्व बैंकको दक्षिण एसियाली नेतृत्व जोहान्स जुटको हातमा, ३९ अर्ब डलरको परियोजनामा जिम्मेवारी

१६ असार २०८२, सोमबार ११:३१

काठमाडौँ । विश्व बैंकले जोहान्स जुटलाई दक्षिण एसिया क्षेत्रका लागि नयाँ उपाध्यक्ष नियुक्त गरेको छ। उनले जुलाई १, २०२५ देखि मार्टिन रायसरको स्थान लिँदै कार्यभार सम्हाल्ने गरी नियुक्त गरेको हो ।

दक्षिण एसियाली क्षेत्रीय उपाध्यक्षको भूमिकामा रहँदा जोहान्स जुटले बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलङ्कासँग विश्व बैंकको सम्बन्ध व्यवस्थापन गर्ने छन् । साथै, उनले ३९ अर्ब अमेरिकी डलर बराबरको परियोजना, प्राविधिक सहायता र वित्तीय स्रोत समेटिएको सम्पूर्ण पोर्टफोलियोको निरीक्षण गर्नेछन् ।

उनको नेतृत्वमा विश्व बैंकले दक्षिण एसियाली क्षेत्रमा रोजगारी सिर्जना, जलवायु तथा विपद् सहनशीलता, मानव पुँजी विकास र निजी पुँजी परिचालन जस्ता महत्वपूर्ण क्षेत्रमा सहयोगलाई निरन्तरता दिने जनाएको छ ।

जोहान्स जुट डच नागरिक हुन् र उनले सन् १९९९ मा विश्व बैंकमा काम सुरु गरेका थिए। त्यसयता उनले विभिन्न महत्वपूर्ण जिम्मेवारीहरू सम्हाल्दै आएका छन्। हालसालै उनी ब्राजिलका लागि विश्व बैंकका देश निर्देशकका रूपमा कार्यरत थिए । यसअघि उनी अपरेशनल पोलिसी एन्ड कंट्री सर्भिसेस उपाध्यक्षीय विभागमा रणनीति, नतिजा, जोखिम र सिकाइ विभागका निर्देशक थिए ।

त्यसअघि उनले बङ्गलादेश, भूटान र नेपाल तथा टर्की, कोमोरोस, इरिट्रिया, केन्या, रवाण्डा, सेशल्स र सोमालियाका लागि पनि देश निर्देशकको भूमिका निभाइसकेका छन् ।

जोहान्स जुटले भनेका छन्, दक्षिण एसियामा मैले अन्तिमपटक काम गरेको १० वर्ष यता क्षेत्रले हासिल गरेको विकास प्रगतिले मलाई निकै खुशी दिएको छ। म फेरि यो क्षेत्रका जनताको आत्मीयता र सांस्कृतिक सम्पदालाई प्रत्यक्ष अनुभव गर्न र सहयोग गर्न पाउँदा उत्साहित छु।

शिक्षा क्षेत्रको कुरा गर्दा जोहान्स जुटसँग टोरन्टो विश्वविद्यालयबाट दर्शनशास्त्रमा स्नातक र स्नातकोत्तर उपाधि छ । उनले हार्वर्ड विश्वविद्यालयबाट कानूनमा उपाधि लिएका छन् भने अक्सफोर्ड विश्वविद्यालयबाट दर्शनशास्त्रमा विद्यावारिधि गरेका छन्।

विश्व बैंकले सेवा प्रवाह सुधार गर्न र ग्राहकको नजिक पुग्नका लागि केन्द्रिकरणको नीति अनुसार दक्षिण एसियाको क्षेत्रीय केन्द्र भारतको नयाँ दिल्लीमा स्थापना गर्दैछ । जोहान्स जुट अब नयाँ दिल्लीमा आधारित हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*