आन्तरिक उडानमा बुद्ध एयरको वर्चस्वः ६ महिनामा साढे ७ अर्ब आम्दानी, भरपर्दो सेवाले यात्रुहरू प्रफुल्ल

१७ असार २०८२, मंगलवार १२:२५

काठमाडौँ । आन्तरिक उडानमा वर्चस्व कायम गरेको बुद्ध एयरको व्यापार पछिल्ला वर्षहरूमा निरन्तर उकालो लागेको छ । देशका प्रमुख गन्तव्यहरूमा समयमै सेवा, सुरक्षामा उच्च प्राथमिकता र यात्रुमैत्री नीतिका कारण बुद्ध एयर यात्रुहरूको पहिलो रोजाइ बन्न सफल भइरहेको हो ।

निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायकका रूपमा परिचित बुद्धले विमान संख्यामा विस्तार गर्नुका साथै उडान फ्रिक्वेन्सी बढाएर यात्रुहरूको मागअनुसार सेवा दिन थालेको छ । यही कारणले कम्पनीको व्यापारिक गतिविधि उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको हो । यात्रुको मन जित्न सफल बुद्ध एयरले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६.५ महिनामै ७ अर्ब ४१ करोड ७० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी आर्जन गरेको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म १४ अर्ब रुपैयाँ नाघ्ने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले १३ अर्ब २२ करोड रुपैयाँ आम्दानी भएको गरेको थियो । आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ३३ करोड रुपैयाँ रहेकोमा २०७८/७९ मा यो १० अर्ब ९ करोड रुपैयाँ पुगेको थियो । त्यसपछि २०७९/८० मा १२ अर्ब १६ करोडरुपैयाँ आम्दानी भएको थियो ।

बुद्ध एयरले हाल १६ वटा एटीआर–७२ र २ वटा एटीआर–४२ विमानमार्फत सेवा दिइरहेको छ । सुदूर पश्चिमदेखि पूर्वका सहरसम्म नियमित उडान भर्ने बुद्धले पछिल्लो समय बीरगञ्ज, रामेछाप, चुँदण्डीगढीलगायतका नयाँ गन्तव्यहरूमा पनि उडान थप गर्दै आएको छ । बुद्धले काठमाडौं, पोखरा, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, जनकपुर, भद्रपुरलगायत देशका प्रमुख सहरहरूमा दैनिक उडान गर्दै आएको छ ।

विसं २०५३ मा स्थापना भएको बुद्ध एयरले भारतका कोलकाता र वाराणसीसम्म सीमित अन्तर्राष्ट्रिय उडान सेवा पनि दिँदै आएको छ । बुद्ध एयरको नेतृत्व कम्पनीका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले गर्दै आएका छन् । कम्पनीको पछिल्लो पाँच वर्षको वित्तीय विवरणका आधारमा यसले सञ्चालन आम्दानी, नाफा तथा कर्जासम्बन्धी सूचकहरूमा उल्लेखनीय सुधार गरेको देखिन्छ ।

बुद्ध एयरको सञ्चालन मुनाफा अनुपात (ओपीबिडीटिए /सञ्चालन आम्दानी) पनि क्रमशः सुधारिएको छ । आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको यो अनुपात ११.६ प्रतिशत मात्र थियो । तर २०७८/७९ मा १३.२ प्रतिशत, २०७९/८० मा १० प्रतिशत र २०८०/८१ मा १७.८ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भने यो अनुपात २१.६ प्रतिशत पुगेको छ ।

बुद्धको कुल कर्जा र अचल खुद सम्पत्तिको अनुपात २०७७/७८ मा १.९ गुणा थियो, जुन क्रमशः घट्दै २०७८/७९ मा २.०, २०७९/८० मा १.८, २०८०/८१ मा १.६ र चालु आर्थिक वर्षको पहिलो ६.५ महिनामा १.४ गुणामा झरेको छ ।

त्यस्तै बाह्य दायित्व र अचल खुद सम्पत्तिको अनुपात पनि घट्दो क्रममा छ । २०७७/७८ मा २.३ गुणा रहेको यो अनुपात २०७८/७९ मा २.९, २०७९/८० मा २.६, २०८०/८१ मा २.३ र चालु आर्थिक वर्षमा २.२ मा झरेको छ ।

त्यस्तै ऋण सेवा कभरेज अनुपात पनि उल्लेखनीय रूपमा सुधारिएको छ । २०७७/७८ मा ०.६ रहेको यो अनुपात क्रमशः १.६, २.०, २.६ हुँदै ३.९ मा पुगेको छ।

कम्पनीको नेट वर्किङ क्यापिटल अनुपात पनि सकारात्मक हुँदै गएको छ । २०७७/७८ मा यो अनुपात १० प्रतिशत, २०७८/७९ मा –५ प्रतिशत (ऋणात्मक), २०७९/८० मा ० प्रतिशत, २०८०/८१ मा ६ प्रतिशत र चालु आर्थिक वर्षको पहिलो ६.५ महिनामा ७ प्रतिशत पुगेको छ । चालु अनुपात (करन्ट रेसियो) पनि २०७७/७८ मा ०.५९, २०७८/७९ मा ०.४३, २०७९/८० मा ०.६२, २०८०/८१ मा ०.८४ र हाल १.०७ पुगेको छ ।

हाल बुद्ध एयरको मुख्य फोकस आन्तरिक उडानमै छ । देशभित्रको गन्तव्यहरूसम्मको उडानमा विश्वसनीयताको ब्रान्ड बनाइसकेको यो कम्पनीले सीमित रूपमा भारतका दुई सहर—कोलकाता र वाराणसीसम्म अन्तर्राष्ट्रिय सेवा दिइरहेको छ । बुद्ध एयरले नेपालको घरेलु हवाई उद्योगमा लगभग २८ वर्षदेखि सेवा दिँदै आएको छ ।

वायुयानहरूको संख्या उद्योगमा सबैभन्दा धेरै रहेको कारणले पनि बुद्ध एयरले सधैं बलियो बजार स्थिति कायम राख्न सफल भएको छ । २०२४ मा कम्पनीको बजार हिस्सा करिब ६० प्रतिशत रहेको छ।

कम्पनीले कुल ३ अर्ब ८ करोड ९१ लाख रुपैयाँ र १८.७४ मिलियन अमेरिकी डलर कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीले १ अर्ब ३० करोड ९१ लाख रुपैयाँ र १८.७४ मिलियन अमेरिकी डलरमा दीर्घकालिन ऋण लिएको छ। यस्तै, अल्पकालीन ऋणतर्फ कम्पनीले ८७ करोड रुपैयाँ अल्पकालीन, ८२ करोड ९९ लाख रुपैयाँ ओभरड्राफ्ट र ८ करोड रुपैयाँ बैंक ग्यारेन्टी लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*