सुनचाँदीमा करको विरोध चर्किंदैः व्यवसायीको अनिश्चितकालीन आन्दोलनले न्यूरोड ठप्प, सरकार मौन

१८ असार २०८२, बुधबार ११:०४

काठमाडौं । पछिल्ला केहि साता यता राजधानी काठमाडौंसहित देशका विभिन्न मुख्य सहरहरू सुनचाँदी व्यवसायीहरूको आन्दोलनको चपेटामा परेका छन् । नेपाल सरकारको चालू आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सुनचाँदीका गहनामा थपिएको दुई प्रतिशत विलासिता करको विरोधमा व्यवसायीहरू आक्रोशित बनेर सडकमा उत्रिएका हुन्  ।

यसैको परिणामस्वरूप राजधानीको प्रमुख व्यावसायिक केन्द्र न्यूरोडलगायतका क्षेत्रहरू ठप्प जस्तै बनेका छन् भने दैनिक करोडौंको कारोबार प्रभावित भएको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको अगुवाइमा साना तथा ठूला गहना पसलहरू बन्द गरिँदै आएको छ । व्यवसायीहरूले व्यापार बन्द गरेर व्यापक विरोध प्रदर्शन गरिरहेका छन् भने सरकारको निर्णयप्रति आक्रोश पोखिरहेका छन् ।  सुनचाँदीका गहनामा लागू गरिएको अतिरिक्त कर व्यवसायीहरू र ग्राहक दुवैका लागि अन्यायपूर्ण रहेको भन्दै सम्पूर्ण उद्योग नै संकटमा पार्ने खतरा रहेको बताउँछन् ।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीका गहनामा दुई प्रतिशत विलासिता कर लागू गर्ने निर्णय गरेपछि आन्दोलनले उग्ररूप लिएको हो । व्यवसायीहरूले यो निर्णयको तुरुन्त खारेजीको माग गर्दै असार १३ गतेदेखि अनिश्चितकालीन व्यापार बन्दको घोषणा गरेका छन् । यसअघि सरकारले व्यवसायीहरूसँग गरेको छलफलमा कर नलागाउने वा समायोजन गर्ने संकेत दिइए पनि बजेट संसद्मा पास हुने क्रममा सो माग बेवास्ता गरिएको भन्दै उनीहरूले आन्दोलन पुनः चर्काएका हुन् ।

न्यूरोड क्षेत्र अहिले आन्दोलनको मुख्य केन्द्र बनेको छ । यहाँ दैनिक हजारौं मानिस किनमेल गर्न आउने गर्दछन्, तर पछिल्ला दिनहरूमा सवारीसाधनको आवागमन अवरुद्ध छ भने अधिकांश पसलहरू शटर झारेर बन्द गरिएको छ । व्यवसायीहरूले आफ्नो पसलमा ‘विलासिता कर खारेज गर’, ‘हाम्रो माग पुरा गर’ भन्ने जस्ता नारा अंकित व्यानर टाँसिरहेका छन् । विरोध स्वरूप याली, जुलुस र नाराबाजी समेत भइरहेका छन् । प्रहरीले समेत आन्दोलन नियन्त्रण गर्न विशेष सतर्कता अपनाइरहेको छ तर आन्दोलन अहिलेसम्म शान्तिपूर्ण ढंगले अघि बढिरहेको देखिएको छ ।

व्यवसायीहरूले आफ्नो माग स्पष्ट रूपमा तीन बुँदामा प्रस्तुत गरेका छन् । सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र बहुमूल्य हिरा पत्थरमा लागू गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गरिनुपर्छ, सुनको भन्सार दर ६ प्रतिशतमा स्थिर कायम गर्नुपर्छ र सुनचाँदीको कारोबारका लागि स्पष्ट नीति र कार्यविधि तय गरिनु पर्ने ब्यवसायीहरुको माग छ ।

आन्दोलनको प्रभाव अन्य क्षेत्रमा समेत देखिन थालेको छ । सुनचाँदीका ग्राहकहरू दैनिक रुपमा किनमेल गर्न नसक्दा विवाह, व्रतबन्ध, पूजापाठ जस्ता कार्यमा गहना आवश्यक परेका उपभोक्ता मर्कामा परेका छन् । कतिपय ग्राहकहरू पसलमा गहना अर्डर गरेर तयारी अवस्थामा लिइसके पनि वितरण हुन नसकिरहेको अवस्था देखिएको छ । यसले आम उपभोक्ता र व्यवसायी दुवैलाई अप्ठ्यारोमा पारेको छ ।

महासंघले आन्दोलनका कारण दैनिक रूपमा सुनको मूल्य निर्धारणसमेत प्रभाव पारिएको छ । सामान्य अवस्थामा बिहान १०ः३० बजे नै मूल्य निर्धारण गरिन्थ्यो, तर अब आन्दोलनका कारण अधिकांश व्यवसायी बिहान आन्दोलनमै व्यस्त हुने भएकाले सुनको मूल्य दिउँसो १ बजे तिर निर्धारण गरिन थालेको छ । यसले पनि बजारमा अन्योल थपिएको छ र सटही तथा खुद्रा कारोबार अस्तव्यस्त भएको छ ।

फाइल तस्बिर

सरकारको नजरमा विलासिताको वस्तुका रूपमा लिएको सुनचाँदी नेपाली समाजमा सांस्कृतिक, धार्मिक र पारिवारिक महत्व गहिरो रहेको ब्यवसायीहरुको भनाई रहेको छ । विशेषतः विवाह, व्रतबन्ध र चाडपर्वमा गहना अनिवार्य रूपमा प्रयोग गरिन्छ । यस्तो अवस्थामा गहनालाई विलासिताको वस्तु भनेर कर लगाउनु नै गलत सोच हो भन्ने तर्क उनीहरूको छ । उता, केही आर्थिक विश्लेषकहरू भने सुनचाँदीमा कर लगाउनु राज्यको राजस्व वृद्धिको नीति अन्तर्गत सामान्य प्रक्रिया भएको जिकिर गर्छन् । यद्यपि, सरकार र व्यवसायीबीच संवादको खडेरी कायम रहेको र कुनै सहमति खोजिएको देखिँदैन ।

व्यवसायीहरू आन्दोलित भइरहँदा सरकारी तहबाट भने कुनै चासो देखिएको छैन । सम्बन्धित मन्त्रालय, संसद्मा प्रतिनिधित्व गर्ने कुनै जनप्रतिनिधिले यो विषयमा आवाज उठाएका छैन । संसद्मा बजेट पास हुने क्रममा पनि सुनचाँदी व्यवसायीको मागप्रति बेवास्ता गरिएको आरोप उनीहरूले लगाएका छन् । यस्तो अवस्थामा व्यवसायीहरू सरकारप्रति गहिरो असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

यसबीच सर्वसाधारणमा पनि सुनचाँदीको मूल्य, उपलब्धता र करसम्बन्धी बहस चुलिएको छ । केही उपभोक्ताहरूले सुनलाई विलासिताको वस्तु ठानेर कर तिर्नु स्वाभाविक भएको तर्क गरिरहेका छन् भने अन्य कतिपयले नेपाली सामाजिक संरचनामा सुनको अनिवार्यता औंल्याउँदै यस्तो कर आम जनतामाथिको अन्याय भएको बताइरहेका छन् ।

आन्दोलनको प्रभाव काठमाडौं मात्र नभई पोखरा, बिराटनगर, नेपालगञ्ज, भैरहवा, धनगढीलगायतका प्रमुख सहरहरूमा समेत फैलिएको छ । यहाँका सुनचाँदी व्यवसायीहरू पनि आन्दोलनमा ऐक्यबद्धता जनाउँदै व्यापार बन्द गरेका छन् । सुनचाँदी व्यापारसँग जोडिएको लाखौंको रोजगारी, कर प्रणाली, साना उद्यमीहरू र ग्राहकवर्ग सबै प्रभावित हुने अवस्था सिर्जना भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*