भीरबाट खसेको ढुंगाले अछाममा छाउगोठ रहेकी एक महिला र बालिकाको मृत्यु

काठमाडौं । अछाममा छाउगोठमा सुतेका बेला भीरबाट खसेको ढुङ्गाले किच्दा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएकी छन् । पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मंगलसेन नगरपालिका–६ की सात वर्षीया कविता भण्डारीको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको हो । कविताकी आमा भने घाइते भइ स्थानीय स्वास्थ्यचौकीमा उपचाररत छिन् ।
सुदूरपश्चिममा अझै कायम रहेको छाउगोठ प्रथाका कारण वर्षेनी यस्ता घटनामा महिलाले ज्यान गुमाइरहेका छन् । सर्वोच्च अदालतले नै यसलाई कुप्रथा घोषणा गरेको भए पनि अझैसम्म ग्रामीण क्षेत्रमा अन्धविश्वास र सामाजिक कुसंस्कारकै कारण महिलाहरू छाउगोठमा बस्न बाध्य छन् । सरकारले मुलुकी अपराध संहिता मार्फत छाउगोठ बस्न वा बसाउनेलाई तीन महिना कैद वा जरिवाना वा दुवै सजाय तोकेको भए पनि व्यवहारमा कानुन कार्यान्वयन हुन सकेको छैन ।
अछाम र आसपासका जिल्लामा यसअघि पनि छाउगोठमै बस्दा सर्पले डसेर, चिसोले किटेर, धुवाँले दम बढेर वा बलात्कारको घटनाले महिलाले ज्यान गुमाउने गरेका तथ्यांक सार्वजनिक भएका छन् । प्रहरी र स्थानीय प्रशासनले सयौँ छाउगोठ भत्काइएको दाबी गरे पनि घटनाहरू रोकिएका छैनन् ।
कानुनी व्यवस्था र सरकारी पहल हुँदा हुँदै पनि समाजमा रहेको कुसंस्कार र अन्धविश्वास नहट्दा यस्ता घटनाले निर्दोष महिलाको ज्यान लिँदै आएका छन् । मानव अधिकार र समानताको दृष्टिले समेत अस्वीकार्य यो प्रथाले अझै निरन्तरता पाउनु पीडादायी यथार्थ बनेको छ ।













