विदेशमा शाखा खोल्न बैंकलाई अनुमति दिनुपर्छ : सांसद विनोद चौधरी

१९ असार २०८२, बिहीबार १६:२२

काठमाडौँ । नेपाली काँग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले नेपाली बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशी भूमिमा शाखा खोल्न दिनुपर्ने माग गरेका छन्।

बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया) दफाबार छलफलका क्रममा उनले बैंकको क्षेत्रीय विस्तारलाई विधेयकमा नसमेटिएकोप्रति आपत्ति जनाउँदै यस्तो सुझाव दिएका हुन्।

उनले भन–‘बाफिया ड्राफ्ट दुई वर्षदेखि बनाएर राखिएको छ । अहिले धेरै परिवर्तन भइसकेको छ । बाफिया फिर्ता पठाउनुपर्छ । नयाँ दृष्टिकोणबाट यो विधेयकलाई पुनःड्राफ्ट गर्नुपर्छ । नेपालका बैंकलाई बाहिर समेत जान दिनुपर्छ । अस्टेलिया, मलेसियामा बैंकका शाखा खोल्न दिनुपर्छ । नेपालीको पुँजी नेपाली बैंकले किन संकलन गर्न नपाउनु ?।’

चौधरीले वर्तमान अर्थतन्त्रको अवस्था सुस्त रहेको बताउँदै बैंकहरूसँग प्रशस्त तरलता भए पनि लगानी हुन नसकेको अवस्थामा वैकल्पिक लगानीको ढोका खोल्नुपर्ने आवश्यकता औंल्याए।

उनले सरकार तथा सम्बन्धित निकायले बैंक तथा वित्तीय संस्थाहरूको स्वायत्तता विस्तार गर्नुपर्नेमा जोड दिँदै जनशक्ति, प्रविधि र लगानी क्षमताको भरपुर प्रयोग गरी नेपाली बैंकहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाइनुपर्ने बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*