जीवन बीमा पोलिसी सरेण्डर ११%ले बढ्यो, ११ महिनामा बाहिरियो १३ अर्ब ५४ करोड

काठमाडौं । नेपाली जीवन बीमा क्षेत्रमा बीमा पोलिसी सरेण्डर बढ्दै गएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुबाट साढे १३ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ११ महिनासम्ममा १३ अर्ब ५४ करोड १६ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको हो ।
गत आवको सोही अवधिसम्मको तुलनामा १०.९७ प्रतिशत बीमा पोलिसी सरेण्डर भएका छन् । जीवन बीमा कम्पनीहरबाट गत आवको ११ महिनासम्ममा जीवन बीमकहरुबाट सरेण्डरमार्फत् १२ अर्ब २० करोड ३३ लाख रुपैयाँ बाहिरिएको थियो । बीमा अभिबर्ताहरुले राम्रोसँग बुझाउँन नसक्दा र बीमितहरुले आफ्नो आर्थिक क्षमता भन्दा बढीको प्रिमियम लिएर बीमा गर्दा सरेण्डर बढ्दै गएको जानकार बताउँछन् ।
जीवन बीमा कम्पनीहरुबाट मासिक रुपमा अर्बौ रकम सरेण्डरमार्फत बाहिरिदै गएको छ । बीमा कम्पनीहरुमा नयाँ व्यवसाय थपिदै गएपनि सरेण्डरदर पनि उत्तिकै बृद्धि हुँदै गएको छ । यस्तो दरले जीवन बीमा कम्पनीमा नकारात्मक प्रभाव पार्न सक्ने देखिन्छ । अर्थात् व्यवसाय बढेपनि पोलिसी समर्पण रकम उत्तिकै बढ्दै जाँदा बीमकहरुको व्यवसायमा धक्का पुग्ने दखिन्छ ।
प्राधिकरणका अनुसार ११ महिनाको अवसिधम्म बीमा कम्पनीहरुबाट ९८ हजार ४१ वटा पोलिसी सरेण्डर भएका छन् । जुन यो गत आवको सोही अवधिसम्मको तुलनामा १.९७ प्रतिशत कम हो । गत आवको ११ महिनासम्ममा १ लाख १२ वटा पोलिसी त्याग भएका थिए ।
सरेण्डर रकमसँगै जीवन बीमा कम्पनीहरुमा व्यतित बीमालेख संख्या र रकम उत्तिकै बढ्दै गएको देखिएको छ । पछिल्लो समय बीमालेख नविकरण गर्ने प्रवृत्तिले बीमा क्षेत्रमा समस्या पैदा गरेको छ ।
प्राधिकरणका अनुसार सो अवधिसम्म १२ लाख ४३ हजार ७६९ बीमितले बीमालेख नविकरण नगरेको पाइएको छ । जुन यो दर गत आवको तुलनामा ८.७७ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म ११ लाख ४३ हजार ४७८ बीमितले बीमालेख नविकरण गरेका थिएनन् ।
जेठ मसान्तसम्म व्यतित बीमालेख रकम १०.५४ प्रतिशतले बृद्धि भएको छ । साढे ३६ अर्ब रुपैयाँ बराबरको बीमालेख व्यतित हुँदा बीमा कम्पनीहरुको व्यवसायमा धक्का पुगेको छ ।













