प्रतिकित्ता १०० रुपैयाँमै सन नेपाल लाइफको अवितरित हकप्रद बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज असार २३ गतेदेखि २ लाख २४ हजार ५०६ कित्ता अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाद्वारा बिक्रीमा राखेको छ।
कम्पनीले बिक्रीमा राखेको कुल शेयरमध्ये संस्थापक समूहतर्फको ८० हजार २२२ कित्ता र सर्वसाधारण समूहतर्फको ४ हजार ४९ कित्ता शेयर लकइनमा रहेको छ र यसको लकइन अवधि आगामी वर्षको भदौ १४ गते समाप्त हुनेछ। यता सर्वसाधारण समूहकै १ लाख ४० हजार ४५७ कित्ता शेयर भने लकइनमा छैन।
कम्पनीले यी शेयरहरू प्रतिकित्ता न्यूनतम १०० रुपैयाँका दरले बिक्री गर्न लागेको हो। यसमा इच्छुक जोकोहीले पनि खरीदका लागि आवेदन दिन सक्नेछन्।
आवेदन दिंदा सर्वसाधारणतर्फ घटीमा १०० कित्ता र संस्थापकतर्फ घटीमा १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने बढीमा जसतर्फको शेयर खरीद गर्ने हो सोको सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम मिति साउन ३० गते तोकिएको छ।
आवेदन फाराम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको ठमेल कार्यालय, सन नेपाल लाइफको पुतलीसडक कार्यालय र सन नेपाल लाइफकै बिराटनगर, वीरगंज, पोखरा, बुटवल, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयमा पाइनेछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।














