एशियन लाइफको हकप्रद शेयर आजदेखि बिक्रीमा

२५ असार २०८२, बुधबार ०७:०६

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (असार २५ गते) देखि ४२ प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले जम्मा १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर १ बराबर ०.४२ का दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

हकप्रद शेयर निष्कासनका लागि कम्पनीले जेठ १६ गते १ दिन बुक क्लोज गरिसकेको छ। यसर्थ जेठ १४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति साउन १३ गते तोकिएको छ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले एशियन लाइफलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग दिएको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित संकेत गर्दछ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आवेदकले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकको बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, खुर्देत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एशियन लाइफको कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सबै आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले बनाएको ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल यस कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*