आइएमई लाइफ इन्स्योरेन्सको रेटिङ यथावत्

२९ असार २०८२, आईतवार ११:०५

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रेटिङ यथावत् राखिएको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीलाई यसअघि प्रदान गरिएको ‘केयर एनपी ट्रिपल बी प्लस (इस्युअर रेटिङ)’ पुनः पुष्टि (रि अफर्म) गरेको हो।

‘केयर एनपी ट्रिपल बी प्लस (इस्युअर रेटिङ)’ पाएका कम्पनीहरूलाई नेपालमा समयमै वित्तीय दायित्व पूरा गर्ने मामिलामा मध्यम स्तरको सुरक्षा प्रदान गर्ने संस्था मानिन्छ। यस्तो रेटिङले मध्यम क्रेडिट जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको समग्र वित्तीय अवस्था, व्यवस्थापनको दक्षता, बजारमा रहेको उपस्थितिको प्रभाव, बीमा दाबी तिर्ने क्षमताजस्ता विभिन्न पक्षको मूल्याङ्कनका आधारमा रेटिङ दिएको हो। कम्पनी प्रिमियम संकलन, लगानीको विविधिकरण, जोखिम व्यवस्थापन र दाबी भुक्तानी क्षमताजस्ता पक्षहरू सन्तोषजनक देखिएको उल्लेख गरिएको छ। यही आधारमा कम्पनीको हालको रेटिङ यथावत् राखिएको हो।

आर्थिक वर्ष २०८१।०८२ को पहिलो नौ महिनासम्म (अर्थात् साउनदेखि चैतको अन्त्यसम्म) कम्पनीको लेखा परीक्षण नभएको वित्तीय प्रदर्शन पनि सन्तोषजनक देखिएको उल्लेख गरिएको छ। त्यस्तै, आर्थिक वर्ष २०८० को अन्त्यसम्म कम्पनीको सॉल्भेन्सी प्रोफाइल नियामक मापदण्डभन्दा उच्च अवस्थामा रहेको र कम्पनीसँग पर्याप्त वित्तीय सुरक्षा रहेको केयर रेटिङ्स नेपाल लिमिटेडको भनाइ छ।

रेटिङले आइएमई लाइफको बलियो प्रवर्द्धक समूह, अनुभवी सञ्चालक समिति र व्यवस्थापन टोली, लगानी पोर्टफोलियोको सन्तोषजनक गुणस्तर, पर्याप्त रिइन्स्योरेन्स तथा शाखा सञ्जाल विस्तारमार्फत भौगोलिक उपस्थिति विस्तार भएको पक्षलाई पनि सकारात्मक रूपमा मूल्याङ्कन गरेको छ।

आगामी दिनमा कम्पनीले आफ्ना बीमा योजनाहरू विविधिकरण गर्दै लगानी पोर्टफोलियोको गुणस्तर कायम राख्न सक्ने क्षमताले रेटिङको भविष्य निर्धारण गर्नेछ। साथै, कम्पनीले सधैं नियामकीय सॉल्भेन्सी अनुपातमा पर्याप्त सुरक्षित अन्तर कायम राख्न सक्ने कि नसक्ने भन्ने पक्ष पनि रेटिङको महत्त्वपूर्ण संवेदनशीलता हुने जनाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*