सिमेन्ट बजारमा होङ्शी शिवम् सिमेन्टको दबदबा, ९ महिनामा ९ अर्ब २५ करोडको व्यापार

२९ असार २०८२, आईतवार १३:४८

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ९ महिनाको अवधिमा होङ्शी शिवम् सिमेन्ट लिमिटेडले ९ अर्ब २५ करोड १० लाख रुपैयाँको व्यापार गर्दै सशक्त उपस्थिति जनाएको छ । नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग  होङ्शी कम्पनीले निर्माण क्षेत्रका लागि अत्यावश्यक सिमेन्ट उत्पादन तथा बिक्रीका माध्यमबाट व्यापारमा सन्तोषजनक परिणाम हासिल गरेको हो ।

शिवम् होल्डिङ्ग्ससँग आबद्ध होङ्सी शिवम् सिमेन्ट प्राइभेट लिमिटेड नेपालको एक प्रमुख एकीकृत सिमेन्ट उत्पादक कम्पनी हो । यो कम्पनीको स्थापना सन् २०१५ सेप्टेम्बर महिनामा भएको हो । होङ्शी शिवम् नेपालमा स्थापनापछि छोटो समयमै उल्लेखनीय पहिचान बनाएको कम्पनी हो ।

कम्पनीले क्लिंकर र सिमेन्ट दुवै उत्पादन गर्छ । क्लिंकर उत्पादन क्षमता वार्षिक २० लाख मेट्रिक टन र सिमेन्ट ग्राइन्डिङ क्षमता वार्षिक २३ लाख मेट्रिक टन रहेको छ । नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा अवस्थित उद्योगले सामान्य पोर्टल्यान्ड सिमेन्ट र पोर्टल्यान्ड पोज्जोलाना सिमेन्ट ’होङ्सी’ ब्राण्डमा उत्पादन गर्दै आएको छ ।

गत आर्थिक वर्ष २०८०।०८१ मा कम्पनीले ११ अर्ब ९२ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो । शिवम् होङ्शीले हालको आर्थिक मन्दी, निर्माण क्षेत्रको सुस्तता, विद्युत आपूर्तिको अवरोध र नीतिगत अन्योलजस्ता चुनौतीका बाबजुद आफ्नो व्यापारिक गति कायम राख्न सफल भएको छ । जब अन्य सिमेन्ट कम्पनीहरू वित्तीय संकटमा फँसिरहेका छन् र घाटा बेहोरिरहेका छन्, शिवम् होङ्शीले भने उत्पादन क्षमता, बजार पहुँच र ग्राहक विश्वासमा निरन्तर सुधार गर्दै कारोबार विस्तार गरेको छ ।

हालको अवधिमा कम्पनीको सञ्चालन नाफा मार्जिन २३ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १७ प्रतिशतभन्दा बढी हो ।

कम्पनीको कुल ऋण र मूर्त स्वपुँजी अनुपात क्रमशः घट्दै गएको छ । आर्थिक वर्ष २०७७/७८ मा यो अनुपात ०.४८ रहेकोमा हाल ०.२४ मा झरेको छ । कम्पनीको कुल बाह्य दायित्व र स्वपुँजीको अनुपात पनि ०.५१ मा सीमित छ, जुन जोखिम न्यून स्तरमा रहेको मानिन्छ ।

सञ्चालन नाफा र ऋणको अनुपात समेत सकारात्मक सुधार देखिएको छ । २०७९/८० मा यो अनुपात ४.१० रहेकोमा हाल घटेर १.५४ मा झरेको छ । यसले ऋणको दायित्व बहन गर्न कम्पनी सक्षम बन्दै गएको संकेत देखिएको छ ।

कम्पनीको ब्याज भुक्तानी क्षमताको सूचक समेत उल्लेखनीय रूपमा सुधार भएको छ । सन् २०२३ मा यो सूचक १.७१ मात्र रहेकोमा हाल ६.९० पुगेको छ । यस्तै, ऋण सेवा कवरेज अनुपात पनि ०.५१ बाट बढेर ०.७५ मा पुगेको छ ।

कम्पनीले आफ्नो कार्यशील पूँजी र सञ्चालन आम्दानीको अनुपात २२–३० प्रतिशतको सीमामा राख्न सफल भएको छ । यस्तै, कम्पनीको चालु अनुपातक पुनः १.०१ मा पुगेको छ, जुन विगतको ०.८२ सापेक्ष सुधार हो ।

दिगो पूर्वाधार विकास र भौतिक निर्माणको माग वृद्धिसँगै नेपालको सिमेन्ट बजारमा होङ्सी शिवम् सिमेन्टको प्रभाव अझै विस्तार हुने अपेक्षा गरिएको छ । कम्पनी होङ्शी समूहको हिस्सा हो (हङकङ रेड लायन सिमेन्ट नं. ३ लिमिटेडमार्फत ७० प्रतिशत स्वामित्व), जसले चीनमा करिब ५० वटा ठूलो मात्राको सिमेन्ट उद्योग सञ्चालन गर्छ ।

होङ्शी समूहको लाओस, इन्डोनेसिया र म्यानमार लगायतका देशहरूमा पनि उपस्थिति छ। समूहको सिमेन्ट उद्योगमा व्यापक अनुभव र कम्पनीको अनुभवी सञ्चालक तथा प्रबन्धनले प्रविधि र नीतिका हिसाबले समूहका उत्कृष्ट अभ्यासहरू अपनाएर कम्पनीलाई राम्रो व्यवसायिक प्रदर्शन कायम राख्न सहयोग गर्ने सम्भावना छ।

साथै, कम्पनीमा ३० प्रतिशतस्वामित्व नेपालका शिवम् होल्डिङ्स लिमिटेडको छ, जुन शिवम् सिमेण्ट्स लिमिटेडको करिब ८५ प्रतिशत स्वामित्वमा रहेको छ । नेपाली सिमेन्ट उद्योगमा स्थापित र बलियो खेलाडी मानिने यी दुबै प्रवद्र्धक समूहहरूको साझा ब्रान्ड छवि र अनुभव कम्पनीको लागि सकारात्मक पक्ष बनेको छ ।

इक्रा नेपालले होङ्शी शिवम् सिमेन्ट प्रा.लि.लाई [ICRANP] A2+ (ICRA NP A टू प्लस) छोटो अवधि ऋणको लागि रेटिङ प्रदान गरेको छ। यसका साथै, कम्पनीलाई पहिले दिइएको दीर्घकालीन [ICRANP] LA@ (ICRA NP L A ‘@’) रेटिङ फिर्ता गरिएको छ। कम्पनीको दीर्घकालीन ऋण सीमा २ अर्ब ३२ करोड ६० लाख रुपैयाँ बराबरको थियो, जुन अहिले हटाइएको छ। नयाँ रूपमा, ६ अर्ब रुपैयाँ बराबरको छोटो अवधि ऋण सीमा कायम गरिएको छ र सो ऋण सीमा अन्तर्गत [ICRANP] A2+ रेटिङ प्रदान गरिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*