एशियन लाइफ इन्स्योेरेन्सको १७औं वार्षिक सभा सम्पन्न, अध्यक्ष श्रेष्ठसहित ५ जना सञ्चालक निर्धिरोध निर्वाचित

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठको अध्यक्षतामा सभा बाराको सिमरास्थित होटल ईच्छामा आज सम्पन्न भएको हो ।
सञ्चालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन साधारण सभाको बहुमतले पारित गरेको छ ।
साधारण सभाले आर्थिक वर्ष २०८०–८१ सम्मको संचित मुनाफाबाट कम्पनीको चुक्ता पूँजी तीन अर्ब ३९ करोड ९८ लाख रुपैयाँको बोनस शेयर ५.१० प्रतिशतले हुन आउने १७ करोड ३३ लाख बराबरको बोनश शेयर र बोनश शेयर तथा नगद लाभांशवापत कर प्रयोजनका लागि ०.२६८४ प्रतिशतले हुन आउने ९१ लख २५ हजार नगद लाभांश पारित गरेको छ ।
यसैगरी आर्थिक वर्ष २०८०–८१ (एनएफआरएस बमोजिम) आषाढ मसान्तसम्मको वासलात,नाफा/नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुसूचिहरु माथि छलफल सहित पारित भएको छ ।
साधारण सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी ‘समूह क’ बाट दिपक कुमार श्रेष्ठ, सुशान्त चाचान र अच्युतराज सापकोटा तथा सर्वसाधारण शेयरधनी ‘समूह ख’ बाट प्रतिनिधित्व गर्ने संचालक पदमा शौरभ रुंगटा र शिला राजभण्डारीलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
साधारण सभाबाट आर्थिक वर्ष २०८१–०८२ को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धि प्रस्ताव समेत पारित भएको छ । साधारण सभाको निर्णय कार्यान्वयनको लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित भएको छ ।
साधारण सभाबाट निर्वाचित नयाँ सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा दिपक कुमार श्रेष्ठलाई निर्विरोध चयन गरेको छ । सो बैठकले सञ्चालक समितिको स्वतन्त्र सञ्चालक पदमा हेम बहादुर कार्कीलाई मनोनित गर्ने निर्णय समेत गरेको छ ।













