सुनचाँदी कारोबारमा कडाई: ग्राहकको परिचयपत्र अनिवार्य, उल्लंघनमा करोडसम्म जरिवाना

१ श्रावण २०८२, बिहीबार १४:२९

काठमाडौँ । अब सुनचाँदी लगायतका बहुमूल्य धातु तथा वस्तु खरिद बिक्री गर्ने व्यवसायीहरू (सूचक संस्था) ले प्रत्येक ग्राहकको पहिचान कडाइका साथ गर्नुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले २०८२ सालमा जारी गरेको निर्देशनमा वित्तीय प्रणालीको दुरुपयोग रोक्नका लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी प्रावधान थप सशक्त पारिएको हो ।

निर्देशन अनुसार बहुमूल्य धातु वा वस्तु खरिद बिक्री गर्ने व्यवसायीहरूले ऐनको दफा ७(क) को उपदफा (४) बमोजिम ग्राहकको पहिचान अनिवार्य रुपमा नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रमार्फत गर्नुपर्नेछ । उक्त प्रमाणपत्रको विद्युतीय अभिलेखमा नागरिक एपमार्फत पहुँच प्राप्त गरी वा डिजिटल प्रणालीबाट पहिचान र सोको सम्पुष्टि गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै, नियमावलीको नियम ३ को उपनियम (२) वा (३) अनुसार राष्ट्रिय परिचयपत्रमा उल्लेखित मोबाइल नम्बर, डिजिटल ल्याप्चे वा हस्ताक्षरबाट समेत पहिचान पुष्टि गर्न सकिनेछ । तर, यस्ता माध्यमबाट ग्राहकको पहिचान सम्भव नभएमा आन्तरिक व्यवस्थामार्फत पहिचान प्रक्रिया मिलाउनुपर्ने भनिएको छ ।

एक दिनमा १० लाख रुपैयाँ वा सोभन्दा कम कारोबार गर्ने ग्राहकको विवरण लिने कि नलिने भन्ने सम्बन्धमा सूचक संस्थाले आवश्यक नीति तथा कार्यविधि तय गर्नुपर्नेछ । तर, नियमावलीको नियम ९ अनुसार सरलिकृत पहिचान सम्भव नभएको अवस्थामा अनिवार्यरूपमा ग्राहकको पहिचान तथा सम्पुष्टि गर्नैपर्ने व्यवस्था गरिएको छ ।

सूचक संस्थाले जोखिमयुक्त ग्राहकहरूको पहिचान अझै सजगताका साथ गर्नुपर्नेछ । विशेषतः उच्च पदस्थ व्यक्ति, उनीहरूको परिवार वा सम्बद्ध व्यक्तिहरू, शंकास्पद गतिविधिमा संलग्न देखिएका ग्राहकहरू, सूचिकृत व्यक्ति, समूह वा संस्थाहरूको पहिचान स्पष्ट गर्नुपर्नेछ ।

त्यस्तै, कुनै पनि व्यक्ति बेनामी वा काल्पनिक नाममा कारोबार गर्न नपाउने स्पष्ट व्यवस्था छ । व्यावसायिक सम्बन्ध स्थापनाका बेला, एकै दिनमा १० लाख रुपैयाँभन्दा बढी कारोबार हुँदा, पहिचान विवरणमा शंका लागेमा, सम्पत्ति शुद्धीकरण वा आतङ्ककारी कार्यको शंका लागेमा वा विभागले तोकेको कुनै कार्य गर्दा पनि ग्राहकको पहिचान सप्रमाण पुष्टि गर्नुपर्नेछ ।

उच्च जोखिम भएका ग्राहकको पहिचान विवरण प्रत्येक ६ महिनामा एकपटक अद्यावधिक गर्नुपर्नेछ । त्यस्तै, ग्राहकको पहिचान विवरणअनुसार कारोबार मेल नखाएमा वा जानकारीको सत्यतामा शंका लागेमा तत्काल पहिचान अद्यावधिक गर्नुपर्नेछ । जोखिमअनुसार नै अद्यावधिक प्रक्रिया सूचक संस्थाले स्वयं निर्धारण गर्न सक्नेछ ।

अद्यालयको अभिलेख अद्यावधिक गर्दा प्रत्यक्ष, अप्रत्यक्ष तथा अनौपचारिक सूचनाको विश्लेषण, वित्तीय जानकारी इकाइमा पठाउनुपर्ने न्यूनतम विवरण संकलन, तथा अभिलेख अद्यावधिक हुन नसकेका ग्राहकको छुट्टै सूची तयार गर्नुपर्नेछ ।

संस्थाले खरिद बिक्री गर्दा लिने रकम वा दिने भुक्तानीमा विद्युतिय माध्यमलाई प्राथमिकता दिनुपर्नेछ ।विद्युतिय माध्यम मार्फत हुने भुक्तानीमा कुनै सीमा रहेको भएमा बहुमूल्य धातु वस्तु खरिद बिक्री गर्ने सूचक संस्थाको सन्दर्भ उल्लेख गरी सीमा थप हुने व्यवस्था विभागले नेपाल राष्ट्र बैंकलाई अनुरोध गरी आवश्यक व्यवस्था मिलाउने जनाएको छ ।

ग्राहक पहिचानसम्बन्धी कानुनी व्यवस्था कार्यान्वयन नगर्ने सूचक संस्थामाथि कडा कारबाही हुने व्यवस्था छ । पहिलो पटक लिखित चेतावनी दिइनेछ । दोस्रो पटक एक लाख रुपैयाँ जरिवाना, तेस्रो पटक १० लाखदेखि गम्भीरताका आधारमा ५० लाख वा एक करोड रुपैयाँसम्म जरिवाना हुन सक्नेछ । त्यसपछि जरिवानासहित दर्ता खारेजीसम्मको कारबाहीको व्यवस्था गरेको छ ।

बेनामी वा काल्पनिक नाममा कारोबार गर्नेलाई पहिलो पटकमै एक लाख रुपैयाँ जरिवाना, दोस्रोमा १० लाखदेखि एक करोडसम्म जरिवाना र त्यसपछि दर्ता खारेजीसम्म कारबाही गरिने जनाएको छ ।

त्यस्तै, उच्चपदस्थ व्यक्तिको पहिचान प्रणालीको अभाव, वास्तविक धनीको पहिचान तथा अद्यावधिक नगरेमा, जोखिम मूल्यांकन तथा व्यवस्थापन नगरेमा वा निर्देशनअनुसारका अभिलेख राख्न नसकेमा पनि पहिलो पटक चेतावनी त्यसपछि जरिवाना र अन्त्यमा संस्था दर्ता खारेज हुने सजाय व्यवस्था गरिएको छ ।

सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी रोक्नका लागि बहुमूल्य धातु तथा वस्तुको कारोबार गर्ने व्यवसायीहरूमाथि आन्तरिक राजस्व विभागले कडाइ थालेको छ । अब सूचक संस्थाहरूले ग्राहक पहिचान, जोखिम मूल्यांकन र वास्तविक धनीको पहिचान गर्न नसके वा गर्न आलटाल गरे कानुनी कारबाहीको घेरामा पर्नेछन ।

431375501

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*