अस्पतालको ३८ लाख हिनामिना गरेको आरोपमा अस्पताल र बैंकका ५ कर्मचारी पक्राउ

३० बैशाख २०८३, बुधबार १३:४९

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका स्थित आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाको रकम हिनामिना गरेको आरोपमा अस्पताल तथा बैंकका पाँच जना कर्मचारी पक्राउ परेका छन्।

वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा अस्पतालको सेवा शुल्क र फार्मेसीबाट औषधि बिक्री गरी उठेको रकम बैंकमा जम्मा नगरी हिनामिना गरिएको उजुरीपछि अनुसन्धान अघि बढाइएको हो। शिवराज नगरपालिकाले २०८३ वैशाख ४ गते आर्थिक कारोबारमा अनियमितता भएको भन्दै अनुसन्धानको माग गरेको थियो। त्यसपछि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा अस्पतालबाट उठेको रकम नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखामा जम्मा गर्ने प्रक्रिया शंकास्पद देखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विभिन्न मितिका १२९ वटा भौचरमार्फत जम्मा गरिएको देखाइएको कुल ३८ लाख १९ हजार ७७० रुपैयाँ बैंकमा वास्तविक रूपमा भने जम्मा नै नभएको पाइएको छ। लेखापरीक्षणका क्रममा फाइलमा बैंक भौचर भेटिए पनि सो बराबरको रकम भने बैंक खातामै नपुगेको खुलेको हो। यस विषयमा शिवराज नगरपालिका–५ का वडा अध्यक्ष तथा अस्पताल सञ्चालन एवं व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद बेल्बासेले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

प्रहरीले सरकारी अस्पतालको नक्कली भौचर बनाएर संगठित रूपमा ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा शिवराज नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ५५ वर्षीय चुडामणि भट्टराई, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ३० वर्षीय डा. अमित पाण्डेय, नेपाल बैंक चन्द्रौटा शाखामा कार्यरत क्यासियर ३४ वर्षीय कमलप्रसाद भण्डारी, अस्पतालकी फार्मेसी सहायक ३७ वर्षीया रुक्सना खातुन तथा नेपाल बैंकका कर्मचारी ३५ वर्षीय विक्रम केसी रहेका छन्। प्रहरीले पक्राउ परेकामाथि ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*