टाटा ब्रान्डको माग बढेसँगै सिप्रदी हायर पर्चेजको कारोबार वृद्धि, ९ महिनामा ३९ करोड व्यापार

४ श्रावण २०८२, आईतवार १२:३०

काठमाडौँ । टाटाका गाडीहरू नेपाली बजारमा सर्वाधिक बिक्री वितरण हुन थालेसँगै सिप्रदी ट्रेडिङको सहायक कम्पनी सिप्रदी हायर पर्चेजको कारोबार उल्लेखनीय रुपमा वृद्धि भएको छ । सन् २०१४ मा स्थापना भएको किस्ताबन्दी (हायर पर्चेज) वित्तीय संस्था सिप्रदी हायर पर्चेजले सन् २०२५ को पहिलो ९ महिनामा मात्र ३९ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो ।

टाटाका गाडी खरीद गर्ने ग्राहकहरूका लागि फाइनान्सिङ सेवा प्रदान गर्दै आएको यो कम्पनीको व्यापार पछिल्ला केही वर्षयता निरन्तर वृद्धि हुँदै आएको छ । यसअघि कम्पनीले सन् २०२२ मा ४९ करोड ४० लाख, सन् २०२३ मा ५२ करोड ३० लाख र सन् २०२४ मा ५८ करोड रुपैयाँको व्यापार गर्न सफल भएको थियो । नेपाली अटोमोबाइल बजारमा टाटा ब्रान्डप्रति उपभोक्ताको बढ्दो आकर्षणका कारण कम्पनीको व्यापार र वित्तीय सूचकहरूमा समेत सकारात्मक प्रभाव देखिएको हो । विशेष गरी व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने सवारी साधनमा टाटाले आफ्नो बलियो उपस्थिति जमाउन सफल भएकाले सिप्रदी हायर पर्चेजको कारोबार वृद्धि निरन्तर जारी रहेको देखिएको छ ।

कम्पनी सिप्रदी ट्रेडिङको १०० प्रतिशत स्वामित्वमा रहेको छ, जुन नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक हो । चार दशकभन्दा लामो समयदेखि अटोमोबाइल क्षेत्रमा सक्रिय सिप्रदी समूहको सहायक कम्पनीको रुपमा रहेको सिप्रदी हायर पर्चेज नेपाल राष्ट्र बैंकको मार्गदर्शन अनुसार सञ्चालित छ । हाल कम्पनीको अध्यक्षतामा सिद्धार्थ एसजेबी राणा रहेका छन् ।

सिप्रदी हायर पर्चेजले मुख्यतया सिप्रदी ट्रेडिङमार्फत विक्री हुने व्यावसायिक सवारी साधनहरूमा किस्ताबन्दी सुविधा प्रदान गर्दै आएको छ । कम्पनीको शुद्ध सम्पत्तिमा समेत क्रमिक सुधार देखिएको छ । सन् २०२१ मा ७८ करोड ४० लाख रुपैयाँ रहेको शुद्ध सम्पत्ति सन् २०२४ मा बढेर १ अर्ब १४ करोड ६० लाख रुपैयाँ पुगेको थियो भने हाल चालु वर्षको ९ महिनामा १ अर्ब १२ करोड ३० लाख रुपैयाँ कायम भएको छ ।

यसैगरी, कम्पनीले किस्ताबन्दीमा लगानी गरेको कुल व्यवस्थापित पोर्टफोलियो सन् २०२१ मा ४ अर्ब ३५ करोड ६० लाख रुपैयाँबाट सन् २०२४ मा ३ अर्ब ६४ करोड ४० लाख रुपैयाँमा घटे पनि पछिल्लो अवधिमा पुनः सुधार हुँदै हाल ३ अर्ब ९८ करोड ३० लाख रुपैयाँ पुगेको छ । कम्पनीको व्यवस्थापित सम्पत्ति पनि क्रमशः वृद्धि हुँदै सन् २०२४ मा ४ अर्ब ७ करोड ३० लाख पुगेको थियो, जुन अहिले ४ अर्ब ५२ करोड ४० लाख रुपैयाँमा उक्लिएको छ ।

सम्पत्तिको उपयोगबाट प्राप्त भएको प्रतिफलमा समेत उल्लेखनीय सुधार देखिएको छ । सन् २०२१ मा मात्र १.१ प्रतिशत प्रतिफल देखिएकोमा सन् २०२४ मा यो दर ७ प्रतिशत पुगेको हो, भने चालु आर्थिक वर्षको ९ महिनामा २.६ प्रतिशत कायम छ ।

बक्यौता तिर्न ढिलाइ गर्ने ग्राहकको संख्या पनि घट्दै गएको देखिन्छ । सन् २०२१ मा ९० दिनभन्दा बढी बक्यौता दर ४९.२ प्रतिशत रहेकोमा हाल यो घटेर १७.६ प्रतिशतमा झरेको छ । त्यसैगरी, शुद्ध गैरप्रदर्शनकारी सम्पत्ति (नेट एनपीए) सन् २०२१ मा १४.७ प्रतिशतबाट घट्दै सन् २०२४ मा १.५ प्रतिशतमा झरेको छ भने चालु वर्षको ९ महिनामा २.३ प्रतिशतमा सीमित छ ।

सिप्रदी ट्रेडिङ नेपालमा टाटा मोटर्स, इक्साइड ब्याट्री र म्याक लुब्रिकेन्ट्सको एकमात्र आधिकारिक वितरक हो । साथै, सिप्रदी ट्रेडिङले सिप्रदी हायर पर्चेजलाई उपलब्ध गराएको कर्पोरेट ग्यारेन्टी मार्फत कम्पनीले लिएको सम्पूर्ण क्रेडिट लाइन (ऋण सीमा) मा सुरक्षा प्रदान गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*