वैदेशिक व्यापारमा उत्साहजनक सुधार: निर्यात ८१ प्रतिशतले बढ्दा व्यापार घाटामा भने अझै दबाब

६ श्रावण २०८२, मंगलवार १२:१७

काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ (साउनदेखि असारसम्म) को वार्षिक विवरणअनुसार नेपालको वैदेशिक व्यापारमा केही सकारात्मक संकेत देखिएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष निर्यात तथा कुल वैदेशिक व्यापारमा उल्लेखनीय वृद्धि भएको देखिएको हो ।

भन्सार विभागद्वारा प्रकाशित तथ्याङ्कअनुसार २०८०/८१ मा १५ खर्ब ९२ अर्ब ९८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएकोमा २०८१/८२ मा यो रकम १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । यसरी हेर्दा आयात १३.२५ प्रतिशतले बढेको हो ।

२०८०/८१ मा १५ अर्ब २३ करोड रुपैयाँको वस्तु निर्यात भएकोमा २०८१/८२ मा यो २७ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । निर्यातमा ८१.८० प्रतिशतको वृद्धिले समग्र वैदेशिक व्यापारमा सकारात्मक संकेत दिएको छ ।

यद्यपि, निर्यात वृद्धि भए पनि व्यापार घाटा अझै उच्चस्तरमै कायम छ । विगत आर्थिक वर्षमा १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ बराबरको व्यापार घाटा रहेकोमा २०८१/८२ मा यो घाटा १५ खर्ब २७ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । यसरी ६ प्रतिशत व्यापार घाटा वृद्धि भएको छ ।

कुल वैदेशिक व्यापारको मूल्यगत रूपमा पनि वृद्धि भएको छ । २०८०/८१ मा कुल वैदेशिक व्यापार १७ खर्ब ४५ अर्ब ३६ करोड रुपैयाँ रहेकोमा यो वर्ष २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । कुल वैदेशिक व्यापारमा १९.२४ प्रतिशत वृद्धि देखिएको हो ।

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा बढेको छ । २०८०/८१ मा निर्यातको हिस्सा ८.७३ प्रतिशत थियो भने २०८१/८२ मा यो १३.३१ प्रतिशत पुगेको छ, जसले ५२.४७ प्रतिशतको वृद्धिलाई देखिएको छ ।

त्यस्तै, आयातको हिस्सा २०८०/८१ मा ९१.२७ प्रतिशत रहेकोमा यो वर्ष घटेर ८६.६९ प्रतिशतमा सीमित भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*