व्यवसाय ग्रोथमा आक्रामक अटो बजारः वर्षदिनमा ३१ अर्बको ईभी आयात, इन्धन सवारीको अवस्था कस्तो?

६ श्रावण २०८२, मंगलवार १३:२५

काठमाडौँ । नेपाली अटो बजार पछिल्लो समय सुधारको बाटोमा अघि बढिरहेको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्कले देखाएअनुसार सवारीसाधनको आयातमा निरन्तर वृद्धि भइरहेको छ । विशेष गरी विद्युतीय सवारीसाधन (ईभी) को आयात उल्लेखनीय दरमा बढ्दै गएको छ, जसले सम्पूर्ण अटो क्षेत्रमै सकारात्मक संकेत दिएको छ । बजारमा नयाँ प्रविधिमा आधारित गाडीप्रतिको आकर्षण बढेसँगै व्यवसायमा पनि चहलपहल देखिन थालेको छ ।

विद्युतीय सवारीको प्रयोग बढ्न थालेसँगै आवश्यक पूर्वाधार निर्माण पनि तीव्र रुपमा अघि बढिरहेको छ । चार्जिङ स्टेशनहरूको संख्या बढ्दै गएका कारण उपभोक्ताहरू विद्युतीय सवारीप्रति आकर्षित भइरहेका छन् । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय गाडी समेत देश भित्रिन थालेका छन् ।

हाल नेपाली बजारमा विद्युतीय गाडी मुख्यतः चीन, भारत, जर्मनी, अमेरिका, दक्षिण कोरिया र इन्डोनेसियाबाट आयात भइरहेका छन् । ५० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमतासम्मका विभिन्न प्रकारका सवारीसाधन नेपाल भित्रिइरहेका छन् ।

गत आर्थिक वर्ष २०८१।०८२ मा ३१ अर्ब ७५ करोड ३६ लाख रुपैयाँका १३ हजार ५६९ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन् । यसबाट सरकारले १९ अर्ब ७० करोड २६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत वर्ष आयात भएका ईभी अघिल्लो आर्थिक वर्ष २०८०।०८१ को तुलनामा १६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षका २९ अर्ब ४८ करोड २७ लाख रुपैयाँ बराबरको ११ हजारर ७०१ युनिट ईभी गाडी आयात भएका थिए ।

भन्सार विभागका तथ्यांकअनुसार सबैभन्दा धेरै विद्युतीय सवारी चीनबाट आयात भएका छन् । कुल १० हजार २०७ वटा सवारी चीनबाट भित्रिएका छन्, जसले ७५.२२ प्रतिशत हिस्सा ओगटेको छ । तीमध्ये ५० किलोवाटभन्दा कम क्षमताका २ हजार ८३२ वटा, ५१–१०० किलोवाट क्षमताका ६ हजार ९२ वटा, १०१–२०० किलोवाट क्षमताका १ हजार २४९ वटा र ३०० किलोवाटभन्दा बढी क्षमताका २ वटा गाडी रहेका छन् ।

भारतबाट आयात भएका गाडीहरूको संख्या ३ हजार २४६ रहेको छ । तीमध्ये ५० किलोवाटसम्मका एक हजार ८९६ वटा र ५१–१०० किलोवाट क्षमताका एक हजार ३३८ वटा गाडी छन् । अन्य मुलुकहरूमध्ये जर्मनीबाट ३७ वटा, अमेरिकाबाट ११ वटा र दक्षिण कोरियाबाट ६ वटा गाडी आयात भएका छन् ।

नेपाली बजारमा बीवाइडी, नेटा, एमजी, सेरेस, ओरा जस्ता चिनियाँ ब्रान्डहरूसँगै टाटा, हुन्डाइ, महिन्द्रा, कियालगायत भारतीय ब्रान्ड लोकप्रिय छन् । ५०–१०० किलोवाट क्षमताका गाडीहरूमा नेपाली उपभोक्ताहरूको आकर्षण उच्च छ ।

विभागका अनुसार ५१ देखि १०० किलोवाट क्षमताका भएका ईभी धेरै नेपालमा भित्रिएका छन् । वर्षदिनमा ५१ देखि १०० किलोवाट क्षमताका ७ हजार ४३१ वटा गाडी नेपाल आयात भएका हुन् । यसैगरी, ५० किलोवाटसम्मका ४ हजार ७३२ वटा, १०१ देखि २०० किलोवाटसम्मका एक हजार ४३७ वटा, २०१ देखि ३०० किलोवाटसम्मका ४२ र ३०० किलोवाटभन्दा धेरै क्षमता भएका २ वटा ईभी नेपाल आयात भएका हुन् ।

देशभरका प्रमुख राजमार्गहरूमा अधिकतम ६० किलोमिटरको दूरीभित्र चार्जिङ स्टेसनहरू विस्तार भइसकेको छ, जसका कारण नेपालमा विद्युतीय सवारीसाधनको आयात तीव्र गतिमा वृद्धि हुँदै गएको छ । एक व्यवसायीका अनुसार सुरुमा उपभोक्ताहरू चार्जिङ सुविधाबारे अन्योलमा थिए तर समयसँगै पूर्वाधार विस्तार हुँदै गएपछि उनीहरूमा आत्मविश्वास बढेको छ । उनले भने, ‘पहिलोचोटि कसरी र कहाँ चार्ज गर्ने भन्नेमा डर थियो तर अहिले चार्जिङ स्टेसन छिटोछरितो फैलिएको छ । यसले बजारमा उत्साह थपेको छ ।’ सरकार पनि विद्युतीय सवारीमैत्री वातावरण बनाउन सक्रिय देखिएको उनले बताए ।

यता, ईभीको बढ्दो प्रयोगले पेट्रोलियम सवारीसाधनको बजारमा केहि असर परेपनि गत वर्षको तुलनामा भने सुधार देखिएको छ।

इन्धन गाडीको आयात पनि बढेको देखिएको छ । गत आर्थिक वर्ष ६ अर्ब ९३ करोड रुपैयाँ बराबरका ४ हजार ९७८ युनिट इन्धन गाडी आयात भएका छन् । अघिल्लो वर्ष ४ हजार २४६ युनिट इन्धन गाडी आयात भएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*