आइक्यानबाट सिल्भर अवार्ड पाउने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा आइक्यानबाट वार्षिक रूपमा दिइने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ बाट सम्मानित भएको छ।
नेपाल चार्टर्ड एकाउन्टेट्स संस्था (आइक्यान) द्वारा गत शुक्रबार होटल र्याडिसनमा आयोजित एक कार्यक्रमकाबीच महालेखापरीक्षक तोयम राणाले सो अवार्ड कम्पनीलाई दिएका हुन्।
उक्त अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुली र नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) अमित कुमार कयालले संयुक्त रूपमा ग्रहण गरेका थिए।
कम्पनीलाई जीवन बीमा तर्फको विधामा सिल्भर अवार्ड दिइएको हो। जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफको आर्थिक वर्ष २०८०/८१ को वार्षिक वित्तिय प्रतिवेदन उत्कृष्ट रहेकोले सो अवार्ड प्रदान गरिएको हो।
जीवन बीमा कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्स यो अवार्ड प्राप्त गर्ने पहिलो कम्पनी हो। यस अवार्डले कम्पनीको वित्तीय प्रतिवेदन उत्कृष्ट रहेको, प्रकाशित वित्तीय सूचकहरू पर्याप्त रहेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड शिरोधार्य गरेको, वित्तीय पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासनलाई मध्यनजर गरेको झल्काएको छ।
यस अवसरमा कम्पनीका सीईओ प्रवीण रमण पराजुलीले यो अवार्ड पाउँदा गौरवान्वित भएको साथै यसबाट अझ राम्रो गर्दै जानुपर्ने जिम्मेवारी थपिएको बताए। नेपाली जीवन बीमा उद्योगको करीब ३० प्रतिशत बजार हिस्सा ओगट्न सफल यस कम्पनीले वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनलाई आफ्नो केन्द्रबिन्दुमा राख्दै कार्यसम्पादन गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरेका छन्।
सीईओ पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालक, कम्पनीमा बीमा गराएका बीमित, कम्पनीको मेरुदण्डको रूपमा रहेका अभिकर्ता, कम्पनीका कर्मचारी, शेयरधनी, नियामक निकाय लगायत सरोकारवालालाई पनि यसको श्रेय दिएका छन्।














