पुँजीभन्दा ३.२१ गुणा बढी ऋणमा भूगर्भ सिमेन्टः व्यापार समेत सुस्त, लगानीकर्ता फसाउन आइपीओको तयारी

काठमाडौँ । भूगर्भ सिमेन्ट लिमिटेड वित्तीय असन्तुलनको गम्भीर अवस्थाबाट गुज्रिरहेको देखिएको छ । कम्पनीले उत्पादन विस्तार र पूर्वाधारमा धेरै लगानी गरे पनि पुँजीको तुलनामा अत्यधिक ऋण लिएको कारण आर्थिक अस्थिरताको दलदलमा फसेको हो ।
कम्पनीको कुल ऋण र पुँजी अनुपात (ओभरअल गेयरिङ) आर्थिक २०७९/८० मा ५.४९ गुणा रहेकोमा त्यसपछि पनि निकै उच्च दरमा कायम छ । आव २०८०/८१ मा यो अनुपात ३.८८ गुणा रहेको छ भने चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ९ महिनामा पनि अझै ३.२१ गुणामा कायम छ । यो अनुपात कुनै पनि औद्योगिक कम्पनीका लागि अत्यन्तै जोखिमपूर्ण स्थिति मानिन्छ किनभने पुँजीको तुलनामा ऋण धेरै हुँदा वित्तीय व्यवस्थापनमा असहजता उत्पन्न हुन्छ र छोटो अवधिको ऋण चुक्ता गर्न कम्पनीलाई अप्ठ्यारो पर्न सक्ने छ । साथै, वित्तीय संस्थाले समेत नयाँ ऋण प्रवाह गर्न हिचकिचाउने स्थिति आउने देखिएको हो ।
भूगर्भ सिमेन्टको कुल दायित्व र मूर्त नेटवर्थको पनि अत्यधिक उच्च देखिएको छ । आव २०७९/८० मा यो अनुपात ७.३८ गुणा थियो भने आव २०८०/८१ मा ५.५१ र गत आवको पहिलो नौ महिनामा ४.१५ गुणामा झरेको छ । यद्यपि, यो सुधार सकारात्मक नभई ऋण घटाइएको नभएर पुँजीको तुलनात्मक वृद्धिका कारण आएको हो भन्ने देखिएको छ ।
त्यसैगरी, कम्पनीको ब्याज भुक्तानी क्षमता पनि निकै कमजोर रहेको देखिएको छ । आव २०७९/८० मा यसको ब्याज आवरण अनुपात ०.१३ मात्र थियो जुन निकै जोखिमयुक्त अवस्था हो । आव २०८०/८१ मा यो अनुपात १.६८ सम्म पुगेको देखिए पनि गत आर्थिक वर्षको पहिलो नौ महिनामा यो फेरि घटेर १.५३ मा झरेको छ । सामान्यतः कुनै पनि व्यवसायिक इकाइले न्यूनतम २.० गुणाको ब्याज आवरण अनुपात कायम गर्नु आवश्यक हुन्छ भन्ने मान्यता रहँदै आएको छ । तर भूगर्भ सिमेन्टले सो न्यूनतम मापदण्डसमेत पूरा गर्न सकेको छैन ।
यद्यपि, उत्पादनतर्फ कम्पनीले केही विस्तार गरेको देखिएको छ । कम्पनीको सिमेन्ट उत्पादन क्षमता २०८० साउनमा ५०० मेट्रिक टन प्रति दिनबाट बढाएर ७०० मेट्रिक टन पु-याइएको छ भने क्लिङ्कर उत्पादन क्षमता ३०० मेट्रिक टन रहेको बताइएको छ । तर उत्पादन क्षमताको वृद्धिले वित्तीय अवस्थामा तत्काल सुधार ल्याएको देखिँदैन ।
कम्पनीको आम्दानी वृद्धि दर निकै कमजोर देखिएको छ । आव २०७९/८० मा कम्पनीले १ अर्ब २६ करोड ४० लाख रुपैयाँ आम्दानी गरेकोमा आव २०८०/८१ मा १ अर्ब ३९ करोड मात्रै पुगेको हो । गत आर्थिक वर्षको पहिलो ९ महिनामा १ अर्ब १३ करोड ५० लाख रुपैयाँमा झरेको छ ।
मुनाफा सूचक आव २०७९/८० मा १.६९ प्रतिशत मात्रै थियो जुन अत्यन्तै न्यून मानिन्छ। तर आव २०८०/८१ मा यो सूचक एक्कासि २९.८८ प्रतिशतमा पुगेको देखिन्छ । गत आवको पहिलो ९ महिनामा यो मार्जिन पुनः घटेर १६.३७ प्रतिशतमा झरेको छ ।
यस्तो कमजोर वित्तीय संरचना बीच कम्पनीले सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएर पूँजी बजारबाट लगानी संकलन गर्ने बाटो रोजेको छ । २०७३ मा स्थापना भएको कम्पनी २०८० असार ७ गते मात्र पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो । यस्तो परिवर्तन कम्पनीले पूँजी अभावको समाधान गर्न र ऋण बोझ घटाउने उद्देश्यले गरेको देखिएको छ ।
एकातिर कम्पनीको उत्पादन क्षमता वृद्धि भइसकेको भए पनि अर्कोतिर बजार माग, प्रतिस्पर्धा, संचालन लागत र ऋणको भार जस्ता तत्वहरूका कारण कम्पनीको आय–व्यय सन्तुलनमा अवरोध देखिएको छ । नेपालमा सिमेन्ट उद्योगबीचको तीव्र प्रतिस्पर्धा, कच्चा पदार्थको मूल्यवृद्धिजस्ता कारणले गर्दा पनि सिमेन्ट कम्पनीहरूले समस्यामा पर्ने गरेका छन् । तर भूगर्भ सिमेन्टको अवस्था अझै भयावह देखिएको छ ।
कच्चा पदार्थको लागत कम्पनीको प्रमुख खर्चको हिस्सा हो जसले कम्पनीको कुल लागतमा ठूलो भूमिका खेलेको हुन्छ । २०८०/८१ मा बिक्रीको करिब ६२ प्रतिशत र गत आव २०८१/८२ को पहिलो ९ महिनामा ७२ प्रतिशत कम्पनीको बिक्री आम्दानी सीधा वस्तु उत्पादन लागतमा खर्च भएको देखिएको हो ।
कम्पनीको वित्तीय मूल्याङ्कनमा परिवर्तन गरिएको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको जारीकर्ता मूल्याङ्कन अघिल्लो श्रेणीभन्दा सुधार गरी अब बी प्लस श्रेणीमा पु-याएको छ । यस्तो श्रेणीमा पारिएका कम्पनीहरूलाई नेपालमा आर्थिक दायित्व समयमै पूरा गर्न असफल हुने उच्च जोखिममा रहेको मानिन्छ ।
यस्तै गरी कम्पनीको दीर्घकालीन बैंक ऋण सुविधा अन्तर्गत रहेको १ अर्ब ४७ करोड १६ लाख रुपैयाँ बराबरको ऋणको मूल्याङ्कन पनि सुधार गरी बी प्लस श्रेणीमा राखिएको छ । तर, अल्पकालीन बैंक ऋण सुविधा अन्तर्गत रहेको ७७ करोड ८३ लाख रुपैयाँ बराबरको ऋणको मूल्याङ्कन भने अघिल्लै श्रेणीमा यथावत् राखिएको छ ।
सोहि कम्पनी आइपीओ निष्कासनको तयारीमा जुटेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा १२ लाख ६२ हजार ५०० कित्ता बराबरको १२ करोड ६२ लाख ५० हजार रुपैयाँको आइपीओ ल्याउन आवेदन दिएको छ । ऋणको दलदलमा रहेको कम्पनी लगानीकर्तालाई शेयर भिडाउने चलखेल गरिरहेको हो ।













