बीमा कम्पनीले अझै पाएनन् हकप्रद निष्काशनको अनुमति, कुनको कति छ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) को पाइपलाइनमा रहेका चार बीमा कम्पनीहरुले अझै हकप्रद निष्काशनको अनुमति पाएका छैनन् । हकप्रद निष्काशनको लागि अनुमति मागेका हाइड्रोपावर लगायतका कम्पनीहरुले सहजै पाउँदा बीमा कम्पनीको अनुमति अझै पेन्डिङ रहेको हो ।
नेपाल बीमा प्राधिकरणको चुक्ता पुँजी बृद्धि गर्ने सम्बन्धमा दिएका निर्देशन बमोजिम १० कम्पनीहरुले हकप्रद निष्काशनको बाटो रोजेका थिए । जसमा ४ जीवन बीमक र ६ निर्जीवन बीमक रहेका हुन्। प्राधिकरणले जीवन बीमा कम्पनीको हकमा ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको हकमा साढे २ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउन निर्देशन दिएको छ ।
पाइपलाइनमा रहेका बीमा कम्पनीहरुमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र यु्नाइटेड अजोड इन्स्योरेन्स रहेका छन् । उक्त कम्पनीहरुको हकप्रद निष्कासनको प्रक्रिया अझै पेन्डिङमा छ । लामो समयदेखि बोर्डसँग अनुमति मागेपनि यी चार कम्पनीको अनुमति स्वीकृति हुन सकेको छैन ।
धितोपत्र बोर्डले पछिल्लो समय हकप्रद निष्कासनको लागि अनुमति माग्ने कम्पनीहरुमा हाइड्रो समूहका कम्पनीलाई धमाधम स्वीकृति दिन थालेको छ । तर गत वर्ष असोज ७ गतेदेखि हकप्रद निष्कासनको लागि अनुमति मागेका बीमा कम्पनीहरुले स्वीकृति पाउन सकेका छैनन् ।
हाल धितोपत्र बोर्डको पाइपलाइनमा ४ बीमा कम्पनी छन् । प्रभु महालक्ष्मी लाइफले गत वर्षको असोज ७ गते बोर्डमा निवेदन दिएको थियो । त्यस्तै, सानिमा जिआइसीले गत वर्ष कात्तिक ३० गते, प्रभु इन्स्योरेन्सले कात्तिक १२ गते र युनाइटेड अजोडले फागुन ४ गते बोर्डमा निवेदन दिएको थियो ।
चुक्तापूँजी बढाउने प्रयोजनकै लागि हकप्रद निष्कासनको बाटो रोजेका बीमा कम्पनीहरुमा अब चार कम्पनीको हकप्रद निष्कासन हुन बाँकी छ । यी कम्पनीहरु भन्दा पछि बोर्डमा निवेदन दिएका कम्पनीहरुले स्वीकृति पाएर हकप्रद समेत निष्कासन गरिसकेका छन् । तर उक्त चार कम्पनीले अझै अनुमति पाउन सकेका छैनन् ।
सानिमा जिआइसी इन्स्योरेन्सले कायम चुक्तापूँजीको ७० प्रतिशत अर्थात् १ः०.७० अनुपातमा ३६ करोड ५५ लाख रुपैयाँ बराबरको ३६ लाख ५५ हजार कित्ता हकप्रद निष्कासनको लागि बोर्डसँग अनुमति मागेको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।
साथै, यता प्रभु इन्स्योरेन्सले १ः०.५०१५ अनुपातमा ८३ करोड ५० लाख १३ हजार ५४४ रुपैयाँ बराबरको ८३ लाख ५० हजार १३५ कित्ता र युनाइटेड अजोडले १ः०.१५ अनुपातमा ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता हकप्रद निष्कासनको लागि अनुमति मागेका छन् ।प्रभु इन्स्योरेन्सको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल र युनाइटेड अजोडको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
त्यस्तै, प्रभु महालक्ष्मी लाइफले पनि १ः०.७० अनुपातमा ७३ करोड ३ लाख २० हजार रुपैयाँ बराबरको ७३ लाख ३ हजार २०० कित्ता हकप्रद निष्कासनको लागि अनुमति मागेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।













