नक्कली नोट बरामद तीन गुणाले बढ्यो, राष्ट्र बैंक बेखबर

काठमाडौँ । नेपाली बजारमा नक्कली (खोटा) नोट बरामद हुने क्रम तीन गुणाले वृद्धि भएको छ । देशको अर्थतन्त्रलाई नै धरापको बाटोमा धकल्ने नक्कली नोटहरु दिनानुदिन राजधानी काठमाडौँसहित विभिन्न स्थानबाट बरामद भइरहदा समेत नियामक नेपाल राष्ट्र बैंक मौन जस्तै देखिएको छ । राष्ट्र बैंकले नक्कली नेपाली नोट बारे बिस्तृत अध्ययन, बजारमा फैलावटबारे कुनै अनुसन्धान भएको तथ्याङ्क छैन ।
नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्ग अनुसार गत आर्थिक वर्ष २०८१।०८२ मा मात्रै १४ करोड ९५ लाख ३२ हजार ४८० रुपैयाँ भन्दा बढी नक्कली नोट प्रहरीले बरामद गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १९३ प्रतिशतले बढेको हो । गत आर्थिक वर्ष २०८०।०८१ मा पाँच करोड करोड नौ लाख ४४ हजार ६६० रुपैयाँ नक्कली नोट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
गत आर्थिक वर्ष प्रहरीले १८ लाख ७८ हजार १०० रुपैयाँ नेपाली, ३८ हजार ३८० भारतीय, ६ लाख १६ हजार डलर र १४ करोड ७० लाख रुपैयाँ यूरो नक्कली नोट बरामद गरेको हो । सो कार्यक्रममा संग्लन ९८ हजार पक्राउ गरेका छन् भने ३५ जना विरुद्ध मुद्धा दायर भइसकेको प्रहरीले जनाएको छ ।
नक्कली नोट कारोबार पुरुषको संख्या धेरै देखिएको छ । गत वर्षको अवधिमा प्रहरीले ४५ जना नेपाली पुरुष र ६ जना नेपाली महिनालाई नियन्त्रणमा लिएको छ । यता, विदेशी पुरुष ११ जना र महिला १ जना प्रहरीको पक्राउ रहेको छ । अघिल्लो आर्थिक वर्षमा भने १३८ जना प्रहरीले पक्राउ गरेको तथ्याङ्क प्रहरीले दिएको छ ।
छिटो धनी बन्ने मोहले नेपाली बजारमा नक्कली नोटको कारोबार बढ्न थालेको छ । विशेषगरी भारतसँग सीमा जोडिएका जिल्लाहरूमा ठूला गिरोह सक्रिय रहेको आशंकासहित प्रहरीले निगरानी कडा बनाएको छ । सीमावर्ती क्षेत्रहरूमा खोटा नोटले व्यापारिक कारोबारमा अवरोध मात्रै होइन नागरिकहरूको आर्थिक सुरक्षामाथि नै प्रश्न उठाउन थालेको छ । असली र नक्कली छुट्याउन नसकेर सर्वसाधारण ठगिन थालेका छन्, जसले नेपाली रुपैयाँप्रतिको जनविश्वासमा गम्भीर असर पारिरहेको छ ।
पछिल्लो समय खोटा नोटमार्फत हुने आर्थिक आपराधिक गतिविधिहरू तीव्र रूपमा बढेका छन् । राजधानीसम्म पनि नक्कली नोट पुगेको घटनाले यसका जरा कति फैलिएका छन् भन्ने देखाएको छ । व्यापारिक अस्थिरता निम्त्याउने, लगानीकर्तामा भय सिर्जना गर्ने र मौद्रिक नीतिको प्रभावकारिता कमजोर बनाउने यस्ता गतिविधि रोक्नका लागि सुरक्षा निकायहरू सक्रिय छन् । तर, प्रभावकारी नियन्त्रण नहुँदा देशको समग्र आर्थिक प्रणाली नै संकटमा पर्ने जोखिम बढ्दो छ ।
राष्ट्र बैंक भन्छ ‘हाम्रो नोटको फिचर बलियो छ’, तर छैन अभिभावकीय भूमिका
नक्कली नोट सम्बन्धी जति प्रहरीले अनुसन्धान गर्नुपर्ने हो त्यो भन्दा बढी नेपाल राष्ट्र बैंकले गर्नुपर्छ । तर, नक्कली नोटको कारोबार रोक्न नेपाल राष्ट्र बैंकको भुमिका अभिभावकीय देखिदैन ।
मुद्रा व्यवस्थापन र मौद्रिक सुरक्षाको प्रमुख अभिभावक निकायका रूपमा राष्ट्र बैंकले खोटा नोटको पहिचान, नियन्त्रण र निस्तेजीकरणमा अग्रसरता लिनुपर्ने हो, तर हालसम्म देखिएको अवस्था प्रहरीको अनुसन्धानमै सीमित छ । नक्कली नोटले देशको आर्थिक सन्तुलनमा पार्न सक्ने दीर्घकालीन असरलाई हेर्दा यो केवल आपराधिक घटना मात्रै नभई मौद्रिक संप्रभुतासँग जोडिएको संवेदनशील विषय हो । तर, राष्ट्र बैंकको ध्यान यता तिर गएको देखिदैन ।
यता, राष्ट्र बैंकका प्रवक्ता किरण पण्डीत भने नेपाली रुपैयाँमा रहेको फिचर निकै बलियो रहेको भन्दै यस्तो कारोबार रोक्न हामी सफल भएको दाबी गर्छन । उनले भने, ‘नेपाली रुपैयाँमा रहेको फिचर निकै बलियो छ । अन्य मुलुकका रकममा रहेको भन्दा नेपाली रुपैयाँ रहेको फिचर निकै अझै थप बलियो रहेको पाइएको छ । अझ हामीले नयाँ नोट छाप्ने बेला समेत नयाँ नयाँ सुरक्षा फिचर समेत थप्दै गएका छौं । जस कारण नक्कली कारोबार गर्ने ब्यक्ति पक्राउ परी कानुनी कठघरामा उभिनु परेको छ ।’
अझै पनि लुकिछिपी भइरहेको यस्तो कारोबार रोक्न राष्ट्र बैंकले नागरिक स्तरमा जनचेतना फैलाउने काम गरिहेको पण्डीतको तर्क छ । ‘फिचर बलियो हुँदा हुँदै ठगी गर्ने नियत र छिटो धनी बन्ने सोचले गर्दा नक्कली नोटमा ब्यक्तिहरु संग्लन भइरहेको पाइन्छ । तिनिहरुबाट आम सर्वसाधारणलाई बचाउन राष्ट्र बैंकले समाजिक सञ्जाल मार्फत जनचेतना दिने र नक्कली नोट चिन्न सकिने बारे भिडियो सन्देश प्रवाह गर्ने काम गरिरहेको छ’ उनले भने ।
नक्कली कारोबार हुनै नदिन प्रहरी प्रशासनसँग समन्वयदेखि गाउँगाउँ बैंकहरुलाई कार्यक्रम गर्ने राष्ट्र बैंकले निर्देशन दिइरहेको पण्डीतले बताए । ‘नक्कली नोट कारोबार किन बढी रहेको छ ? यसमा रोेकथामका विषयमा हामीले बेला बेला प्रहरीसँग छलफल र समन्वय समेत गर्ने गरेका छौं । प्रदेश निकायसँग समेत छलफल परामर्श र तालिम जस्ता विषयमा समेत हामी केन्द्रित रहेका छौंं’ उनले भने, ‘सहरी क्षेत्रसहित गा्रमिणमा पनि वित्तीय साक्षरता तिर हाम्रो ध्यान गएको छ । बैंकहरुलाई समेत हामीले वित्तीय प्रदान गर्ने निर्देशन गर्ने गरेका छौं । नक्कली नोट पहिचान गर्न विधि बारे बैंकहरुले समेत गाउँगाउँमा गएर जनचेतना फैलाउने काम गरिरहेको देखिएको छ । वित्तीय सारक्षतामा बैंकहरुले ठुलो रकम खर्च समेत गरेका छन् ।’
राताराता धनी बन्ने प्रवृतिले बढ्यो नक्कली कारोबार
छिटो धनी बन्ने सोच मौलाउँदै जाँदा नेपाली बजारमा नक्कली नोटको कारोबार वृद्धि भइरहेको केन्द्रिय प्रहरी प्रवक्ता विनोद घिमिरे बताउँछन् । उनले भने, ‘नक्कली नोट विशेष गरी बोडर क्षेत्र बढी भइरहेको पाइएको छ । भारतीय खुला सीमामा नक्कली नोट अलि बढी सो क्षेत्रमा फैलिएको छ । यस्तो कारोबारमा बढी संगठित ब्यक्तिहरु छन् । अनि नियत नै खराब भएका र रातारात धनी बन्ने सोचले गर्र्दा नक्कली नोटको कारोबार बढेको देखिएको हो ।’
नक्कली नोट बजारमा आउन नदिन प्रहरी निकै सक्रिय भएर लागि रहेको घिमिरेको भनाइ रहेको छ । ‘नक्कली नोट बजारमा आउन नदिन प्रहरी सुक्ष्म रुपमा अध्ययन गर्ने देखि बेलाबेला शंका लागेको ठाउमा छापा समेत हानि रहेको हुन्छ । बजारमा यस्ता कारोबार हुन नदिन प्रहरी निकै चनाखो छ र सिभिलमा समेत प्रहरी बजार घुमि रहेको हुन्छ’ उनले भने ।
सिमा क्षेत्रमा बढी रहेको नक्कली नोटको कारोबार नियन्त्रणका लागि प्रहरी थप कडाईका साथ चेकजाँच गरिहेको प्रवक्ता घिमिरेले बताए ।
नक्कली नोटसहित प्रक्राउ परेको ब्यक्तिलाई ७ वर्ष जेल सझाय हुने प्रावधान रहेको छ । नियामक निकायले निकालेको जस्तै देखिने नक्कली नोट कसैले पनि चलनचल्ती, निकासी, पैठारी, खरिद, बिक्री गरेको पाइए मात्रा हेरी ७ वर्षसम्म जेल र ७० हजारसम्म जरिवानाको ब्यवस्था रहेको छ ।
साथै, नक्कली नोट बनाउने मेशन राख्न तथा कुनै कम्पनीले नक्कली नोट समेत बनाउन नपाउने ब्यवस्था रहेको छ । बरामद भएको पैसा नेपाल राष्ट्र बैंकको रोहबरमा जलाउने गरेको छ ।













