नेपाली अटो बजारमा होन्डा स्कुटर र बाइकको पकड: ११ महिनामा हिमाल मोटोको व्यापार ३ अर्ब

१८ श्रावण २०८२, आईतवार ११:३०

काठमाडौँ । नेपाली अटोमोबाइल बजारमा सबैभन्दा बढी रुचाइने ब्रान्डमध्ये एक होन्डाले हालका दिनमा उल्लेखनीय व्यावसायिक सफलता हात पार्न थालेको छ । जापानी प्रविधिमा आधारित मोटरसाइकल र स्कुटर निर्माणमा ख्यातिप्राप्त होन्डा सवारीसाधनको नेपालमै एसेम्ब्लिङ गर्ने कम्पनी हिमाल मोटो नेपाल प्राइभेट लिमिटेडको कारोबार गत आर्थिक वर्षको तुलनामा ठूलो फड्को मारेको देखिएको हो ।

कम्पनीले चालु आर्थिक वर्ष २०८१/०८२ को ११ महिना अवधिमा ३ अर्ब १४ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गर्न सफल भएको छ जुन अघिल्लो वर्षको तुलनामा झन्डै आठगुना वृद्धि हो । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा भने कम्पनीले ३९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

रुपन्देहीमा एसेम्ब्लिङ प्लान्ट सञ्चालनमा ल्याएको हिमाल मोटोले जापानको होन्डा कम्पनीबाट पूर्ण रूपमा निखारिएको सिएकेडी पाट्र्स आयात गरेर स्कुटर निर्माण गर्छ । ती उत्पादित सवारीहरू ज्योति समूहको प्रमुख अङ्ग स्याकार ट्रेडिङमार्फत नेपाली बजारमा बिक्री वितरण गरिन्छ । होन्डाका स्कुटर र मोटरसाइकलहरू नेपाली ग्राहकको रोजाइमा पर्ने मुख्य ब्रान्डमध्ये पर्छन् । ग्राहकको यही भरोसामाथि कम्पनीले आफ्नो उत्पादन विस्तार गर्दै आएको छ ।

कम्पनीको आर्थिक सूचकहरूमा समेत उल्लेखनीय सुधार देखिएको छ । बजार विस्तारसँगै कम्पनीको सञ्चालन मुनाफा पनि सकारात्मक क्षेत्रमा प्रवेश गरेको छ । अघिल्लो वर्ष ९.५ प्रतिशतको नकारात्मक अपरेटिङ मार्जिन देखिएको कम्पनीको ओपीबिडीटा मार्जिन गत वर्षको ११ महिनामा १.२ प्रतिशत पुगेको छ । यसले कम्पनीको व्यवस्थापन, लागत नियन्त्रण र बजार उपभोग क्षमतामा आएको सुधार देखाएको छ।

कम्पनीको कूल ऋण तथा मूर्त शेयरपूँजी अनुपात ३.७ गुणा पुगेको छ । यसले कम्पनीले बजार विस्तारका लागि कर्जाको उपयोग बढाएको छ जुन उत्पादन क्षमतामा वृद्धि र आय वृद्धिको लागि सकारात्मक संकेत हो । त्यस्तै, कम्पनीको कूल बाह्य दायित्व र मूर्त शेयरपूँजीको अनुपात ४.१ गुणा पुगेको छ ।

साथै, ब्याज भुक्तानी गर्ने क्षमताको सूचक अघिल्लो वर्ष –१.२ गुणा रहेकोमा गत वर्ष ०.६ गुणा पुगेको छ । ऋण चुक्ता सेवा अनुपात अघिल्लो वर्ष ०.० रहेकोमा यो वर्ष ०.७ पुगेको छ ।

कम्पनीको चालु अनुपात १.० रहेको छ । यो अनुपातले कम्पनीका चालु सम्पत्तिहरूले चालु दायित्वहरू धान्न सक्ने अवस्था देखिएको छ ।

नेपालको मोटरसाइकल तथा स्कुटर बजारमा होन्डाको पकड निकै बलियो रहँदै आएको छ । शहरदेखि गाउँसम्म सबै क्षेत्रका प्रयोगकर्ताले होन्डालाई विश्वासिलो सवारीका रूपमा लिएका छन् । कम्पनीले प्रायः ग्राहकमैत्री प्रविधि, इन्धन खपतमा किफायती, टिकाउ तथा प्रवाह सुलभ सर्भिसिङ सुविधा उपलब्ध गराएकाले बजारमा यसको माग दिनप्रतिदिन बढ्दो छ ।

घरेलु स्तरमै सवारी उत्पादनलाई प्रोत्साहन दिने प्रयासस्वरूप सञ्चालनमा आएको कम्पनीले छोटो समयमा गरेको प्रगति प्रशंसनीय छ । देशभित्रै रोजगारी सिर्जना गर्नुका साथै विदेशी मुद्रा बचतमा पनि यसको योगदान उल्लेखनीय छ । होन्डाका सवारीसाधनप्रति बढ्दो विश्वास र बजारको समर्थनले कम्पनीलाई आगामी दिनमा अझ नयाँ उचाइमा पु¥याउने देखिएको हो ।

इक्रा नेपालले हिमाल मोटो नेपालको दीर्घकालीन ऋण रेटिङ आईसीआरएएनपीे एलबिबी पुनः पुष्टि गरेको छ । साथै, कम्पनीको अल्पकालीन ऋण रेटिङ आईसीआरएएनपीे ए४ पनि पुनः पुष्टि गरिएको छ ।

कम्पनीको दीर्घकालीन ऋण सीमा ७०० लाख रुपैयाँ (यसमा प्रस्तावित ५०० लाख रुपैयाँको टर्म लोन समेत समावेश छ) बाट ६४६ लाख रुपैयाँ कायम गरिएको छ भने अल्पकालीन ऋण सीमा १४५० लाख रुपैयाँ कायम छ, जसमा गैर–धन आधारित सीमा पनि समावेश गरिएको छ । कुल ऋण सीमा २१५० लाख रुपैयाँबाट २०९६ लाख रुपैयाँ कायम गरिएको हो । यसले कम्पनीको वित्तीय स्थिरता र ऋण तिर्ने क्षमतामा सकारात्मक प्रभाव परेको देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*