नाइमाको अटो शो भताभुंग: पुरानै ढर्रामा अल्झिँदा दर्शकसमेत निराश

२१ श्रावण २०८२, बुधबार १४:४६

काठमाडौँ । अटो शो मार्फत प्रतिष्ठाको लडाई लडि रहेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) पुरानै मोडालिटीमा सुरु भएको छ । अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)बाट टुक्रिएर बनेको नाइमाले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ आज देखि सुरु गरेको हो ।  तर, सुरु भएको यो मेलाले नयाँ उचाइभन्दा पुरानै शैली र कमजोर व्यवस्थापनको कथा सुनाएको छ । अटोमोबाइल प्रदर्शनी हेर्ने दर्शकले अहिले केवल गाडी हेर्ने मात्र चाहना राख्दैनन् । उनीहरू इनोभेटिभ र प्रविधिमैत्री प्लेटफर्मबाट सवारी अनुभव गर्ने अवसर खोजिरहेका छन् ।

नाइमा आफ्नो पहिलो अटो शोमार्फत बजारमा नयाँ विकल्प प्रस्तुत गर्ने अपेक्षा सबैमा रहेको थियो । नाडाबाट अलग भएको संस्था भएको कारण पनि केहि न केहि आफ्नो गरिमा बढाउन भएपनि नयाँ बन्ने सोच आम दर्शकको रहेको थियो ।  तर, मेलामा देखिएको व्यवस्थापन र प्रस्तुतिले त्यो अपेक्षा पुरा गर्न सकेन ।

३५ वटा नयाँ मोडल लन्च भएको भनिए पनि तीमध्ये धेरै गाडीहरू कम्पनीहरूले केहि दिन अघि नै सार्वजनिक गरिसकेको देखिन आउँछन् । यस कुराले मेलामा नयाँपन र उत्साहको कमी ल्याएको देखिएको छ। गाडी हेर्न आएका दर्शकहरू कहाँ कुन स्टल छ भनेर अलमलमा परेका थिए भने स्टलमा गाडीका ब्रान्ड प्रतिनिधिको उपस्थिति न्यून देखियो ।

मेलाको शैली पुरानो र पारम्परिक मोडालिटीमै सीमित रहेको छ । नयाँ प्रविधि र डिजिटल प्रस्तुति वा अनुभव दिने कुनै उपाय देखिएको छैन । नाइमा गठन गर्दा ‘राजनीतिक प्रभावबाट मुक्त विकल्प’ बन्ने कुरा गरिए पनि व्यवहारमा त्यो कमजोर देखिएको छ । जुन अटो क्षेत्रको कुम्म बेलाले नाइमालाई चुनौति दिएको छ ।

प्रचारका लागि खटाइएका कन्टेन्ट क्रियटरहरू बीच समन्वयको अभावले पनि भ्रम फैलाएको छ । एउटै गाडीको धेरै पटक प्रचार हुनु, दर्शकलाई कुन गाडी हेर्नुपर्ने भनेर स्पष्ट नभएको अवस्था मेलामा देखियो । दुईपाङ्ग्रे सवारीको प्रदर्शन झन् कमजोर छ । कुनै नयाँ मोडल छैन, स्टलहरू सुनसान र निस्सासिएका देखिन्थे ।

अवलोकन स्थल वरिपरि गाडीका स्टलहरू नजिकै राखिएकाले दर्शकहरूलाई सहज रूपमा कार्यक्रम हेर्न गाह्रो भइरहेको थियो । स्टलहरूको भीड र स्थानको अव्यवस्थाका कारण अवलोकनमा बाधा पुग्दै, आगन्तुकहरू असहज महसुस गरिरहेका थिए ।

मेलामा आएका केही दर्शकले आफूले पत्रकार सम्मेलनमै देखिसकेको गाडी फेरि हेर्नु परेकोमा असन्तुष्टि जनाए । नाइमा अटो शोले दर्शकलाई नयाँ अनुभव दिन नसकेको निष्कर्ष स्पष्ट छ । परम्परागत शैलीमा सीमित भएको र व्यवस्थापन कमजोर भएको कारण यो मेलाले प्रभावशाली विकल्प बन्न नसकेको देखिन्छ ।

त्यसैबीच, नाडा अटो शो आगामी भदौ ३ गतेदेखि सुरु हुँदैछ । नाडा यस वर्ष अत्याधुनिक प्रविधि र नयाँ आविष्कारका साथ दर्शकलाई आकर्षित गर्न तयारीमा छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नाडाले ‘उड्ने कार’ र ‘रोबोट’ प्रदर्शनी गर्ने घोषणा गरेको छ ।

नाडाका अध्यक्ष करण चौधरीका अनुसार यस वर्षको अटो शोमा दिपलको इभीटीओल युएभी (उड्ने कार) र चिनियाँ कम्पनी हाङझाउ युशु टेक्नोलोजी कम्पनी लिमिटेडले बनाएको युनिट्री रोबोट प्रदर्शनमा राखिनेछ । रोबोट म्यान र रोबोट डग दुवैले दर्शकलाई भविष्य प्रविधिको अनुभव गराउनेछन् ।

नाडाले अटोमेशन, विद्युतीय सवारी, स्मार्ट मोड्युल र डिजिटल फिचरहरू प्रस्तुत गर्ने तयारी गरिरहेको छ । डिजिटल डिस्प्ले, इन्टरेक्टिभ सिस्टम, भर्चुअल सिमुलेटर र टेस्ट राइडको व्यवस्था गरेर नाडा अटो शो प्रविधिमैत्री र प्रयोगकर्तामुखी बनाउने लक्ष्यमा छ ।

दर्शकले अब केवल गाडी हेर्न मात्र खोजेका छैनन्, उनीहरू ‘अनुभव गर्ने’ प्लेटफर्म खोजिरहेका छन् । यस अर्थमा नाडा अटो शो अग्रपङ्क्तिमा छ भने नाइमा पुरानै शैलीमै अल्झिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*