‘प्रतिष्ठाको लडाईमा चुक्दै नाइमाः भद्रगोल मेलाले खस्किँदै साख, छुट रणनीतिले दर्शकको विश्वासमा आँच’

दिपक विष्ट
२२ श्रावण २०८२, बिहीबार १७:०६

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)ले बुधबारदेखि सुरु गरेको ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु हुने बित्तिकै व्यवस्थापनको कमजोरी र असहजताले घेर्न थालिएको छ । प्रतिष्ठाका लागि नाडा अटोमोबाइल एशोसिएसन नेपाल (नाडा) बाट अलग भएर पहिलोपटक आफ्नै मेला आयोजना गरेको नाइमाले सुरुआतमै दर्शक र सहभागीसँग नकारात्मक प्रतिक्रिया पाइरहेको हो ।

करिब एक साताको अन्तरालमा नाइमा र नाडा दुई फरक संस्थाको दुईवटा अटो शो हुने क्रमले प्रतिस्पर्धात्मक माहोल बनाएको छ । तर, यो प्रतिस्पर्धामा नाइमाले देखाएको प्रदर्शन कमजोर मात्र होइन असंगठित पनि देखिएको छ ।

नाइमाको मेला अवलोकन गर्दा मेलामा समेटिएको गाडीको विविधता भन्दा पनि स्टलहरूको अव्यवस्थित स्थान, भीड व्यवस्थापनमा कमजोरी तथा दर्शकको सहज पहुँचमा भएको बाधाले बढी ध्यान तानेको देखिएको छ । कतिपय स्टलहरू धेरै नजिक हुँदा त्यहाँ उभिएर गाडीको अवलोकन गर्न वा कुनै जानकारी लिने प्रयत्न नै अप्ठ्यारो महसुस हुने स्थिति देखिएको छ । नाइमाको कमजोर ब्यवस्थापनले मेला भद्रगोल अवस्थामा पुगेको देखिएको छ । स–साना तर अति आवश्यक पर्ने कुराहरु समेत नाइमाको नजर पर्ने सकेको छैन ।

दर्शकहरू अब अटो शोमा गाडी मात्र हेर्न चाहँदैनन् । प्रविधिमैत्री, इनोभेटिभ र इन्टरएक्टिभ अनुभव खोज्छन् । आधुनिक प्रयोगकर्ताको आकांक्षालाई सम्बोधन गर्नुपर्ने समयमा नाइमाको मेला पुरानै ढर्राको दोहोराइमा सीमित देखिएको छ । स्टलहरूमा डिजिटल इन्गेजमेन्ट, टेष्ट ड्राइभ अनुभव वा प्रविधियुक्त प्रस्तुतिकरणको खडेरी देखिनु आयोजकको तयारी कति कमजोर थियो भन्ने स्पष्ट भएको छ ।

नाइमा नयाँ संस्था हो र नाडाको छायाँबाट अलग्गिएर आफैं स्थापित हुने महत्वाकांक्षा बोकेको छ । तर, मेलामा देखिएको अनुभवले नाइमा अझ धेरै तयारी र व्यावसायिकता आवश्यक रहेको संकेत गरेको छ । पहिलोपटक आयोजित मेलाले दर्शकको नजरमा विश्वसनीयता बनाउन सक्नुपथ्र्यो । तर नाइमाले त्यो अवसर गुमाएको देखिएको छ ।

अवलोकनकर्ता तान्न नाइमाको छुट रणनीति, उपभोक्ताको विश्वासमा आँच

नाइमाले आयोजना गरेको ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा अवलोकनकर्ता तान्न गाडीहरूमा भारी छुटको रणनीति अपनाएको देखिएको छ । मेलामा सहभागी कम्पनीहरूले सुरुमा अस्वभाविक रूपमा मूल्य निर्धारण गरी त्यसपछि छुट दिइरहेको भन्दै ग्राहक भ्रमित बनाउने काम गरिएको आरोप लागेको छ ।

अटो प्रदर्शनीमा ‘विशेष अफर’ को नाममा छुट दिइए पनि वास्तवमा ती अफर सुरूवातमै महँगो मूल्य तोकेर पछि देखाइएका छुट हुन् भन्ने स्पष्ट देखिएको छ । मूल्य र छुटबीचको अन्तर ठूलो भएपछि यसअघि नै गाडी खरिद गरेका ग्राहकहरू ठगिएको महसुस गरिरहेका छन् । मेलामा सामान्य छुट दिनु स्वभाविक मानिएपनि निकै भारी छुटले प्रश्न उठाइरहेको छ ।

नाइमा अध्यक्ष ऋतुसिंह वैद्य स्वयंको कम्पनी टोयोटाले समेत छुटको नाममा यस्तै रणनीति अपनाएको देखिएको छ । ३ करोड ७० लाख रुपैयाँ मूल्य पर्ने टोयोटा ल्याण्ड क्रूजर २५० मा ११ लाख छुट दिइएको छ भने यारिस क्रसमा ८ लाख रुपैयाँ छुट घोषणा गरिएको छ ।

साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बिवाईडीका गाडीहरूमा छुट योजना सार्वजनिक गरेकी छन् । ४१ लाख १५ हजार रुपैयाँ पर्ने बिवाईडी डल्फिनमा १ लाख ५० हजार छुट र ७४ लाख ९९ हजार रुपैयाँ पर्ने सीलियन ७ मा २ लाख छुट दिइएको छ ।

पछिल्लो समय नेपाली बजारमा बिक्री सुस्त बनेका सिट्रोन ब्रान्डका गाडीहरूमा समेत नाइमाको मेलालाई अवसर बनाएर भारी छुट दिइएको छ । ३९ लाख ५० हजार रुपैयाँ मूल्य तोकिएको सिट्रोन अब २७ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छ । त्यस्तै, सिट्रोन ई–सि ३ को मूल्य पनि घटाएर ३४ लाख रुपैयाँमा ल्याइएको छ ।

फ्रेन्च ब्रान्ड प्युजोको ३००८ मोडलमा २५ लाख रुपैयाँ छुट दिइएको छ । यो सवारीसाधनको पूर्व मूल्य १ करोड ७५ लाख रुपैयाँ थियो जुन अहिले १ करोड ५० लाख रुपैयाँमा झरेको छ ।

एमजि ब्रान्डका विभिन्न मोडलमा पनि आकर्षक छुट दिइएको बताइएको छ । एमजि एस ५ मा किलोवाट अनुसार १ लाखदेखि २ लाख ५० हजार रुपैयाँसम्म छुट दिइएको छ । एमजि ४ को लक्जरी भर्सनमा ४ लाख र कम्फर्ट भर्सनमा १ लाख छुट गरिएको छ । भर्खरै लन्च भएको एमजि आइएम ६ मा पनि १ लाख २५ हजार रुपैयाँ छुट दिइएको छ ।

ओमोडा र जेको ब्रान्डका गाडीहरूमा समेत ठूला छुट दिइएको छ । ६२ लाख रुपैयाँ पर्ने ओमोडा ई ५ अहिले ५५ लाख रुपैयाँमा बिक्रीमा ल्याइएको छ । ६९ लाख ९९ हजार रुपैयाँ पर्ने जेको जे ६ अब ६५ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छ भने ६० लाख ९९ हजार पर्ने जे को ५ अब ५६ लाख ९९ हजार रुपैयाँमा सीमित गरिएको छ ।

लिपमोटरको सि १० मोडलको मूल्य ७२ लाख रुपैयाँबाट घटाएर ६४ लाख ९९ हजार बनाइएको छ । बि १० को मूल्य ६० लाख रुपैयाँबाट घटाएर ५६ लाख ९९ हजार बनाइएको छ ।

एलएस अटोका सबै सवारीहरूमा १ लाख ५० हजार रुपैयाँ छुट दिइएको छ भने लियो मोटरका सवारीहरूमा १० प्रतिशत छुट लागू गरिएको छ । महिन्द्राका सवारीहरूमा पनि १ लाख ५० हजार रुपैयाँसम्मको छुट देखाइएको छ ।

यस्ता छुट योजनाहरू हेर्दा सुरुमा अस्वभाविक मूल्य निर्धारण गरी ग्राहकलाई भारी छुटको भ्रम देखाएर आकर्षित गर्ने रणनीति रहेको देखिन्छ । कुनै पनि व्यवसायीले घाटामा व्यापार गर्न चाहँदैनन् भन्ने स्पष्ट कुरा हो । पछिल्लो समय नेपाली अटोमोबाइल बजारमा माग बढ्दै गएको अवस्थामा यति ठूलो छुट दिनु पूर्व मूल्य निर्धारण कत्तिको उच्च थियो भन्ने प्रश्न उठ्न थालेको छ ।

ग्राहकलाई लोभ्याउन सुरुमा मूल्य अस्वाभाविक रूपले बढाएर छुटको नाममा देखाइएको यो अभ्यासले उपभोक्ताको विश्वासमा आँच आउने सम्भावना छ । प्रदर्शनी अवलोकन गर्न गएका दर्शक छुटको संख्याभन्दा पनि त्यहाँ भइरहेको मूल्य खेल र प्रष्ट जानकारीको कमीबाट असन्तुष्ट देखिएका छन् ।

नाइमालाई नाडाको अटो एक्स्पो पर्ने सक्नेछ भारी

नाइमाले नाडाबाट अलग भई सुरु गरेको ’नेपाल मोबिलिटी एक्स्पो २०२५’ आफ्नै कमजोर व्यवस्थापन, अव्यवस्था र भ्रमपूर्ण छुट योजनाका कारण आलोचना खेपिरहेको बेला नाडाको आउँदो अटो शोले नाइमामाथि थप दबाब सिर्जना गरेको छ ।

सुरुमा नाडाबाट छुट्टिएर नयाँ मोडेलको स्वतन्त्र शो गर्ने महत्वाकांक्षाका साथ अघि बढेको नाइमा अहिले आलोचनामै सीमित हुँदै गएको छ । धेरै पक्षमा चुकेको नाइमा एक्स्पोले अपेक्षाअनुसार प्रभाव पार्न नसक्दा अबको सबै ध्यान र अपेक्षा नाडाको अटो शोतर्फ सरेको देखिन्छ ।

लामो समयदेखि अटो शो आयोजना गर्दै आएको नाडाले यस वर्षको प्रदर्शनीलाई विशेष बनाउने तयारी गरिरहेको छ । नाडा अध्यक्ष करण चौधरीले यस वर्षको अटो शो प्रविधि, संस्कृति र अटोमोबाइलको नवीन संयोजन हुने दाबी गर्दै ‘युनिट्री रोबोट्स’ र ‘दीपाल ईभीटिओएल यूएभी’ जस्ता भविष्यकेन्द्रित प्रविधि प्रस्तुत गरिने बताएका छन् ।

यसरी गाडी मात्र नभई प्रविधिमा समेत विशेष जोड दिने तयारीले नाडाको शो थप व्यापक र व्यवस्थित हुने संकेत देखिएको छ । अघिल्लो अनुभव र स्थापित संयन्त्रकै कारण पनि नाडाले दर्शकलाई व्यवस्थित वातावरणमा नवीन अनुभव दिने अपेक्षा गरिएको छ ।

उता, नाइमाको मेलामा देखिएको अव्यवस्था, स्टलको भीडभाड, असहज अवलोकन वातावरण र छुटको नाममा भएको भ्रमपूर्ण प्रचारले मेलाको गरिमामा आँच पु-याएको छ । यस्तो अवस्थाले नाइमा स्वयंले निर्माण गर्न खोजेको प्रतिष्ठा गुम्ने जोखिम देखिन थालेको छ । नाडा र नाइमा बीचको प्रतिस्पर्धा केवल दुई संस्था बीचको मात्र होइन विश्वास, पारदर्शिता र व्यवसायिक प्रस्तुतिकरणको हो । यही सन्दर्भमा, नाडाले प्रस्तुत गर्न लागेको एक्स्पोले नाइमालाई गह्रौं पर्ने सम्भावना बलियो बन्दै गएको छ ।

अब नाडाको अटो शोले मात्र होइन त्यसको सफलताले नाइमा भविष्यमा कति टिकाउ रहन्छ भन्ने कुरामाथि समेत प्रश्न उठ्नेछ । सुरुमा उत्साहपूर्वक अलग भएको नाइमा व्यवस्थापन, कार्यक्रम प्रस्तुति र बजार आकर्षणमा कमजोर देखिएपछि उसले बनाउँदै गरेको साख ओझेलमा पर्ने संकेत प्रस्ट देखिएको छ ।

नाइमाको अटो शो भताभुंग: पुरानै ढर्रामा अल्झिँदा दर्शकसमेत निराश

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*