कमर्सियल भेहिकल बजारमा आक्रामक आइएमई मोटर्स, ९ महिनामै २ अर्ब २१ करोडको कारोबार

२५ श्रावण २०८२, आईतवार ११:४२

काठमाडौँ । भारतको हिन्दुजा समूहको कमर्सियल भेहिकल अशोक लेल्याण्डका लागि नेपालको आधिकारिक वितरक आइएमई मोटर्सको कारोबार बढेको छ । ९ महिनाको अवधिमा कम्पनीले २ अर्बमाथिको व्यापार गर्ने सफल भएको हो ।

गत आर्थिक वर्ष २०८१/०८२ को ९ महिनासम्मको अवधिमा कम्पनीले २ अर्ब २१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा कम्पनीले २ अर्ब ३४ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । पछिल्लो समय कम्पनीको नाफामा निरन्तर सुधार देखि रहेको छ ।र

आ.व. २०७६/७७ मा १ अर्ब ८३ करोड रुपैयाँ बराबरको सञ्चालन आम्दानी हासिल गरेको कम्पनीले आ.व. २०७७/७८ मा २ अर्ब ३७ करोड रुपैयाँ पु-यायो । त्यसपछि २०७८/७९ मा झन् वृद्धि भई ३ अर्ब १४ करोड रुपैयाँ पुगेको थियो । यद्यपि २०७९/८० मा १ अर्ब ७५ करोडमा सीमित भए पनि पछिल्लो समय भने निरन्तर वृद्धि कायम राखिएको छ ।
सञ्चालन नाफा अनुपात (ओपीबीडीटा/सञ्चालन आम्दानी) हेर्दा पनि प्रगति सकारात्मक देखिएको छ । गत आर्थिक वर्षको ९ महिनामा कम्पनीको नाफा अनुपात १०.८ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा ९.६ प्रतिशत, २०७९/८० मा ६.९ प्रतिशत, २०८०/८१ मा ८.७ प्रतिशत नाफा अनुपात रहेको थियो ।

कुल ऋण र मूर्त शुद्ध सम्पत्तिको अनुपात (कुल ऋण/टीएनडब्ल्यू) हेर्दा सुरुका वर्षहरूमा ५.१ गुणा रहेको यो सूचक २०७७/७८ मा ३.७ गुणामा झरेको थियो । पछि केही वर्षहरूमा उतारचढाव भए पनि हाल ९ महिनामा यो ७.६ गुणामा झरेको छ । यसले कम्पनीले पूँजी संरचना सुदृढ गर्दै ऋणभार कम गर्ने प्रयास गरिहेको छ ।

कुल बाह्य दायित्व र मूर्त शुद्ध सम्पत्तिको अनुपात (कुल बाह्य दायित्व/टीएनडब्ल्यू) पनि सकारात्मक दिशामा अघि बढेको छ । २०७६/७७ मा ५.१ गुणा रहेको यो अनुपात २०७७/७८ मा ३.८ गुणामा झरेको र पछिल्लो अवधिमा ७.४ गुणामा सीमित भएको देखिएको हो । कुल ऋण र सञ्चालन नाफाको अनुपात (कुल ऋण/ओपीबीडीटा) २०७७/७८ मा ९.८ गुणा, २०७८/७९ मा ८.४ गुणा, २०७९/८० मा २२.७ गुणा भए पनि पछिल्ला अवधिमा क्रमशः १२.६ गुणा र ९ महिनामा ८.३ गुणामा झरेको छ ।

व्याज तिर्ने क्षमता अनुपात (इन्टरेस्ट कभरेज) २०७६/७७ मा ०.० गुणा रहेको भए पनि त्यसपछि निरन्तर सुधार हुँदै २०७७/७८ र २०७८/७९ मा क्रमशः १.१ र १.२ गुणा पुगेको छ । यद्यपि २०७९/८० मा ०.३ गुणामा झरे पनि २०८०/८१ मा ०.६ गुणा र ९ महिनामा १.२ गुणा पुगेर सकारात्मक संकेत दिएको छ ।

ऋण सेवा कवरेज अनुपात (डीएससीआर) पनि त्यस्तै सुधारिएको छ । सुरुमा ०.० गुणा रहेको यो अनुपात २०७७/७८ र २०७८/७९ मा १.२ गुणा पुगेको, २०७९/८० मा ०.३ गुणामा झरे पनि २०८०/८१ मा ०.६ गुणा र हाल ९ महिनामा ०.७ गुणा पुगेको छ । शुद्ध कार्यशील पूँजी र सञ्चालन आम्दानीको अनुपात (एनडब्ल्यूसी/सञ्चालन आम्दानी) पनि उल्लेखनीय छ । २०७६/७७ मा ११४ प्रतिशत रहेको यो सूचक २०७७/७८ र २०७८/७९ मा क्रमशः ७७ प्रतिशत र ७६ प्रतिशतमा झरेको छ । २०७९/८० मा १४२ प्रतिशत पुगे पनि पछिल्लो दुई अवधिमा ९० प्रतिशत र ७७ प्रतिशतमा सीमित रहँदा कम्पनीको कार्यशील पूँजी प्रयोग दक्षता प्रष्ट देखिएको छ ।

आइएमई मोटर्सले अशोक लेल्यान्डका सबै किसिमका व्यावसायिक सवारीसाधन (जस्तै बस, मध्यम क्षमताका व्यावसायिक सवारीसाधन, हल्का व्यावसायिक सवारीसाधन, मध्यम भारका सवारीसाधन, ट्रक र टिपर) वितरण गर्दै आएको छ । सुरुमा कम्पनीको नाम एलटी इन्टरप्राइजेज प्रालि रहेको थियो र यसले डिश होम (डिजिटल टेलिभिजन)को वितरण अधिकार राख्थ्यो । पछि सन् २०१५ देखि अशोक लेल्यान्डको वितरण सुरु गर्दै कम्पनीको नाम २०१७ मा परिवर्तन गरी आइएमई मोटर्स प्रालि राखिएको हो । कम्पनीलाई मुख्यतः नेपालका वित्तीय क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव बोकेको आइएमई समूहका प्रवद्र्धकहरूले अघि बढाएका छन् । कम्पनीका अध्यक्ष चन्द्र प्रसाद ढकाल हुन् ।

आइएमई मोटर्समा चन्द्रप्रसाद ढकालको ४७.५ प्रतिशत, आइएमई ग्रुप प्रालिको ३२.५ प्रतिशत र २० प्रतिशत सेयर स्वामित्व सन्दिप अग्रवालको छ । आइएमई मोटर्ससँग अशोक एलटी इन्जिनियरिङ सर्भिस प्रालि (अशोक लेल्याण्डको कमर्सियल भेहिकलको स्पेयर पाट्र्स र सर्भिसिङ गर्ने) र भेन्चर हायर पर्चेज प्रालिको स्वामित्व छ ।

इक्रा नेपालले आइएमई मोटर्स प्रालि को दीर्घकालीन ऋण सीमाको रेटिङ आईसीआरए एनपी एल बी माइनस (एलबी–माइनस) मा पुनः पुष्टि गरेको छ । यससँगै कम्पनीको अल्पकालीन ऋण सीमाको रेटिङ पनि आईसीआरए एनपी ए ४ (ए–फोर) मा यथावत राखिएको हो ।

कम्पनीको पछिल्लो दीर्घकालीन ऋण सीमा २ अर्ब १२ करोड ९० लाख रुपैयाँ र अल्पकालीन ऋण सीमा १ अर्ब १२ करोड १० लाख रुपैयाँ रहेको छ । यसअनुसार जम्मा ३ अर्ब २५ करोड रुपैयाँको ऋण सीमा रेटिङ गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*