जीवन बीमा कम्पनीहरूले कुन प्रदेशबाट कति गरे बीमाशुल्क संकलन?

काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले गत असार मसान्तसम्म विभिन्न बीमालेखहरूबाट कुुल १ खर्ब ८२ अर्ब २७ करोड रुपैयाँ कुल बीमाशल्क आर्जन गरेका छन्।
गत आर्थिक वर्षको शुरूदेखि अन्त्यसम्म जीवन बीमकहरूले सावधिक, अग्रिम भुक्तानी, रुपान्तरित सावधिक, बालबच्चा सम्बन्धी सावधिक, वैदेशिक म्यादी रोजगार म्यादी, आजीवन, एकल बीमाशुल्क, म्यादी, लघु र अन्य बीमालेखमा गरी उक्त राशीको रकम संकलन गरेका हुन्।
कम्पनीहरूले सधैंझै सर्वाधिक व्यवसाय बाग्मती प्रदेशमा नै गरेका छन्। यो प्रदेशमा मात्रै ८० अर्ब ३ करोड ४९ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ। देशकै राजधानी भएको र मानिसको समेत उच्च चाप भएका कारण बाग्मती प्रदेशमा सधैं नै उच्च मात्रामा बीमा व्यवसाय हुने गर्छ।
त्यसैगरी दोस्रोमा तेस्रोमा लुम्बिनी प्रदेशबाट २८ अर्ब ७१ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन भएको छ भने तेस्रोमा कोशी प्रदेशबाट २२ अर्ब ३२ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ। त्यसपछि गण्डकी प्रदेशबाट १८ अर्ब ४५ करोड ११ लाख रुपैयाँ र मधेश प्रदेशबाट १६ अर्ब ३१ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन भएको छ।

गत आवको अन्त्यसम्म कम्पनीहरूले सुदूरपश्चिम प्रदेशबाट ११ अर्ब १८ करोड ७५ लाख रुपैयाँको बीमा व्यवसाय गरेका छन् भने कर्णाली प्रदेशमा सबैभन्दा कम ५ अर्ब २४ करोड ७३ लाख रुपैयाँको बीमा व्यवसाय गरेका छन्।
भौगोलिक र पूर्वाधार विकासको हिसाबले कर्णाली प्रदेश पछाडी रहेका भए तापनि खास गरी अभिकर्ता र कम्पनीका कर्मचारीको मेहनतका कारण त्यति बीमाशुल्क संकलन गर्न सम्भव भएको हो।
जीवन बीमा कम्पनीहरूले १ करोड ५६ लाख ३० हजार ९९९ वटा बीमा पोलिसी जारी गरेर उक्त राशीको बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ।













