डरलाग्दो रूपमा चुलिँदै अनलाइन ठगी: वर्षदिनमा सर्वसाधारणको ८३ करोड गायब, नियामक बेखबर

काठमाडौँ । पछिल्लो समय अनलाइन मार्फत हुने ठगीको आँकडा निकै डरलाग्दो अवस्थामा आइपुगेको छ । प्रविधिको बढ्दो प्रयोग सँगसँगै सर्वसाधारण अनलाइन ठगीको दलदलमा फस्दै गएको देखिएको हो ।
वर्ष दिनको अवधिमा अनलाइन माध्यमबाट सर्वसाधारणको ८३ करोड रुपैयाँ ठगी भएको हो । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा सर्वसाधारणको ८३ करोड ५९ लाख ९० हजार १३३ रुपैयाँ अनलाइन ठगीमार्फत गायब भएको हो ।
अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा यो ठगी रकम २.४० गुणाले वृद्धि भएको देखिन्छ । अघिल्लो वर्षभरिमा अनलाइनबाट ३४ करोड ७२ लाख १५ हजार ५११ रुपैयाँ ठगी भएको थियो । यो तथ्याङ्कले अनलाइन आपराधिक क्रियाकलापहरू तीव्र गतिमा बढ्दै गएको देखिएको छ ।
यस्तै, गत आर्थिक वर्षमा अनलाइन ठगी सम्बन्धी ६७५ वटा मुद्दा दर्ता भएका छन्, जुन डिजिटल युगमा प्रविधिको दुरुपयोगको स्पष्ट प्रमाण हो । यस अवधिमा प्रहरीले १८७ स्वदेशी (१७४ पुरुष र १३ महिला) र ३३ विदेशी नागरिकलाई (२० पुरुष र १३ महिला) नियन्त्रणमा लिएर अनलाइन ठगीका घटनाहरूमा सक्रिय रूपमा अनुसन्धान गरिरहेको छ ।
डिजिटल प्रविधिले जीवनलाई सहज र द्रुत बनाएको भए पनि ठगी गर्नेहरूले पनि यिनै प्रविधिलाई आफ्नो शोषणका लागि प्रयोग गरिरहेका छन् । यसले नागरिकमा अनलाइन सेवा र माध्यमप्रति रहेको विश्वासमा ठुलो चुनौती खडा गरेको छ । अनलाइन ठगीका कारण आर्थिक र मानसिक दुवै प्रकारका क्षति बढ्दै छ ।
अनलाइन बैङ्किङबाट हुँदै लुटधन्दा, वालेटमा समेत खतरा
अनलाइन मार्फत हुने ठगी सबैभन्दा बढी अनलाइन बैङ्किङबाट हुने गरेको पाइएको छ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा अनलाइन बैैकिङबाट सर्वसाधारणको ११ करोड ५४ लाख ४८ हजार रुपैयाँ ठगी भएको छ । अनलाइन बैङ्किङ ठगीमा ९२ मुद्दा दर्ता भएका छन्, जहाँ ४१ पुरुष र ८ महिला स्वदेशी र १२ पुरुष तथा ३ महिला विदेशी नागरिक पक्राउ परेका छन् ।
ठगीका सबैजसो घटनाहरूमा सबैभन्दा बढी सामाजिक सञ्जालमा केन्द्रित रहेकाले १५९ वटा मुद्दा दर्ता भएका छन् जसमा ४९ पुरुष र ४ महिला स्वदेशी र १ पुरुष र १ महिला विदेशी नागरिक पक्राउ परेका छन् । सामाजिक सञ्जाल ठगीमा ६ करोड १६ लाखभन्दा बढी रकम ठगी भएको अनुमान प्रहरी सामु रहेको छ ।
अनलाइन किनमेल (सपिङ) ठगी का १३७ मुद्दामा ३३ पुरुष र १ महिला स्वदेशी पक्राउ परेका छन्, ठगी रकम लगभग १ करोड ११ लाख ६१ हजार रुपैयाँ रहेको छ ।
वालेटका माध्यमबाट गरिएका ठगीका ७४ मुद्दामा १३ पुरुष स्वदेशी र १ महिला विदेशी पक्राउ परेका छन् । यस किसिमको ठगीमा करिब ९९ लाख ६० हजार रुपैयाँको हानि भएको छ ।
लटरी ठगीका ४८ मुद्दा दर्ता भएका छन्, जहाँ २ पुरुष स्वदेशी पक्राउ परेका छन् । लटरीका नाममा ठगी गर्दा सर्वसाधारणको १ करोड ७१ लाख १३ हजार रुपैयाँ गायब भएको छ ।
पहिचान चोरी (आइडेन्टिटी थेफ्ट फ्रड) मा ६ मुद्दा दर्ता भएका छन् । जस मार्फत ४ लाख ३ हजार रुपैयाँको ठगी भएको छ । यता, स्प्याम सम्बन्धी २ मुद्दा दर्ता भएका छन् । स्प्यामबाट ३ लाख रुपैयाँ क्षति भएको देखिन्छ । स्क्याम सम्बन्धी १६ मुद्दामा ९ पुरुष स्वदेशी पक्राउ परेका छन् । ८४ लाख ३८ हजार रुपैयाँभन्दा बढी रकम ठगी भएको छ ।
फिसिङ सम्बन्धी ९ मुद्दा दर्ता भए पनि पक्राउ भने कोही हुन सकेका छैनन् । यसबाट १४ लाख १५ हजार रुपैयाँ ठगी भएको देखिएको छ ।

अन्य प्रकारका ठगीहरूमा १३२ मुद्दा दर्ता भएका छन्, जहाँ २३ पुरुष र ७ महिला स्वदेशी तथा ७ पुरुष र ७ महिला विदेशी पक्राउ परेका छन्। यस किसिमको ठगीमा सबैभन्दा ठुलो रकम करिब ६१ करोड १ लाख ३१ हजार रुपैयाँ भन्दा बढी रहेको छ ।
राष्ट्र बैंक निद्रामा, ब्युरोमा उजुरीका चाङ
राष्ट्र बैंकले अनलाइन ठगी नियन्त्रण र डिजिटल वित्तीय सुरक्षा सुनिश्चित गर्ने संस्थागत अभिभावकको रूपमा काम गर्नुपर्ने हो । तर, विगतका घटनाले राष्ट्र बैंकले यो महत्त्वपूर्ण भूमिका प्रभावकारी रूपमा निभाउन सकेको छैन । सर्वसाधारणको करोडौँ रुपैयाँ अनलाइन ठगीमा हराउँदा पनि आवश्यक कडा नियमन र निगरानीको अभावले गर्दा राष्ट्र बैंकको काम कर्तव्य माथि नै प्रश्न उठ्न थालेको छ ।
डिजिटल वित्तीय प्रणालीमा बढ्दो निर्भरता र प्रविधिको तीव्र विकाससँगै अनलाइन ठगीका प्रकारहरू पनि जटिल र बहुआयामी बनेका छन् जसले गर्दा नियमन र सुरक्षा प्रणालीमा उच्च स्तरको सजगता र समन्वय आवश्यक छ । राष्ट्र बैंकले भने यी चुनौतीहरूलाई प्रभावकारी रूपमा सम्बोधन नगरेर नागरिकको आर्थिक हित र सुरक्षाप्रति उदासीनता देखाएको छ । यस्ता ठगीले केवल आर्थिक हानी मात्र नभई सामाजिक विश्वास र स्थिरतामा समेत दीर्घकालीन नकारात्मक प्रभाव पार्ने जोखिम बोकेको छ ।
यता, राष्ट्र बैंकका प्रवक्ता किरण पण्डित भने अनलाइन ठगी कारोबारमा रोक्न राष्ट्र बैंक सक्रिय रूपमा लागि परेको बताउँछन् । उनले भने, ‘यदि कुनै व्यक्तिले अर्को व्यक्तिलाई पैसा पठाएको भए पनि बिल शेयरमा फरक देखाइएमा त्यसमा तुरुन्तै केही गर्न नसकिने अवस्था हुन्छ । तर, वालेट सेवाको प्रयोग गरेर नेपालमा अवैध मानिएको बाटोबाट व्यावसायिक कारोबार भएमा राष्ट्र बैंक तुरुन्तै कडा कारबाही गरिरहेको छ । साथै, दुई व्यक्तिबिच पटक–पटक कारोबार हुँदा राष्ट्र बैंकले उक्त खातामा शङ्का गरी खाता फ्रिज गर्ने र सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण माग गर्ने प्रक्रिया अपनाउने गरेको छ । अनलाइन ठगी रोक्न हामीले प्रयास गरी रहेका छौँ ।’
राष्ट्र बैंकले अनलाइन ठगी रोक्न सर्वसाधारणमा गएर जनचेतनादेखि प्रचार–प्रसारण समेत गरिरहेको पण्डितको भनाइ रहेको छ ।
साइबर अपराध नियन्त्रणमा खटिएको नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्युरोका अनुसार ठगीमा संलग्न समूहहरू उच्चस्तरीय प्रविधि र मनोवैज्ञानिक दबाब दुवै प्रयोग गरेर सर्वसाधारणबाट रकम लुटी रहेको बताउँछन् । प्रहरी उपरीक्षक दीपक राज अवस्थीले बल्क एसएमएस सेवा प्रदायक कम्पनीहरूको प्रयोगकर्तालाई भय पैदा गर्ने खालका सन्देश पठाउने गरेको बताए ।
‘तपाईँको खाता ६ घण्टामा बन्द हुनेछ, तुरुन्तै प्रमाणित गर्नुहोस्’ वा ‘तपाईँको खाता निलम्बन गरिएको छ, पहुँच पुनः प्राप्त गर्न आत्म–प्रमाण प्रक्रिया पूरा गर्नुहोस्’ भन्ने चेतावनीपूर्ण सन्देशहरू पठाएर अनलाइन ठगी बढी भइरहेको अवस्थीले बताए । ‘यस्ता एसएमएसमा दिइएका लिङ्कमा क्लिक गर्ने बित्तिकै प्रयोगकर्ता नक्कली वेब पृष्ठमा पुग्छन् । ती पृष्ठहरू वास्तविक खल्ती वा कनेक्ट आइपिएसको डिजाइन र लोगो जस्तै देखिने गरी तयार पारिएका हुन्छन् । प्रयोगकर्ताले त्यहाँ आफ्नो प्रयोगकर्ता नाम, पासवर्ड, ओटीपीजस्ता संवेदनशील विवरण भरेपछि ती जानकारी आपराधिक समूहको नियन्त्रणमा पुग्छ । त्यसपछि उनीहरूले सो विवरण प्रयोग गरी बैंक खाता र डिजिटल वालेटमा रहेका रकम तुरुन्तै अन्यत्र सारेर लुट्ने गरेका छन्’ अवस्थीले भने ।
अनलाइन ठगी तथा अवैध कारोबारमा केही वालेटहरूको संलग्नता रहेको हुन सक्ने साइबर ब्युरोका एक अधिकृतले बताए । उनले भने, ‘साइबर ब्युरोमा अनलाइन ठगीका उजुरीका चाङ लागिसकेको छ । तर, सम्बन्धित कम्पनीले कुनै पनि प्रतिवेदन पेस गर्दैनन्, स्पष्टीकरण दिन चासो देखाउँदैनन् । यसले गर्दा ठगलाई कानुनी दायरामा ल्याउन निकै कठिन भइरहेको छ ।’
सरकारले डिजिटल नेपाल बनाउने नारा दिँदै गर्दा यस्ता डिजिटल सेवा प्रदायकको गैरजिम्मेवारीपूर्ण कार्यशैलीले सम्पूर्ण प्रणालीमाथि अविश्वासको वातावरण बनाइरहेको छ । आम नागरिक डिजिटल वालेट प्रयोग गर्ने होइन त्यसबाट डराउने अवस्थामा पुगेका छन् ।













