जीवन बीमा कम्पनीद्वारा असार महिनामै नौ अर्बको प्रथम बीमा शुल्क आर्जन, एशियन–आइएमई र नेपाल लाइफको सर्वाधिक ग्रोथ

२७ श्रावण २०८२, मंगलवार १६:०३

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको अन्तिम अर्थात असार महिनामा आठ अर्ब ९१ करोड ८५ लाख रुपैयाँको नयाँ व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुुसार असार महिनामा १४ जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार बीमासहित उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

कम्पनीहरुको नयाँ व्यवसाय अघिल्लो आर्थिक वर्षको असार महिनाको तुलनामा ३१ दशमलव ५१ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आवको सोही अवधिमा ६ अर्ब ७८ करोड १४ लाख रुपैयाँको बीमा व्यवसाय गरेका थिए । विवरण अनुसार असार महिनामा पनि नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । यता, अघिल्लो आवको तुलनामा एशियन लाइफ, आइएमई लाइफ र नेपाल लाइफ आक्रामक देखिएका छन् ।

समीक्षा अवधिमा १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीम कम्पनी र सन नेपाल लाइफको नयाँ व्यवसाय घट्न पुगेको छ । यता, सन नेपाल लाइफले वैदेशिक रोजगार बीमा कारोबार बहिस्कार गरेका कारण प्रथम बीमा शुल्क आर्जन सामान्य अंकले घट्न पुगेको हो ।

एशियन लाइफ इन्स्योरेन्स नयाँ व्यवसाय भित्र्याउनमा आक्रामक देखिएको छ । कम्पनीले गत आवको असार महिनामा मात्रै आफ्नो प्रथम बीमा शुल्क आर्जन ७६.१९ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।दोस्रो नम्बरमा रहेको आइएमई लाइफ इन्स्योरेन्स पनि नयाँ व्यवसाय भित्र्याउन आक्रामक रुपमा अघि बढिरहेको छ । कम्पनीले अघिल्लो आवको तुलनामा आफ्नो नयाँ व्यवसाय ५५.४३ प्रतिशतले बढाउन सफल भएको छ ।

वर्षदिनमै १० अर्ब नयाँ व्यवसाय आर्जन गरेको नेपाल लाइफ इन्स्योरेन्सले असार महिनामा ४७.२३ प्रतिशतले प्रथम बीमा शुल्क आर्जन बढाएको छ । त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स अघिल्लो आवको तुलनामा ४३.२६ प्रतिशतले बृद्धि गरी प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

स्रोतः नेपाल बीमा प्राधिकरण

रिलायबल नेपाल लाइफको प्रथम बीमा शुल्क आर्जन ४०.५० प्रतिशत, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३७.९६ प्रतिशत, सिटिजन लाइफ इन्स्योरेन्सको ३५.४२ प्रतिशत, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ३३.२९ प्रतिशतले प्रथम बीमा शुल्क आर्जन बृद्धि भएको छ ।

विवरण अनुसार गत आवको असार महिनामा मेट लाइफको ३०.६० प्रतिशत, नेशनल लाइफ इन्स्योरेन्सको २९.४१ प्रतिशत, हिमालयन लाइफ इन्स्योरेन्सको २०.३१ प्रतिशत र एलआइसी नेपालको १७.३४ प्रतिशतले नयाँ व्यवसाय बृद्धि भएको छ ।

समीक्षा अवधिमा सरकारी कम्पनी राष्ट्रिय जीवन बीमाको प्रथम बीमा शुल्क आर्जन ४०.४० प्रतिशत र सन नेपाल लाइफ इन्स्योरेन्सको ८९.७४ प्रतिशतले गत आवको असार महिनामा घट्न पुगेको छ ।

समग्र रुपमा हेर्दा असार महिना बीमा कम्पनी र अभिकर्ताहरुको लागि निकै महत्वपूर्ण रहेको छ । अभिकर्ताहरुलाई कम्पनीहरुले दिएका विभिन्न टार्गेटहरु पुरा गर्न पनि ऐजेन्सीहरुले निकै मिहिनेत गर्ने गर्दछन् । त्यसैले असार महिनामा अन्य महिनाको तुलनामा सर्वाधिक व्यवसाय हुने गर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*