हिमालयन लाइफको लोभलाग्दो प्रगतिः जीवन बीमा कोषमा ७६ अर्ब सञ्चिति, बीमाशुल्क सहित अधिकांश सूचकमा चमक

३० श्रावण २०८२, शुक्रबार ०७:५७

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमाससम्म ५४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यद्यपि कम्पनीले अघिल्लो आवको चौथो त्रैमाससम्म कमाएको खुद नाफा ६३ करोड ३८ लाख रुपैयाँको तुलनामा भने गत आवको खुद नाफा १३.७१ प्रतिशत कम हो।

नाफा घटेपनि कम्पनीको व्यवसायमा भने वृद्धि देखिएको छ। अघिल्लो वर्ष १६ अर्ब १९ करोड रुपैयाँ खुद बीमाशुल्क कमाएको कम्पनीले गत वर्ष ६.६० प्रतिशतको वृद्धि गर्दै १७ अर्ब २६ करोड रुपैयाँ खुद बीमाशुल्क कमाएको छ।

अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोष ६४ अर्ब ३९ करोड रुपैयाँ रहकोमा गत वर्ष १९.४८ प्रतिशतको वृद्धि सहित ७६ अर्ब ९४ करोड रुपैयाँको बीमाकोष खडा गर्न सफल भएको छ।

अघिल्लो वर्ष करीब ६ अर्ब रुपैयाँको कुल दाबी भुक्तानी दिएको यस कम्पनीले गत वर्ष २२.४३ प्रतिशतको वृद्धि सहित ७ अर्ब ३३ करोड रुपैयाँको दाबी भुक्तानी बीमितलाई दिएको छ।

यस कम्पनीको कुल आम्दानी २२ अर्ब ६८ करोड रुपैयाँबाट १२ प्रतिशतले बढेर २५ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ भने त्योसँगै कुल खर्च पनि २२ अर्ब ४ करोड रुपैयाँबाट ८.१२ प्रतिशतले बढेर २३ अर्ब ८३ करोड रुपैयाँ पुगको छ।

कम्पनीले अभिकर्तालाई दिने कमिशन पनि १ अर्ब ३८ करोड रुपैयाँबाट ५.५९ प्रतिशतले बढाएर १ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ। यता कम्पनीको प्रतिशेयर आम्दानी ७.९० रुपैयाँबाट सामान्य घटेर ५.९८ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ १११.२० रुपैयाँ कायम भएको छ।

चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँबाट १४ प्रतिशतले बढेर ९ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। कम्पनीको महाविपत्ति कोषमा ४६ करोड ५९ लाख रुपैयाँ र जगेडा कोषमा ७० करोड २९ लाख रुपैयाँ रहको छ।

कम्पनीले हाल पर्याप्त मानव संशाधनको अभाव, दीर्घकालीन लगानी अवसरको कमी र बजारमा बढ्दो प्रतिस्पर्धा जस्ता चुनौतीको सामना गरिरहेको बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*