प्रभु इन्स्योरेन्सको वित्तीय विवरणमा चमकः नाफासँगै ईपीएस बढ्यो, बीमाकोष २ अर्ब ७० करोडमाथि

३० श्रावण २०८२, शुक्रबार ०९:१३

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष (आव)को वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त वित्तीय विवरणमा कम्पनीको अधिकांश सूचांकहरूमा उल्लेख्य प्रगति गरेको देखिएको छ।

अघिल्लो आवको असार मसान्तसम्म १५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आवको असार मसान्तसम्म ३९.२४ प्रतिशतको वृद्धि सहित २१ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

कम्पनीको व्यवसायमा पनि उल्लेख्य वृद्धि भएको वित्तीय विवरणले देखाएको छ। अघिल्लो आवमा कम्पनीले ५७ करोड ३२ लाख रुपैयाँ खुद बीमाशुल्क कमाएकोमा गत आवमा १०.७६ प्रतिशत वृद्धि गर्दै साढे ६३ करोड रुपैयाँ खुद बीमाशुल्क कमाउन सफल भएको छ।

यता कम्पनीको बीमा कोषको आकार पनि गत वर्ष २ अर्ब २ करोड रुपैयाँ मात्रै रहेकोमा गत वर्ष ३३.८६ प्रतिशतको उल्लेख्य वृद्धि सहित २ अर्ब ७० करोड रुपैयाँको बीमा कोष खडा गरेको छ।

त्यसैगरी कम्पनीले आफ्ना बीमितलाई दिने दाबी भुक्तानीमा पनि २२.५३ प्रतिशतको वृद्धि सहित गत वर्ष ५१ करोड ६३ लाख रुपैयाँको कुल दाबी भुक्तानी गरेको छ जुन अघिल्लो वर्ष ४२ करोड १३ लाख रुपैयाँको दाबी भुक्तानी गरेको थियो।

कम्पनीको कुल आम्दानी ८७ करोड ९७ लाख रुपैयाँबाट बढेर ९६ करोड २१ लाख रुपैयाँ पुगेसँगै कुल खर्च पनि ६४ करोड २१ लाख रुपैयाँबाट बढेर ६५ करोड ९३ लाख रुपैयाँ पुगेको छ। यद्यपि अभिकर्तालाई दिएको कमिशनको रकम भने ६ करोड ३० लाख रुपैयाँबाट घटेर ३ करोड ८२ लाख रुपैयाँमा झरेको छ।

नाफा र आम्दानी बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी १०.५६ रुपैयाँबाट बढेर १४.७० रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ कायम भएको छ।

चुक्ता पूँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा १० करोड २६ लाख रुपैयाँ र जगेडा कोषमा ४४ करोड ४३ लाख रुपैयाँ र स्पेशल रिजर्भमा १ अर्ब २३ करोड रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*